१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

मोफसलका “नृत्यगुरू”

अमृता अनमोल

बुटवल — गीत/संगीतको तालमा चाल मिलाएर नाच्न जति गाह्रो छ, त्यसको दोब्बर गाह्रो छ सिकाउन । बुटवलका लोकेन्द्र शाह भने २४ वर्षदेखि यसमै रमेका छन् । स्कुले बालबालिकालाई नाच्न सिकाउँदैमा उनलाई बेफुर्सद छ ।

मोफसलका “नृत्यगुरू”

फुर्सद मिल्यो कि म्युजिक भिडियोमा नृत्य निर्देशन गर्छन् । अहिलेसम्म १ सय ५० म्युजिक भिडियोमा लोकेन्द्रको नृत्य निर्देशन छ । एक सय बढी त तीज गीतमै नृत्य निर्देशन गरेका छन् । ‘सम्झना’ लगायत पाँचवटा फिल्ममा समेत उनले नृत्य निर्देशनको भूमिका निभाएका छन् ।


‘नाच्ने मेरो सोख हो,’ उनले भने, ‘यही सोख पूरा गर्दा नृत्य प्रशिक्षक बनें । त्यसपछि मात्रै नृत्य निर्देशनमा हात हालेको हुँं ।’ लोकन्द्र जागिरेको रूपमा नृत्य शिक्षक हुन् । यसबाहेक आफ्नै लगानीमा आस्था कला केन्द्र खोलेका छन् । त्यसमा भने सानादेखि ठूलाले नृत्य सिक्छन् । बुटवल र आसपासमा छायांकन र उत्पादन हुने अधिकांश म्युजिक भिडियोमा पनि नृत्य निर्देशनको रूपमा उनैले काम गर्छन् । लोक नृत्यमा पनि उनी राम्रो काम गर्छन् । लोकगीत आफैंले लेख्छन् । संगीत पनि आफैंले भर्छन् ।


आधुनिक र लोक–पपमा भने नृत्य निर्देशनको मात्रै काम गर्छन् । रूपन्देहीका धेरै कला केन्द्रमा भेटिने कलाकार लोकेन्द्रले उत्पादन गरेका हुन् । विद्यालयका नृत्य शिक्षक अधिकांश उनकै चेला छन् । ‘मैले नृत्य सिकाएका १५ जनाले राष्ट्रिय अवार्ड पाएका छन्,’ उनले भने, ‘आफ्नो शिक्षाबाट अघि बढेको देख्दा खुसी लाग्छ ।’


लोकेन्द्रले बुटवलमा २०५२ देखि नृत्य प्रशिक्षण थालेका हुन् । त्यसबेला विद्यालयमा संगीत शिक्षक राख्ने र नाच्न/गाउन सिकाउने सुरुवात उनैले गरेका थिए । ‘नृत्यमा रस बस्नुपर्छ । बसेपछि छुट्दैन,’ उनले भने । उनले स्थानीय लुम्बिनी टेलिभिजनमार्फत तीन वर्षता डान्स आइडलसमेत चलाउँदै आएका छन् । उनको आस्था कला केन्द्रले समेत डान्स आइडल गर्छ । ‘गाउनजस्तो सहज ठाउँ र समय नाच्न मिल्दैन,’ उनले भने, ‘यसैले नाच्नेका लागि प्लेट फर्म तयार गरिरहेको छु ।’


अर्खाखाँचीको डिभर्नाका लोकेन्द्रलाई सानैदेखि नाच्न, गाउन र मादल बजाउन मन पर्थ्यो । स्कुलका कार्यक्रममा गाउँथे र नाच्थे । भैली खेल्ने, नाटक देखाउने, कालिका र लाखेमा नाच्ने गर्थे । यसपछि पढ्ने सिलसिलामा काठमाडौं गए । तर, उनले पढाइ होइन, नृत्य सिके । त्यही सीप अहिले बुटवलमा पोखिरहेका छन् ।


माँझीले डुंगा खियाएर नदी वारपार गराएजस्तै उनले नाच्न सिकाएर धेरै बालबालिकालाई माथि पुर्‍याएका छन् । ‘धेरैले काठमाडौंमा बसे नाम र दाम कमाइन्छ भन्छन्,’ उनले भने, ‘तर मलाई आफैंले जग बसालेको बुटवलमा भ्याइनभ्याइ छ । जहिलेसम्म सक्छु, नाच्नै सिकाउँछु ।’


लोकेन्द्रलाई गत वर्ष वरिष्ठ वाद्यवादकका रूपमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले सम्मान गर्‍यो । जिल्ला स्तरमा भने झन्डै ५० संस्थाबाट सम्मानित भएका छन् । ‘दाम थोरै छ तर काम र सम्मान छ,’ उनले भने, ‘मनोरञ्जन मात्र होइन, स्वास्थ्यका लागि पनि नाच्नुपर्छ भन्ने मान्छे बढेका छन् । यसमै खुसी छु ।’

प्रकाशित : भाद्र २०, २०७६ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?