रंगमञ्चमा नयाँ पुस्ता

सुशीला तामा‌ङ

काठमाडौँ — इलामबाट करिब तीन वर्षअघि काठमाडौं छिरेकी रोश्नी कार्की सफल नृत्याङ्गना बन्न चाहन्थिन् । सहर बसाइको केही समयपछि नै अनामनगरस्थित मण्डला थिएटरको पाँचौं ब्याचको अभिनय कक्षामा भर्ना भएपछि उनको सपना बदलियो । त्यसयता उनी रंगकर्मीको छविमा देखिइन् । आधा दर्जन नाटकमा खेलिन् ।

रंगमञ्चमा नयाँ पुस्ता

‘अन्धो युग’ देखि केहीअघि मात्र टेकुस्थित कौसी थिएटरमा मञ्चन भएको ‘तीनकुने’ सम्ममा उनले गरेको चरित्रले ‘राम्रै प्रशंसा’ पायो । ‘अब यतै लत बस्यो,’ बुधबार उनले भनिन्, ‘सबैभन्दा खुसी र सन्तुष्टि थिएटरले दिएको छ ।’ आफ्नो ‘हाईफाई’ जीवनशैलीभन्दा नाटकमा गरेको चरित्रमार्फत् पाएको सम्मान ‘सबैभन्दा ठूलो लाग्न थालेको’ उनले बताइन् ।


कार्की मात्र नभएर अहिले रंगमञ्चमा रमाउने थुप्रै नयाँ कलाकारहरू छन् । पछिल्लो समय विभिन्न थिएटरहरूले सञ्चालन गरेको अभिनय कार्यशाला उनीहरूका लागि राम्रो प्लेटफर्म बन्दै गएका छन् । बत्तिसपुतलीस्थित शिल्पी थिएटर, अनामनगरस्थित मण्डला र कालिकास्थानस्थित सर्वनाम थिएटरले नियमित कार्यशालामा चलाउँदै आइरहेका छन् । बितेका आधा दशकमा मात्रै मण्डलाले २ सय जना नयाँ कलाकार उत्पादन गर्यो । मण्डला सम्बद्ध रंगकर्मी सोमनाथ खनालका अनुसार तीमध्ये ६०/७० जना त नियमित रंगकर्ममै छन् ।


उता नियमित रूपमा तीन/तीन महिनाको रंगमञ्च कार्यशाला चलाउँदै आएको सर्वनाममा अहिले सोह्रौं ब्याच चलिरहेको छ । ‘सुरुमा कार्यशाला थाल्दा यति लामो शृंखलासम्म अघि बढिन्छ भन्ने सोचेकै थिएनौं,’ सर्वनामका संस्थापक एवं रंगकर्मी अशेष मल्ल भन्छन्, ‘युवापुस्ता राम्रैसँग रंगमञ्चमैत्री बन्दै गइरहेको छ । नेपाली रंगमञ्चको यो ठूलो उपलब्धि हो ।’


हुन त धेरैले रंगमञ्चमार्फत् फिल्मी दुनियाँमा पस्ने सपना देखेका हुन्छन् । रंगमञ्चबाटै फिल्ममा जमेका दयाहाङ राई, सौगात मल्ल, विपिन कार्की, बुद्धि तामाङ, नाजिर हुसेनको ‘स्टारडम’ मा लोभिएर रंगमञ्चतिर आउने पनि थुप्रै छन् । सर्वनामको बाह्रौं ब्याचमार्फत् रंगमञ्चमा उदाएका धीरज थापा मगर पनि फिल्मको अभिनेता बन्छु भनेरै यस क्षेत्रमा आएका थिए ।


कार्यशालापछि उनमा परिवर्तन आयो । ‘रंगमञ्चको अभिनयपछि जीवनलाई नै अनौठो रूपमा पाएँ । मलाई थिएटरले जीवनप्रतिको सकारात्मक सोच र नयाँ आयाम दिलायो,’ उनी भन्छन्, ‘अभिनयको अलावा योग–ध्यान सिकें । जीवनदर्शन र दैनिक जीवनका थुप्रै पाटाहरू बुझें । थिएटरले मलाई परिपक्व बनायो ।’


मण्डलाबाट उदाएका नयाँ पुस्ताका अर्का रंगकर्मी हुन् किरण श्रेष्ठ । उनी थिएटरमै नै आफ्नो भविष्य खोज्दै छन् । सामान्य जीवनयापन मात्र गर्न पुग्ने भए पनि दर्शकको माया र प्रतिक्रियाले यसप्रति लगाव बढ्दै गएको उनको मत छ । सामाजिक व्यवहार सिकाउनेदेखि फिल्म प्रवेश गर्न पनि रंगमञ्चको अभिनयले सघाउने उनको विश्वास छ ।


