१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

कलामा सभ्यता र प्रकृति

सुशीला तामा‌ङ

काठमाडौँ — मनबाट निस्कने स्वतस्फुर्त भाव नै कला हो । मानिसले समाजमा जे देखिरहेको हुन्छ ती सबै कुराहरू कलामा अभिव्यक्त हुन्छ । 
सहरका ग्यालरी चाहार्ने हो भने यो भनाइको पुष्टि हुन्छ । पाटनढोकास्थित एमक्यूब ग्यालरीमा पसौं ।

कलामा सभ्यता र प्रकृति

अघिल्लो सातादेखि यहाँ ‘हेक्जागन’ शीर्षकको चित्रकला प्रदर्शनी भइरहेको छ । नेपाली चित्रकार सन्ध्या सिलवाल र अस्ट्रियाका कला स्रष्टा लिया टिजका कलाकृति यहाँ नियाल्न सकिन्छ । यी दुईले समसामयिक प्रभावसहित मान्छे र प्रकृतिलाई नै कलामा उतारेका छन् ।


शैली र माध्यम भने यी दुईका फरकफरक छन् । सिलवालको षट्कोण आकारमा कागजलाई काटेर कलाका प्रस्तुत गरेकी छन् । समान आकार र फरक डिजाइनका कागजहरूले मानव जीवन, आध्यात्मिक पक्ष, जीवनका अनगिन्ती आरोहअवरोह, मानिसको चेतनाको स्तरसम्मलाई आफ्ना कलामा समेटेकी छन् सिलवालले ।


प्रतीकात्मक रूपमा षट्कोणको अर्थ एकै लयमा राख्दै मानिसको जीवनमा आइपर्ने सुखदुःख, महिला र पुरुषका रूपमा हुने शक्तिको विभाजन, सकारात्मक सोचलगायत भाव र विषयलाई उनले कागजकै इन्टलेसन आर्टमार्फत् अभिव्यक्त गरेकी छन् ।


चित्रकार टिजले नेपाली कागजमा प्रिन्ट गरेर अस्ट्रियाको बादल देखिने घर र त्यहाँको वातावरणका साथै नेपालमा आफूले वरपर देखेको घर र छेउछाउको परिवेशलाई फोटोग्राफीमार्फत् देखाएकी छन् । त्यस्तै समाजमा भइरहेको दैनिक गतिविधिलाई अभिव्यक्त गर्न भिडियो माध्यमको पनि साथ लिएकी छन् । यसका लागि उनी पटकपटक ललितपुर ज्वागलस्थित यूएनपार्क धाएकी छन् ।


यहाँ हरेक बिहान देखिने मानिसको दैनिकीलाई उनले भिडियोमा समेटेकी हुन् । यसबाहेक बारुलोका गुँडलाई पनि नेपाली कागजमै प्रिन्ट गरेर सुन्दर रूपमा उतारेकी छन् उनले । प्रकृतिमा रहेका ससाना जीवहरूको अस्तित्व र सबै मिलेर एकअर्कामा खाना बनाएर जिउने प्रक्रियाबाट आफू एकदमै प्रभावित भएर यसलाई कलामा व्यक्त गरिएको उनले बताइन् ।


उता सिद्धार्थ आर्ट ग्यालरीमा पनि ‘स्पेस अ’ ले ३ इरानी चित्रकारलाई प्रस्तुत गरिरहेको छ । ‘टु रिमेम्बर’ शीर्षकका १६ वटा मिक्स मिडियाका माध्यमबाट बनाइएका कलाहरूमा पनि समकालीन समाजकै चित्रण पाइन्छ । अन्तर्राष्ट्रियस्तरका चित्रकारलाई फरक संस्कार र रहनसहनमा राखेर कला सिर्जनामा सहकार्य र समन्वयन गर्दै आएका ‘स्पेस अ’ का जुपिटर प्रधान र नेदा हफारी प्रधानले फरक भूगोलका कलालाई एकआपसमा आदानप्रदान गर्न नै प्रदर्शनी गर्दै आएको बताए ।


‘रेजिडेन्सी आर्टिसहरूलाई अरू देशको कला बुझाउनु र भिन्न कलाका प्रविधि सिकाउनु हाम्रो उद्देश्य हो,’ नेदाले भनिन् । उनीहरूका अनुसार गत जुलाईदेखि सुरु गरिएको यो दोस्रो कला प्रदर्शनी हो । प्रदर्शनीमा ३ चित्रकारका भिन्नाभिन्नै कलाकृति छन् । इरानी सभ्यता, इतिहास, साहित्य र जीवनलाई नै उनीहरूले चित्रका मुख्य विषयवस्तु बनाएका छन् । सीमा शाह मोरादीले इरानी समाजमा महत्त्वपूर्ण रूपमा रहेको थुप्रै ऐनाका टुक्रा जोडेर बनाइएको ठूलो ऐना प्रस्तुत पारेकी छन् । उनले मिनिएचर शैलीको पेन्टिङ पनि

