२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

पुर्बेली भाका जोगाउँदै

अर्जुन राजवंशी

दमक — पैसा कमाउनु छैन । सम्मान, पुरस्कारका लागि कसैलाई चाप्लुसी गर्नु पनि छैन । लोक गीत–संगीतका लागि निरन्तर लागिरहनु छ ५९ वर्षीय लक्ष्मीप्रसाद खनाललाई । 

पुर्बेली भाका जोगाउँदै

उमेरले ‘वृद्ध’ बनाइसक्यो तर गीत संगीतले अझै तन्नेरी बनाइराखेको छ उनलाई । झापाली भएर होला, उनलाई ‘पुर्बेली’ भाका असाध्य मन पर्छ । समय परिवर्तनशील छ ।


गीत संगीतमा नयाँ पुस्ताको रुचि पनि फरक हुँदै गएको छ । सरल र सुरिलो पुर्बेली लोकभाकातर्फ नयाँ पुस्ता लाग्नुपर्ने जति सक्रिय नभएको उनको ठम्याइ छ । पुर्बेली भाकाको संरक्षण तथा नयाँ पुस्तामाझ पुस्तुत गर्न खनालले ‘पुर्बेली स्वाद’ भाग १ देखि ४ सम्म एल्बम निकालेका छन् ।


उनले ०६९ मंसिरमा पहिलो एल्बम ‘पुर्बेली स्वाद’ भाग १ सार्वजनिक गरेका थिए । ६ वटा गीत समावेश उक्त एल्बमका सबै गीतको लेखन, संकलन र स्वर खनाल आफैंले गरेका थिए । उनलाई जुना प्रसाईं र अमृता बिकले स्वरमा साथ दिएका थिए । २०७० मा खनालले दोस्रो एल्बम ‘पुर्बेली स्वाद’ भाग २ आफ्ना दर्शक श्रोतामाझ ल्याएका थिए । उक्त एल्बममा ५ वटा लोकगीत समावेश छन् ।

२०७३ मंसिरमा भाग ३ र २०७६ जेठमा भाग ४ विमोचन गरेका छन् । एल्बममा समावेश सबै गीतको लेखन, संकलन र स्वर खनाल आफ्नै रहेको छ । गायक खनालले ३ सयभन्दा बढी गीतमा स्वर दिएका छन् । २०३० सालदेखि निरन्तर लोक गीत संगीतमा क्रियाशील छन् । गायिक जुना प्रसाईं र गीतादेवीसँग १० बढी गीतमा स्वर भरेका छन् ।


पाँचथरको सिबुवा पञ्चमीमा खेती किसानीकै क्रममा लोक गीत संगीतले उनलाई लट्ठ बनाइसकेको थियो । पहिलो पटक २०४२ सालमा उनले धनकुटामा उच्च शिक्षा अध्ययन क्रममा ‘सम्झना त राख है छोडिगए पनि...’ बोलको गीत सार्वजनिक कार्यक्रममा गाएका थिए ।


त्यसपछि घरगाउँका साना–ठूला स्टेजहरूले उनलाई गायकको परिचय दियो । झापा, मोरङ, इलाम, धनकुटालगायत पूर्वका विभिन्न स्थानमा हुने लोक सांगीतिक कार्यक्रमहरूमा निमन्त्रणा होस् या नहोस् तर उनको उपस्थिति भएकै हुन्छ । दमकमा नियमित हुने साहित्यिक कार्यक्रममा उनले मीठो पुर्बेली भाका पस्किने गर्छन् । उनको पूर्वी लोकभाकाको अहिले प्रचलित गीत हो–

‘रुमाल चिनो छ,

बुट्टे रुमाल चिनो छ

यही रुमाल कान्छीलाई

हातमा दिनु छ...’


गायक लक्ष्मी गीतसंगीतको फुर्सतबाहेक अचेल ‘हार्मोनियम’ मर्मतसम्भार गरेर दैनिकी बिताइरहेका छन् । दमक–५ स्थित घरमै हार्मोनियम मर्मत सेन्टर सञ्चालन गरेका खनाल चुनावी समयमा निकै सक्रिय हुन्छन् । उनलाई विभिन्न राजनीतिक पार्टीका चुनावी गीत गाउन भ्याइनभ्याइ हुन्छ ।


फुर्सदमा स्थानीय तहमा लोकल आयुर्वेद डक्टरका रूपमा पनि उनको ख्याति छ । विशेष गरी पिनास रोगका पीडितहरू

उनीकहाँ नाम टिपाएरै उपचारमा आउँछन् ।


‘मैले गीत संगीतमा लागेर पैसा त कमाइनँ तर सामाजिक प्रतिष्ठा र नाम कमाएको छु,’ खनाल भन्छन्, ‘लोक गीत संगीतमा लागेर प्राप्त गरेको यो नै मेरो ठूलो सम्पत्ति हो । यसैमा आफूलाई गर्व महसुस हुन्छ ।’


दुई छोरी र एक छोराका पिता खनाललाई सांगीतिक क्षेत्रमा लागिरहन श्रीमती डुकादेवीको ठूलो साथ र हौसला छ । ‘उमेर बूढो भए पनि गीत संगीतमा लागिरहन प्राध्यापक गोविन्दराज भट्टराई, गायक लक्ष्मी जोशीलगायत व्यक्तित्वले सधैं हौसला दिइरहनुहुन्छ,’ उनले भने ।

प्रकाशित : भाद्र २३, २०७६ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?