अनुष्कासँग लजाएका थिए कोहली

काठमाडौँ — दुई वर्षअघि बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेटर विराट कोहलीबीच धुमधामले विवाह भएको थियो । इटालीमा विवाहपछि दुवैले स्वदेश फर्किएर बलिउड र क्रिकेट सम्बद्धलाई छुट्टाछुट्टै पार्टी दिएका थिए । 

अनुष्कासँग लजाएका थिए कोहली

दुवैको विवाहलाई त्यस समय मिडियाले पनि ठूलै महत्त्व दियो । यति बेला दुवैको वैवाहिक जीवन सुखमय नै बितिरहेको छ । हालै मात्र, क्रिकेटर कोहलीले आफ्नो विवाहअघि अनुष्कासँगको भेटलाई स्मरण गर्दै एक अन्तरवार्ता दिएका छन् ।


कोहलीका अनुसार, अनुष्कासँग उनको पहिलो भेट एक स्याम्पुको विज्ञापन खेल्ने क्रममा भएको थियो । भारतीय क्रिकेट टिमका कप्तान कोहलीले स्याम्पुको विज्ञापनका लागि आफ्लूे अभिनेत्री शर्मासँग अभिनय गर्नुपर्ने थाहा पाएपछि नर्भस भएको बताएका छन् । भने, ‘जब अनुष्कासँगै मैले विज्ञापन खेल्नुपर्ने थाहा पाएँ । नर्भस भएँ । एउटा व्यावसायिक कलाकारसँग अभिनय गर्नुपर्ने अवस्थामा म अत्तालिएको थिएँ । मेरो म्यानेजरले स्क्रिप्ट राम्रो छ, केही हुँदैन । डराउनु पर्दैन, सबै ठीक हुन्छ भनेर ढाडस दिए ।’


जब सुटिङका लागि अनुष्का आइन्, विराटको पसिना छुट्ने कारण अर्को पनि बनिदियो । हाई हिलमा आएकी अनुष्का विराटभन्दा अग्ली देखिइन् । अझ उचाइकै कारण आफूलाई अप्ठ्यारो मानिरहेका कोहलीले आफूलाई सहज बनाउन एउटा जोक सुनाए । तर कोही हाँसिदिएन । यसले कोहलीलाई झनै फसाद परेको रहेछ । तर तिनै लजाइरहेका कोहलीलाई अनुष्काले भने भित्रभित्रै मनमा सजाइसकेकी रहिछन् । तीन दिनको विज्ञापन सुटिङ दौरान नै यी दुईबीच प्रेम बसेको थियो ।


पछि ४२ जना पाहुनालाई साक्षी राखेर विराटले अनुष्कालाई इटालीमा विवाह गरेका थिए । अलि लजालु स्वभावका विराट भीडभाड आफूलाई खासै मन नपर्ने बताउँछन् । विवाहपछिको हनिमुनका लागि पनि उनी दुवैलाई कसैले पनि नचिन्ने ठाउँमा जान चाहन्थे । ताकि उक्त ठाउँमा निर्बाध घुम्न, गफिन पाइयोस् । विराट स्वयंले रोजे– फिनल्यान्ड ।


जब फिनल्यान्ड पुगेर कफी खान दुवै एक रेस्टुरेन्टमा पसे, त्यहाँ पनि एक पन्जावी भेटिए । उक्त पन्जावीलाई छलेर भित्र गई दुवै बसेका मात्रै के थिए, ऊ आएर दुवैलाई भेटेर खुसी लाग्यो भन्दै गफ गर्न आए रे । गफकै क्रममा उसले आफू पनि कोहली नै भएको बताएर अझ साखिल्लो पल्टिएको विराटले अन्तरवार्ताका क्रममा खुलाए । भने, कसैले नचिन्ने ठाउँमा जाने हाम्रो इच्छा त्यहाँ पनि पूरा भएन । आखिर कहाँ जाँदा कसैले नचिन्ला ? फोटो नखिच्ला ?


एजेन्सी

प्रकाशित : भाद्र २२, २०७६ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?