बनाएकी छन् ।


एउटै पुरानो पेन्टिङलाई ४० वटाभन्दा बढी प्रिन्ट निकालेर त्यसमा आवश्यक ससाना भाग काटेर फेरि जोड्दै महिलाका पोट्रेट बनाएकी छन्, जुन निकै आकर्षक र नयाँ लाग्छ । यही शैलीमा उनले हिमालका चित्र पनि तयार पारेकी छन् । उनको पोट्रेट चित्रमा

इरानको युद्धकालीन अवस्था देखाएको नेदाले उल्लेख गरिन् ।

अर्का चित्रकार फार्सिद दाभुदीले कपडाका टुक्रा जोड्दै त्यसैमा इरानी प्रसिद्ध कविता प्रस्तुत गरेका छन् भने पत्रिकालाई बन्डल बनाई काटेर त्यसमाथि अक्षर प्रिन्ट गर्दै इरानी महिला विद्रोहका कथा प्रस्तुत गरेका छन् । त्यस्तै मारियाम आस्कानियनले विभिन्न कपडामा सियो र धागोकै माध्यमबाट मानिसका फरकफरक पोट्रेट चित्र बनाएका छन् । सातवटा कपडाका चित्रलाई नाक, मुख, आँखा छुट्टाई फेरि जोडेर प्रदर्शनीमा राखिएका छन्, जहाँ एउटा चित्रको नाक, आँखा अर्को चित्रमा राखी भिन्न देखाइएको छ । बाहिर र भित्र देखिने मानिसको भिन्नभिन्नै चरित्रप्रति उनले कलामार्फत् व्यंग्य गरेका हुन् ।


यता बबरमहलस्थित नेपाल आर्ट काउन्सिल त चित्रकलाको हब नै भइहाल्यो । यहाँ यतिबेला सिर्जना कलेज अफ फाइन आर्टसमा अध्ययनरत बीएफए चौथो सेमेस्टरको १७ प्रतिभाहरूले आआफ्ना कला अभिव्यक्त गरिरहेका छन् । उनीहरूले माध्यमको रूपमा चित्रकलासँगै प्रिन्ट, मूर्तिकला, प्रतिस्थापनदेखि ग्राफिक्ससम्मको सहयता लिएका छन् । अनेकथरीका एनिमेसन, फोटोग्राफ, इलुस्ट्रेसन, कार्टुनदेखि क्यारिकेचरसम्मको माध्यम पनि अपनाएका छन् उनीहरूले ।


विषयवस्तुको हिसाबले भने सम्पदा, संस्कृति, धार्मिक प्रभावदेखि समाजमै भइरहेका समसामयिक सन्दर्भ प्रतिविम्बित छन् । शर्मिलादेवी तामाङको एक्रेलिक माध्यममा कोरिएको चित्र नियालौं । क्यान्भासमा चेप्टे रिङ लगाएकी एक महिला छिन्, जसको हातमा डम्फु छ । तामाङ समाजमा प्रचलित सेलो र डम्फु संस्कृति बुझ्न उनको यो चित्र काफी लाग्छ । नयाँ पुस्तामा सांस्कृतिक हस्तान्तरणसँगै प्रवर्द्धनका हिसाबले पनि उनको चित्र अर्थपूर्ण लाग्छ ।


त्यस्तै, एक्रेलिक माध्यममै सञ्जय डाँगीले वृद्ध महिलाको आकृति कोरेका छन्, उमेर ढल्केपछि छोराछोरीले बाबुआमालाई वृद्धाश्रमतिर लैजाने प्रवृत्तिलाई व्यंग्य गर्दै उनले जेष्ठ नागरिकलाई उचित हेरचाह र समर्थन गर्नुपर्ने भावलाई प्रस्तुत गरेका छन् । मानिसको मुहारमा देखिने मुस्कानकै आधारमा सुन्दर महिलाको चित्र तयार पारेकी छन् मञ्जिला रिजालले ।


उनको चित्रमा हिन्दु दर्शनको प्रभाव देखिन्छ । परेवालाई शान्तिका प्रतीकका रूपमा लिँदै एक साधुको शिरमाथि परेवा बस्दै गरेको आकृति निकै नै अर्थपूर्ण र आकर्षक लाग्छ । ग्राफिक्सअन्तर्गतका कला भने प्रायः पर्यटन प्रवर्द्धन र यौन हिंसाविरुद्धका छन् । प्रदर्शनीका लागि सबैजनाले आआफ्ना रुचिका विषयअनुसार समकालीन र आधुनिक कला नै तयार गरिएको चित्रकार विजय महर्जनले बताए ।

प्रकाशित : भाद्र १८, २०७६ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?