मोफसलका “नृत्यगुरू”

अमृता अनमोल

बुटवल — गीत/संगीतको तालमा चाल मिलाएर नाच्न जति गाह्रो छ, त्यसको दोब्बर गाह्रो छ सिकाउन । बुटवलका लोकेन्द्र शाह भने २४ वर्षदेखि यसमै रमेका छन् । स्कुले बालबालिकालाई नाच्न सिकाउँदैमा उनलाई बेफुर्सद छ ।

ZenTravel

फुर्सद मिल्यो कि म्युजिक भिडियोमा नृत्य निर्देशन गर्छन् । अहिलेसम्म १ सय ५० म्युजिक भिडियोमा लोकेन्द्रको नृत्य निर्देशन छ । एक सय बढी त तीज गीतमै नृत्य निर्देशन गरेका छन् । ‘सम्झना’ लगायत पाँचवटा फिल्ममा समेत उनले नृत्य निर्देशनको भूमिका निभाएका छन् ।

Meroghar

‘नाच्ने मेरो सोख हो,’ उनले भने, ‘यही सोख पूरा गर्दा नृत्य प्रशिक्षक बनें । त्यसपछि मात्रै नृत्य निर्देशनमा हात हालेको हुँं ।’ लोकन्द्र जागिरेको रूपमा नृत्य शिक्षक हुन् । यसबाहेक आफ्नै लगानीमा आस्था कला केन्द्र खोलेका छन् । त्यसमा भने सानादेखि ठूलाले नृत्य सिक्छन् । बुटवल र आसपासमा छायांकन र उत्पादन हुने अधिकांश म्युजिक भिडियोमा पनि नृत्य निर्देशनको रूपमा उनैले काम गर्छन् । लोक नृत्यमा पनि उनी राम्रो काम गर्छन् । लोकगीत आफैंले लेख्छन् । संगीत पनि आफैंले भर्छन् ।

आधुनिक र लोक–पपमा भने नृत्य निर्देशनको मात्रै काम गर्छन् । रूपन्देहीका धेरै कला केन्द्रमा भेटिने कलाकार लोकेन्द्रले उत्पादन गरेका हुन् । विद्यालयका नृत्य शिक्षक अधिकांश उनकै चेला छन् । ‘मैले नृत्य सिकाएका १५ जनाले राष्ट्रिय अवार्ड पाएका छन्,’ उनले भने, ‘आफ्नो शिक्षाबाट अघि बढेको देख्दा खुसी लाग्छ ।’

लोकेन्द्रले बुटवलमा २०५२ देखि नृत्य प्रशिक्षण थालेका हुन् । त्यसबेला विद्यालयमा संगीत शिक्षक राख्ने र नाच्न/गाउन सिकाउने सुरुवात उनैले गरेका थिए । ‘नृत्यमा रस बस्नुपर्छ । बसेपछि छुट्दैन,’ उनले भने । उनले स्थानीय लुम्बिनी टेलिभिजनमार्फत तीन वर्षता डान्स आइडलसमेत चलाउँदै आएका छन् । उनको आस्था कला केन्द्रले समेत डान्स आइडल गर्छ । ‘गाउनजस्तो सहज ठाउँ र समय नाच्न मिल्दैन,’ उनले भने, ‘यसैले नाच्नेका लागि प्लेट फर्म तयार गरिरहेको छु ।’

अर्खाखाँचीको डिभर्नाका लोकेन्द्रलाई सानैदेखि नाच्न, गाउन र मादल बजाउन मन पर्थ्यो । स्कुलका कार्यक्रममा गाउँथे र नाच्थे । भैली खेल्ने, नाटक देखाउने, कालिका र लाखेमा नाच्ने गर्थे । यसपछि पढ्ने सिलसिलामा काठमाडौं गए । तर, उनले पढाइ होइन, नृत्य सिके । त्यही सीप अहिले बुटवलमा पोखिरहेका छन् ।

माँझीले डुंगा खियाएर नदी वारपार गराएजस्तै उनले नाच्न सिकाएर धेरै बालबालिकालाई माथि पुर्‍याएका छन् । ‘धेरैले काठमाडौंमा बसे नाम र दाम कमाइन्छ भन्छन्,’ उनले भने, ‘तर मलाई आफैंले जग बसालेको बुटवलमा भ्याइनभ्याइ छ । जहिलेसम्म सक्छु, नाच्नै सिकाउँछु ।’

लोकेन्द्रलाई गत वर्ष वरिष्ठ वाद्यवादकका रूपमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले सम्मान गर्‍यो । जिल्ला स्तरमा भने झन्डै ५० संस्थाबाट सम्मानित भएका छन् । ‘दाम थोरै छ तर काम र सम्मान छ,’ उनले भने, ‘मनोरञ्जन मात्र होइन, स्वास्थ्यका लागि पनि नाच्नुपर्छ भन्ने मान्छे बढेका छन् । यसमै खुसी छु ।’

प्रकाशित : भाद्र २०, २०७६ ०८:३७
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

