कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

साथीको सम्बन्ध पहिलो

काठमाडौँ — गायन शैलीको कारण बेलायती गायक एड सिरनको ‘नेपाली भर्सन’ मानिन्छ सुशान्त केसीलाई । युट्युब भ्युअर्समाझ लोकप्रिय यिनको ‘मायामा...’, ‘आमा...’, ‘गुलाबी...’ जस्ता गीत निकै चर्चित छन् ।

साथीको सम्बन्ध पहिलो

गतवर्ष जनवरीमा युट्युबमा अपलोड गरिएको ‘मायामा...’ ले १ करोड २१ लाख भ्युअर्स पाइसकेको छ । स्लो–पप गायनको विशेषता बोकेका केसीको नयाँ गीत ‘साथी...’ यतिबेला युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा छ । चार दिनअघि मात्रै अपलोड गरिएको यो गीतले झन्डै नौ लाख भ्युअर्स, तीन हजार बढी कमेन्ट्स र ५३ हजार लाइक पाएको छ ।


धेरैले माया प्रेमका गीत गाउँछन् । ती प्रायः स्त्री र पुरुषबीचको प्रेममा आधारित हुन्छन् । केसीले भने गीतमा साथी–साथीबीचको सम्बन्धको वकालत गरेका छन् । बाल्यकालमा सँगै खेलेका, बदमासी गरेका, सँगै पढेका र सँगै घुमडुल गरेका साथीहरू समय क्रममा छुट्टिएपछिको मनोदशा गीतमा अभिव्यक्त गरिएको छ ।


आफ्नै शब्द, संगीत र स्वर रहेको यो गीतमाथि अविन भोले बनाएको म्युजिक भिडियो पनि उत्तिकै लयमा बगेको छ । शब्द र संगीत जति नोस्टाल्जिक छ, त्यसको मर्म बोक्ने गरी अविनले म्युजिक भिडियो बनाएका छन् । ‘मन त एउटै छ,’ जुंगे नामक भ्युअरले भनेका छन्, ‘तर, कतिचोटि जित्नुहुन्छ दाजु ।’ धेरैले कमेन्टमा गीतले भावविभोर बनाएको उल्लेख गर्दै गायक/संगीतकार केसीको तारिफ गरेका छन् । अनुज पोखरेलले गीतको पूरै शब्दहरू उतारेर कमेन्टमा हालेका छन्–


धेरै दिनबाट यहाँ शून्यता कालो बादल छाएको जस्तो

ए साथी, तिमी कहाँ छौ भन न, लामो दिनहरू काट्नै गाह्रो भो

सानोछँदा हामी खेल्ने गर्थ्यौं, त्यो गल्लीमा छिमेकी कराउँथे सारो

आज को कता छ, को कता छ तर मनले मेरो बाल्यकाल नै पुकार्‍यो

खोजिरहेको छु दिनहरू त्यतै, जवानीले जवानीले कहाँ पुर्‍यायो

बाटो छ बेग्लै तर भेट्ने छौं हामी, निराश हुनु पर्दैन भो....


यही गीतको ठीक मुनि सलिन ब्ल्याक पौड्यालले साथी, घरपरिवार, प्रेमिका र छिमेकीबीचको सम्बन्धमध्ये साथी कति माथि छन् भन्ने एउटा मार्मिक उदाहरण दिएका छन्– परीक्षामा जब फेल हुन्छ परिवारले भन्छ, ‘गदा केही काम लाग्दैन ।’, प्रेमिका भन्छिन्, ‘काम लाग्दैनौ अब तिमी ।’ छिमेकी भन्छ, ‘फेल भएछ अल्लारे ।’ साथी भन्छ, ‘ह्या केही हुँदैन, अर्कोपालि राम्रो गर्नु, हिँड पार्टी खान ।’


यसपछि उनले अन्तिममा टुंग्याएका छन्, ‘सपना त धेरै देखिन्छ तर त्यसलाई पूरा गर्ने हात अलिकति साथीको पनि हुँदो रहेछ ।’

यो कमेन्ट पढेपछि फेरि पनि गीत क्लिक गरेर हेर्न मन लाग्छ । हेर्दा हेर्दै आँखामा आँसु बगेको पत्तै हुँदैन । सलिनकै कमेन्टमुनि दुई दिनअघि सुजन पाख्रिनले लेखेको कमेन्टले पनि भावुक बनाउँछ । उनले ‘आई मिस्ड माई चाइल्डहुड फ्रेन्ड चक्रे’ भन्दै नौ वर्ष यता भेट नभएको खुलाएका छन् ।


दिवंगत र्‍यापर यमबुद्धले पनि साथीसम्बन्धी गीत गाएका थिए । सानोमा खेल्दा खेल्दै, जिस्किँदा जिस्किँदै कुलतमा फसेको मार्मिक कथा बुनेको यमबुद्धको गीतको भ्युअर्स युट्युबमा सवा करोड छन् । सुशान्तको ‘साथी...’ गीतलाई पनि स्मृति खड्का नामक एक भ्युअर्सले यामबुद्धसँग तुलना गर्दै प्रशंसा गरेकी छन् । यो कमेन्टमा स्मृतिले सुशान्तको अर्को गीत ‘आमा...’ लाई पनि यमबुद्धको सोही बोलको गीतसँग तुलना गरेकी छन् ।


