२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

काठमाडौंमा रेलका कुरा

सुशीला तामा‌ङ

काठमाडौँ — हास्य कलाकार मनोज गजुरेल आफ्नो हँसाउने साइट ‘गजुरियल डटकम’ मा काठमाडौंमा रेल आउने सन्दर्भमाथि बेलाबेला व्यंग्यवाण प्रहार गरिरहन्छन् । उनी भन्छन्, ‘काठमाडौंमा रेल आउँछ आउँदैन थाहा छैन, तर गजुरेलचाहिँ पक्कै आउँछ, आइरहन्छ ।’

काठमाडौंमा रेलका कुरा

नभन्दै शनिबार दिउँसो उनी गाईजात्रे प्रहसन रुचाउने दर्शकमाझ आए, नयाँ अवतारमा । उनको यसपटकको अवतार थियो, सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाको । प्रहसनको नामै थियो– ‘प्रभड्का नेपाल सरकार ।’


प्रहसन सुरु हुन अगाडि नै गजुरेलले फेसबुकमा मन्त्री बाँस्कोटाप्रति झँटारो हान्दै लेखेका थिए– ‘संविधान दिवसको बिदा घराँ बस्नी, तास खेल्नी, बियर पिम्नी, फेसबुकाँ झुन्डिनी, गर्लफ्रेन्ड समाउनी, ब्वाइफ्रेन्ड घुमाउनी भनेर दिएको होइन ।’ नाटकेडाँडीमाथि चम्मा राख्दै छड्के नजर पारेर प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा गजुरेलले गोकुलको लवजमा व्यंग्य हानिरहँदा दर्शकहरू पेट मिचिमिची हाँसे ।


उनले मिडिया र पत्रकारमाथि मन्त्री बाँस्कोटा प्रस्तुत हुने शैलीलाई देखाउँदै बाँस्कोटाकै रूपमा अस्वस्थ प्रतिस्पर्धामा उत्रिरहेको अनलाइन पत्रकारिता, यट्युबरलाई पनि व्यंग्य प्रहार गरे । यसपछि गजुरेलले प्रदेश सरकार, बालुवाटारको जग्गा प्रकरणमा मुछिएका नेकपा महासचिव विष्णु पौडेलदेखि विषरहित तरकारी, मंगल ग्रहमा बस्ती बसाल्ने प्रसंगजस्ता सामग्रीमार्फत् नेपाली राजनीतिको समसामयिक घटनामाथि कटाक्ष गरे ।


अर्का हास्य कलाकार यमन श्रेष्ठले पनि काठमाडौंमा रेल आउने प्रसंगमाथि व्यंग्य गरे । उनले गीतमार्फत् रेल सन्दर्भ निकालेका हुन् । यसबाहेक उनले बढ्दो भ्रष्टाचार, काठमाडौंको अव्यवस्थित ढलजस्ता विषयवस्तुलाई पनि उठाए ।


उनीलगायत थुप्रै कलाकारले हास्यव्यंग्यमार्फत् राजनीतिक पार्टीका नेता, कार्यकर्तादेखि राज्यका उच्च तहमा रहेका कर्मचारी, सामाजिक सञ्जालमा जेलिएका अहिलेका पुस्ता, अस्तव्यस्त बन्दै गइरहेको सामाजिक संरचना, आफ्नो परिवारलाई बेवास्था गर्दै बाहिर अनैतिक सम्बन्ध बनाउँदै हिँड्ने महिला–पुरुष, ससाना घूस र भ्रष्टचारीलाई मात्र देख्ने अख्तियार, साना अपराधीलाई समातेर ठूला अपराधीलाई उम्काउने अदालत, अस्पतालको काम छोडी क्लिनिकतिर धाउने डाक्टरसम्मलाई व्यंग्यको मसला बनाए । दुई घण्टाभन्दा बढी समयसम्म चलेको हास्यव्यंग्य प्रस्तुतिमा मनोज गजुरेल, शैलेन्द्र सिम्खडा, सुरेन्द्र केसी (मुलासाग), रवि डंगोल (बेइमान), यमन श्रेष्ठ, पूर्ण थापा, शिवशंकर रिजाल (जोगिन्दर पानवाला), सुबोध गौतम, सन्ध्या बूढा (काउलीबूढी), सुमन कार्की, रुविना अधिकारीलगायत कलाकारहरूले प्यारोडी गीत, क्यारिकेचर, व्यंग्य कविता, नृत्यमार्फत् दर्शकलाई बाँधिराख्ने कोसिस गरे ।