‘फिल्मको अभिनय के अभिनय ?’ उनी भन्छन्, ‘अभिनय तिखार्न त रंगमञ्चको विकल्पै छैन ।’ पछिल्लो समय बालबालिकाको सिकाइको प्रक्रिया सिर्जनात्मक बनाउन विद्यालयहरूले रंगमञ्च कक्षाहरू सञ्चालन गर्न थालेपछि पनि रंगमञ्चको आयाम अझ फराकिलो बनेको छ । श्रेष्ठका अनुसार पेसागत हिसाबले पनि रंगमञ्चका अवसरहरू बढ्दै छन् । त्यही भएर पनि युवापुस्ता यतातिर आकर्षित बन्दै गएको हो । विद्यालयको चासोकै कारण नयाँपुस्तामा रंगमञ्च साक्षरता पनि बढ्दै गइरहेको उनको तर्क छ ।


केही समयअघि मात्र मण्डलामा प्रस्तुत नाटक ‘मैनदानी’ मा एउटा डाक्टरको भूमिकामा थिए, आयान खड्का । उनी पनि नेपाली रंगमञ्च राम्रै दिशातिर अघि बढिरहेको देख्छन् । समाजमा रहेका हरेक व्यक्तिहरूको चरित्रलाई जीवन्त उतारेर समाजलाई नै नजिकबाट नियाल्न सकिने माध्यमका हेर्न उनी आफ्नो रंगकर्मलाई ।


‘प्रत्यक्ष अभिनयबाट आउने आनन्द साँच्चिकै भिन्न हुन्छ,’ उनी भन्छन्, ‘अभिनय गर्दा गर्दै आत्मप्रकाश मिलेको जस्तो । मेरो विचारमा रंगमञ्च पसेपछि मानिसले आफूलाई चिन्न मौका पाउँछ ।’ अब सरल रूपमा नै रंगमञ्चसँगै जीवनलाई अगाडि बढाउने एउटै लक्ष्य छ ।

पछिल्लो समय नेपाली रंगमञ्चमा महिला पीडा, संघर्ष र सशक्तीकरणका पक्ष उत्तिकै सबल भएर आइरहेका छन् । महिलालाई पुरुषसरह क्षमता प्रदर्शन गर्ने आधार थिएटरले प्रदान गरेकोले पनि आफू आकर्षित भएको सर्वनाम तेह्रौं ब्याचका कलाकार बिन्दु बीएम बताउँछिन् ।


महिला विद्रोह र सशक्तीकरणकै पक्ष उजागर गरेको नाटक ‘अर्को कुरुक्षेत्र’ मा अभिनय खेलेकी बीएम महिला र पुरुषबीच विभेद गर्ने परम्परावादी समाजमा ‘नाटक नै महिलाको भित्री क्षमता उजागर गर्ने महत्त्वपूर्ण आधार रहेको’ दाबी गर्छिन् । ‘थिएटरमा एक प्रकारको स्वतन्त्रता फिल हुन्छ । आफैंलाई चिन्ने मौका पनि मिल्छ,’ उनले भनिन्, ‘समाजका थुप्रै भ्रम चिर्न थिएटर आवश्यक छ ।’


रंगमञ्चको प्रक्रिया नै सामूहिक हुने हुँदा नयाँ पुस्ताले स्वतन्त्रता अनुभूति गर्ने मल्लको मत छ । रंगमञ्चमार्फत् जीवनलाई फरक रूपमा बुझ्न डाक्टर, वकिलदेखि ट्याक्सी चालकसम्मका व्यक्तिहरू नयाँ प्रशिक्षणका लागि आउने क्रम अहिले पनि दिन प्रतिदिन बढ्दै गइरहेको उनी बताउँछन् । उनका अनुसार रंगमञ्च सबैलाई सबै ठाउँमा काम लाग्ने कलाको विधा हो ।


पेसागत हिसाबमा सफलता पाउन पनि यसको उपयोगिता ठूलो छ । ‘पर्फेक्ट चरित्र ग्रहण गर्ने क्षमता थिएटरले बनाउँछ,’ उनी भन्छन्, ‘थिएटरले जीवन नै सिकाउँछ ।’ व्यावसायिक रूपमा यसैले मात्र धान्न नसक्ने अवस्था भए पनि फिल्म लगायतका अन्य क्षेत्रको सफलताका लागि पनि रंगमञ्च बहुआयमिक रहेको उनको तर्क छ ।

प्रकाशित : भाद्र १९, २०७६ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?