बिहीबार ट्रेन्डिङको दोस्रो नम्बरमा भने तेलगु फिल्मको हिन्दु स्वरांकन गरिएको ‘कृष्णमुर्थि’ छ । लामो समय दक्षिण भारतीय फिल्म नै टेन्ड्रिङको पहिलो नम्बरमा रहने परिस्थितिलाई पछिल्लोपटक सुशान्तको ‘साथी...’ले चिरेको हो । तेस्रो नम्बरमा पनि नेपाली सामग्री नै ट्रेन्डिङमा छ । सचिन लामिछानेले निर्देशन गरेको छोटो फिल्म ‘तीजको समय’ ले ६३ लाख पटक हेरिएको छ । १३ मिनेटको यो भिडियोले १२ हजार लाइक पाएको छ भने ४ सय ४४ वटा कमेन्ट आर्जन गरेको छ ।


एसएनएस इन्टरटेनमेन्टले पाँच दिनअघि अपलोड गरेको यो छोटो फिल्ममा नैतिकता, सदाचार, आडम्बर र देखासिखीलाई विषय बस्तु बनाइएको छ । दुई दाजुभाइमध्ये भाइ–बुहारी पैसाका लागि जे पनि गर्ने भएकाले कार, भव्य घर र मनग्ये सम्पत्तिसहित जीवन मोजमस्ती गरिरहेका छन् भने दाजुचाहिँ इमानदार भएकोले खेती किसानीमै व्यस्त, अनि काँठमा सानो घर ।


तीजको बेला दर खाने निम्तोको टिकट किन्ने १२ सय रुपैयाँ पनि नभएपछि दाइकी श्रीमतीले भाइकै बाटो हिँड्न आफ्नो बूढोलाई दबाब दिन्छिन् र तीजको दिन गहना किनिदिन आग्रह गर्छिन् । तर उनका पति भने इमानदारिता बेच्न तयार हुँदैनन् बरु लुकीछिपी किड्नी बेच्न पुग्छन् ।


इमानदारिता र भ्रष्टताबीच बहस गराउन खोजिएको भए पनि यो छोटो फिल्ममा महिलालाई भने परम्परागत नै देखाइएको छ, लोग्नेको कमाइमा भरपर्ने पात्रको रूपमा ।


निदेशक सचिनसँगै सम्राट पौडेल, आरती थापा मगर, रोजिना कार्की र संगम खनालले अभिनय गरेको यो छोटो फिल्मको छायांकन प्रवेश थापाले गरेका हुन् भने कथा लेखन सम्राट पौडेलको रहेको छ । फिल्ममा सकारात्मक कमेन्ट गर्दै भिल्ला पौडेलले भनेका छन्, ‘हाम्रो समाजमा आजकल कहीँकतै लुकेर बसेको सत्य मार्मिक रियल कथा ।’ त्यस्तै राई प्रमिलाले लेखेकी छन्, ‘सम्पत्तिमा सबैको हाई हाई विपत्तिमा कोही हुन्न दाइभाइ भनेको यही हो ।’ संगीता तामाङले कमेन्ट छाडेकी छन्, ‘तेत्रो धनी भाइबुहारी भएर नि भाउजूका लागि १२ सयको टिकट किनिदिन नसक्ने केको धनी....तितो यथार्थ ।’


ट्रेन्डिङको चौथो नम्बर पनि दक्षिण भारतीय फिल्मको हिन्दी स्वरांकन गरिएको ‘जखमी रोमियो’ ले ओगटेको छ । पाँचौंमा भने पुनः नेपाली सामग्री नै देखिन्छ । लोकदोहोरीसम्बन्धी टीभी सो ‘इन्द्रेणी’ को पछिल्लो शृंखला तीन दिनअघि मात्रै अपलोड गरिएको छ, ‘टीका सानुभन्दा बैनी हुँमा झन् कडा छत्र शाहीसँग प‍र्‍यो कडा टक्कर’ शीर्षकमा । लोक गायक छत्र र गायिका टीकाबीचको ख्यालठट्टा समेटिएको यो भिडियोले ३ दिनमा ६ लाख भ्युअर्स र २० हजार लाइक पाएको छ भने २ हजार ६ सय ६४ जनाले कमेन्ट छाडेका छन् ।


युट्युब ट्रेन्डिङ

१.गीत ‘साथी...’ सुशान्त केसी

२.‘कृष्णमुर्थि’ तेलगु फिल्मको हिन्दी भर्सन

३.‘तीजको समय’, छोटो फिल्म (सचिन लामिछाने)

४.‘जखमी रोमियो’ तेलगु फिल्मको हिन्दी भर्सन

५.‘इन्द्रेणी’ लोकदोहोरी टेलिभिजन कार्यक्रम

प्रकाशित : भाद्र २०, २०७६ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?