सिने पत्रकारिता सिक्न पोखरा

कान्तिपुर संवाददाता

पोखरा — फिल्मी नगरी पोखरामा देशभरका एक सय बढी फिल्म पत्रकारहरूको सहभागितामा तीन दिने चलचित्र पत्रकारिता कार्यशाला जारी छ । 

चलचित्र पत्रकार संघ नेपालले गरेको कार्यशालाको बुधबार उद्घाटन सत्रमा बोल्दै गण्डकी प्रदेशका पर्यटन मन्त्री विकास लम्सालले कार्यशालाले चलचित्र पत्रकारहरूको कार्यक्षमता अभिवृद्धिहुनेमा विश्वास व्यक्त गर्दै यो नेपालीफिल्म पत्रकारिता क्षेत्रमा कोसेढुंगा हुनसक्ने बताए ।

कार्यक्रममा पत्रकार महासंघ, पोखरा अध्यक्ष दीपेन्द्र श्रेष्ठले यस्ता कार्यशाला हुनु सकारात्मक रहेको टिप्पणी गर्दै भने, ‘हतियार त एउटा फौजीसँग पनि हुन्छ र आतंककारीसँग पनि । फरक यत्ति हो, उक्त हतियार कसले जिम्मेवार ढंगले चलाउँछ त्यहीअनुसार मूल्यांकन हुन्छ ।’

उनले अहिलेको प्रविधिको दुनियाँमा सर्वसाधारणको हात हातमा मिडिया भएको जिकिर गर्दै पत्रकारले विशिष्ट ढंगबाट आफूलाई जिम्मेवार बनाई पत्रकारिता गर्नुपर्नेमा जोड दिए । बिहीबार पत्रकार आचारसंहिताबारे प्रशिक्षण दिएका पूर्वप्रेस काउन्सिल अध्यक्ष राजेन्द्र दाहालले फिल्म भन्नेबित्तिकै धेरैको दिमागमा मनोरञ्जन मात्रै आउने गरेको दाबी गर्दै थपे, ‘तर यो त्योभन्दा धेरै हो । तर हामीले यस फिल्म क्षेत्रलाई मनोरञ्जनभन्दा माथि उठाउन सकेका छैनौं । त्यो जिम्मेवारी फिल्म बुझेका र कलम चलाइरहेका पत्रकार कै हो ।’

दाहालले आचारसंहिता पत्रकारिताको ट्राफिक नियमजस्तै भएको उदाहरण पेस गर्दै यसले सुचारु गतिमा पत्रकारितालाई अघि बढाउन सही आचरणमा राख्नेधारणा राख्दै भने, ‘कानुनले दण्डितपार्नुअघि नै पत्रकार आचारसंहिताले पेसाकर्मीलाई गलत बाटोमा नजानसजग गराउने र कमजोरीलाई तुरुन्तै सुधार्ने मौका दिलाउँछ ।’

उनले आचारसहिंता स्वेच्छिक भए पनि पत्रकारिता गर्नका लागि पालना गर्नैपर्नेमा जोड दिए । उनले फिल्म पत्रकारितामा चल्तीमा रहेको गसिप पनि समाचार नै रहेकाले यसलाई हल्का प्रस्तुति भनेर आचारसंहिताले छुट नदिने तर्क गरे । थपे, ‘पत्रकारिता वस्तुगत काम मात्रै नभई सृजनात्मक पनि हो । यसमा गसिप होस् वा कविता, गजल सबै पर्छन् । तिनलाई बाहिर झिकेर पत्रकारिता हुँदैन ।’

बिहीबार नै पत्रकार रजनीश भण्डारीले पनि सहभागीलाई मल्टिमिडिया पत्रकारिताका बारेमा प्रशिक्षण दिएका थिए । उनले अबको नयाँ अडियन्सलाई नयाँ तरिकाले समाचार कसरी पस्कन सकिन्छ भन्नेबारे आफ्ना अनुभव र सिकाइ साझेदार गरेका थिए । उनले अबको पत्रकारिता मुख्य गरी मल्टिमिडियामा केन्द्रित हुने तर्क गर्दै मोबाइल जर्नालिज्म पछिल्लो मिडिया भइरहेको बताए ।

शुक्रबारको अन्तिम दिनको सेसनमा समीक्षक अनुप सुवेदीले फिल्म समीक्षाबारेको बुझाइ, सिकाइ र लेखाइका बारेमा प्रशिक्षण दिने छन् भने पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रबन्धक सूर्य थपलियाले पर्यटन, फिल्म र फिल्म पत्रकारितासँग सम्बन्धित रही कार्यशाला सञ्चालन गर्ने छन् ।

पत्रकार नारायण अमृतले फिल्म पत्रकारिताको हिजोदेखि आजसम्मको अभ्यासका बारेमा आफ्ना अनुभव साझेदार गर्ने कार्यशाला आयोजक संस्थाका अध्यक्ष सन्दीप सापकोटाले जानकारी दिए ।

प्रकाशित : भाद्र २०, २०७६ ०८:३६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×