यमनले अहिले पारिवारिक जमघट र सम्बन्धभन्दा मोबाइल लिएर फेसबुकमात्रै झुन्डिने युवा वर्गलाई लक्षित गर्दै ‘मोबाइल भए पुग्छ, अरू केही पनि चाहिँदैन...’ प्यारोडी दर्शकले रुचाए । त्यस्तै हास्य कलाकारहरू सुमन कार्की र सुबोध गौतमले पत्रकार ऋषि धमलाको बोलीचाली शैलीलाई दुरुस्तै क्यारिकेचर गर्दै ‘जनता हान्न चाहन्छन्’ शीर्षकको प्रहसन पस्के ।


गौतमले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, प्रधानमन्त्री केपी ओली, नयाँ शक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराई, पूर्वराजा ज्ञानेद्र शाह, हास्य कलाकार मदनकृष्ण श्रेष्ठलगायत व्यक्तित्वहरूको क्यारिकेचर पनि गरे । हास्य कलाकार गजुरेलले दिएको अर्को प्रस्तुति ‘झाँक्री प्रहसन’ पनि रोचक थियो । युट्युबबाट आफूलाई ज्योतिष शास्त्रका विद्वान् मान्ने व्यक्तिहरू, समाजमा भूतप्रेतमाथिको अन्धविश्वास परम्परालाई उनले हास्य रसमार्फत प्रस्तुत गरेका थिए ।


रवि र पूर्णको प्रहसन ‘गाई जात्रे अस्पताल’ ले भने नक्कली सर्टिफिकेटधारी डाक्टर, सरकारी अस्पतालको विसंगतिदेखि श्रीमान्– श्रीमतीबीचको सम्बन्धविच्छेदसम्मलाई व्यंग्य कटाक्ष गर्‍यो । हास्यकवि शैलेन्द्र सिम्खडाले ‘अचम्मको देश’, ‘अचम्मको सामाजिक परिवेश’, ‘अचम्मको यन्त्र’ जस्ता शीर्षकका हास्य कवितामार्फत् विकृत बन्दै गइरहेको राजनीतिक र सामाजिक अवस्थालाई प्रस्तुत गरे । उनले कवितामा संघीय सरकार, सरकारको कर प्रणाली, सुन काण्ड, राजनैतिक दल फुट्ने प्रक्रिया, नातागोतालाई मात्र अवसर दिने नेताहरूको प्रवृत्तिलाई व्यंग्य गर्दा दर्शकले ताली बजाएर साथ दिए ।


रोचक के भने, अघिल्ला वर्षहरूमा गाईजात्रे प्रहसन काठमाडौं केन्द्रित हुन्थ्यो । यस पटकको गाईजात्रे प्रहसन भने सातै प्रदेश पुगेर ढिलो गरी काठमाडौं छिर्‍यो । गत साउन ३२ गते सुरु भएको ‘प्रदेश–प्रदेशमा गाईजात्रा’ प्रहसन विराटनगरदेखि सुदूरपश्चिमको धनगढी हुँदै काठमाडौं आइपुगेको हो ।


‘शक्ति विकेन्द्रित भएर सिंहदरबार गाउँगाउँ पुगेको अवस्थामा कलाकारले गर्ने व्यंग्य प्रहारको पनि विकेन्द्रीकरण गरिएको आयोजक ब्रान्डवर्थ प्रालिका कार्यकारी निर्देशक मोहन गजुरेलले बताए । ‘शक्ति बाँडफाँटसँगै विकृति पनि प्रदेश–प्रदेश पुगेको छ,’ उनले भने, ‘त्यही भएर प्रदेशबाट थालेका हौं ।’

प्रकाशित : भाद्र २२, २०७६ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?