१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

‘साहो’ लाई चोरी आरोप

काठमाडौँ — दक्षिण भारतीय अभिनेता प्रभाष अभिनीत हिन्दी फिल्म ‘साहो’ ले गतिलो समीक्षा पाउन नसकेको भए पनि यतिबेला बक्सअफिसमा भने उधुम मच्चाइरहेको छ । जब कि फिल्म हेरिसकेका दर्शकले पनि उत्साहप्रद टिप्पणी गरेका छैनन् ।

‘साहो’ लाई चोरी आरोप

बिग बजेटको फिल्मले रिलिजका लागि भारतमा मात्रै झन्डै दस हजार स्क्रिन पाएको थियो । र, फिल्मले तीनदिने विकेन्डमा झन्डै ८० करोड भारु कमाइ गरेको थियो भने रिलिजको पाँचौं दिनमा करोड क्लब प्रवेश गरेको छ ।


हुन त फिल्म ‘साहो’ प्रभाषकै अघिल्लो फिल्म ‘बाहुबली’ को विकेन्ड कलेक्सन एक सय २८ करोड भारुको छेउछाउसम्म पनि पुग्न सकेन । विभिन्न नकारात्मक टिप्पणी र प्रतिक्रियाका बाबजुद पनि प्रभाषकै ब्रान्ड भ्यालुका कारण ‘साहो’ ले बक्सअफिसमा भने आफूलाई टिकाइरहेको तर्क गरिएको छ ।


फिल्मले सोचेअनुरूप व्यापार र समीक्षा नबटुलिरहेका बेला ‘साहो’ लाई अर्को झट्का पनि लागेको छ । सुजितको लेखन तथा निर्देशन रहेको भारतकै हालसम्मकै महँगो यो फिल्मलाई एक हलिउड फिल्मबाट चोरिएको आरोप लागेको हो । श्रद्धा कपुर र प्रभाष अभिनीत ‘साहो’ लाई हलिउडको ‘लार्गो विन्च’ बाट नक्कल गरी बनाइएको स्वयं यसका निर्देशक जेरोम सलेले आरोप लगाएका छन् ।


चोरीको आरोप सुरुवातमा ट्वीटरमार्फत् उठेको थियो । ट्वीटर प्रयोगकर्ताले ‘साहो’ को कथा र हलिउड फिल्म ‘लार्गो विन्च’ को कथामा धेरै समाानता भेटिएको भन्दै चोरीको प्रश्न उठाएका थिए । आफ्नो फिल्मको कथा, पटकथाबाट महँगो हिन्दी फिल्म बनेको चाल पाएपछि ‘लार्गो विन्च’ का निर्देशक जेरोमले व्यंग्य कस्दै भनेका छन्, ‘सायद मेरो करिअर भारतमा पो राम्रो हुन्छ जस्तो छ ।’ पछि उनले आफ्नो भारतीय करिअरवाला स्टाटस व्यंग्यात्मक शैलीको रहेको प्रस्ट्याउँदै आफू कसैका लागि सहयोगी बनिदिन तयार नभएको उल्लेख गरेका छन् ।


हलिउडमा ब्लकबस्टर्स बनेको ‘लार्गो विन्च’ का निर्देशकले थप आक्रोशित हुँदै अर्को ट्वीटमा भनेका छन्, ‘मेरो फिल्मबाट यसरी फोकटमा रिमेक गरिएको यो दोस्रो फिल्म हो । तर यो पनि पहिलो जस्तै खत्तम बनाइएछ । त्यसैले कृपया तेलुगु निर्देशकज्यू, यदि तपार्इं मेरो फिल्म चोरेर नै बनाउन चाहनुहुन्छ भने पनि अलि ढंगले बनाउनुहोला ।’


यसअघि पनि तेलुगु निर्देशक त्रिविक्रम श्रीनिवासलाई उक्त हलिउड फिल्म निर्देशकले आफ्नो फिल्म चोरेको आरोप लगाएका थिए, जब तेलुगु फिल्म रिलिज भएको थियो । अब यदि आरोप सत्य निस्कियो भने त ठूलो तामझामका साथ रिलिज भएको ‘साहो’ को सृजनामाथि नै प्रश्नचिह्न उठ्ने देखिन्छ । आखिर बलिउड चोरीको मामिलामा पहिल्यैदेखि बदनाम नै छ ।

प्रकाशित : भाद्र १८, २०७६ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?