कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

सिने पत्रकारिता सिक्न पोखरा

पोखरा — फिल्मी नगरी पोखरामा देशभरका एक सय बढी फिल्म पत्रकारहरूको सहभागितामा तीन दिने चलचित्र पत्रकारिता कार्यशाला जारी छ । 

चलचित्र पत्रकार संघ नेपालले गरेको कार्यशालाको बुधबार उद्घाटन सत्रमा बोल्दै गण्डकी प्रदेशका पर्यटन मन्त्री विकास लम्सालले कार्यशालाले चलचित्र पत्रकारहरूको कार्यक्षमता अभिवृद्धि हुनेमा विश्वास व्यक्त गर्दै यो नेपाली फिल्म पत्रकारिता क्षेत्रमा कोसेढुंगा हुन सक्ने बताए ।


कार्यक्रममा पत्रकार महासंघ, पोखरा अध्यक्ष दीपेन्द्र श्रेष्ठले यस्ता कार्यशाला हुनु सकारात्मक रहेको टिप्पणी गर्दै भने, ‘हतियार त एउटा फौजीसँग पनि हुन्छ र आतंककारीसँग पनि । फरक यत्ति हो, उक्त हतियार कसले जिम्मेवार ढंगले चलाउँछ त्यहीअनुसार मूल्यांकन हुन्छ ।’


उनले अहिलेको प्रविधिको दुनियाँमा सर्वसाधारणको हात हातमा मिडिया भएको जिकिर गर्दै पत्रकारले विशिष्ट ढंगबाट आफूलाई जिम्मेवार बनाई पत्रकारिता गर्नुपर्नेमा जोड दिए । बिहीबार पत्रकार आचारसंहिताबारे प्रशिक्षण दिएका पूर्वप्रेस काउन्सिल अध्यक्ष राजेन्द्र दाहालले फिल्म भन्नेबित्तिकै धेरैको दिमागमा मनोरञ्जन मात्रै आउने गरेको दाबी गर्दै थपे, ‘तर यो त्योभन्दा धेरै हो । तर हामीले यस फिल्म क्षेत्रलाई मनोरञ्जनभन्दा माथि उठाउन सकेका छैनौं । त्यो जिम्मेवारी फिल्म बुझेका र कलम चलाइरहेका पत्रकार कै हो ।’


दाहालले आचारसंहिता पत्रकारिताको ट्राफिक नियमजस्तै भएको उदाहरण पेस गर्दै यसले सुचारु गतिमा पत्रकारितालाई अघि बढाउन सही आचरणमा राख्ने धारणा राख्दै भने, ‘कानुनले दण्डित पार्नुअघि नै पत्रकार आचारसंहिताले पेसाकर्मीलाई गलत बाटोमा नजान सजग गराउने र कमजोरीलाई तुरुन्तै सुधार्ने मौका दिलाउँछ ।’


उनले आचारसहिंता स्वेच्छिक भए पनि पत्रकारिता गर्नका लागि पालना गर्नैपर्नेमा जोड दिए । उनले फिल्म पत्रकारितामा चल्तीमा रहेको गसिप पनि समाचार नै रहेकाले यसलाई हल्का प्रस्तुति भनेर आचारसंहिताले छुट नदिने तर्क गरे । थपे, ‘पत्रकारिता वस्तुगत काम मात्रै नभई सृजनात्मक पनि हो । यसमा गसिप होस् वा कविता, गजल सबै पर्छन् । तिनलाई बाहिर झिकेर पत्रकारिता हुँदैन ।’


बिहीबार नै पत्रकार रजनीश भण्डारीले पनि सहभागीलाई मल्टिमिडिया पत्रकारिताका बारेमा प्रशिक्षण दिएका थिए । उनले अबको नयाँ अडियन्सलाई नयाँ तरिकाले समाचार कसरी पस्कन सकिन्छ भन्नेबारे आफ्ना अनुभव र सिकाइ साझेदार गरेका थिए । उनले अबको पत्रकारिता मुख्य गरी मल्टिमिडियामा केन्द्रित हुने तर्क गर्दै मोबाइल जर्नालिज्म पछिल्लो मिडिया भइरहेको बताए ।


शुक्रबारको अन्तिम दिनको सेसनमा समीक्षक अनुप सुवेदीले फिल्म समीक्षाबारेको बुझाइ, सिकाइ र लेखाइका बारेमा प्रशिक्षण दिने छन् भने पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रबन्धक सूर्य थपलियाले पर्यटन, फिल्म र फिल्म पत्रकारितासँग सम्बन्धित रही कार्यशाला सञ्चालन गर्ने छन् ।


पत्रकार नारायण अमृतले फिल्म पत्रकारिताको हिजोदेखि आजसम्मको अभ्यासका बारेमा आफ्ना अनुभव साझेदार गर्ने कार्यशाला आयोजक संस्थाका अध्यक्ष सन्दीप सापकोटाले जानकारी दिए ।

प्रकाशित : भाद्र २०, २०७६ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?