२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

साइबर संसारमा एक्लोपन

काठमाडौँ — मान्छेका लत अनेक हुन्छन् । केही चीजको पनि लत वा अम्मली हुनु राम्रो हैन । हुन त विज्ञान र प्रविधिको नयाँ युगमा यतिबेला धेरैको लत इन्टरनेट बनेको छ ।

साइबर संसारमा एक्लोपन

अझ त्यसमा पनि धेरैको समय सामाजिक सञ्जालमै रुमल्लिएर बितिरहेको छ । ‘मान्छे बरु खाना नखाएर दुई दिनसम्म बाँच्न सक्ला तर इन्टरनेटबिना बाँच्न नसक्ने भइसक्यो’– नाटक ‘गुम्फन’ मा एक पात्र यसै भन्छन् ।


बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन भइरहेको यो नाटक थिएटर भिलेजले प्रस्तुत गरेको हो । नाटक साइबर संसारमा रुमल्लिरहेको नयाँ पुस्ता र त्यसले पुर्‍याइरहेको सामाजिक, मनोवैज्ञानिक असरबारे केन्द्रित छ । एलिसा सालोको फिनिस नाटक ‘रयादेस्सवारा’ लाई नेली केइनानेन र लिया अब्सेसले गरेको अंग्रेजी अनुवाद ‘फलिङ’ मा आधारित भई जीवेश रायमाझीले यो नाटकको नेपालीमा भावानुवाद गरेका हुन् ।


निर्देशन गरेका छन् दिलीप रानाभाटले । एलिनाका स्कुले साथीहरू थुप्रै छन् । तर पनि ऊ आफूलाई एक्लो अनुभव गर्छे । शारीरिक बनावटमा केही मोटी भएकैले उसले आफुलाई दुःखी महसुस गर्छे । सँगैकी साथी जस्मिन राम्री र शारीरिक रूपमा फिट छे । केटाहरू उसका लागि मरिहत्ते गर्छन् ।


जस्मिन पनि प्रेमीसँग अति नजिक भएको, रमाएको एलिनाका लागि कताकति खल्लो बनाइरहेको हुन सक्छ । जस्मिन भर्चुअल वर्ल्डमा समेत विभिन्न बेनामे आईडीका केटाहरूसँग प्रेमिल कुरा गरिरहेकी हुन्छे । अचानक एक दिन च्याट गर्दागर्दै ऊ लगआउट नगरी प्रेमीसँग जान्छे ।


एलिनाले जस्मिनकै आइडीबाट उसका भर्चुअल साथीमध्येको एक डार्क फ्लोसँग च्याट गर्न थाल्छे । साइबर संसारमा ऊ बिस्तारै रमाउन थाल्छे । छद्म परिचयमा गरिएको कुराकानीले एलिनालाई वास्तविक सन्तुष्टि दिइरहेको हुन्छ । तर यो धेरै समय कसरी टिक्थ्यो र ? जस्मिनले आफ्नो आईडीबाट एलिनाले च्याट गरिरहेको पत्तो पाउँछे ।


आयन पनि जिन्दगीदेखि निराश छ । स्कुले साथीभाइसँग खासै रमाउन सक्दैन । प्रायः एकान्तमा नै बस्न रुचाउँछ । कक्षाकोठामा पनि अक्सर निदाइदिन्छ । तर भर्चुअल वर्ल्डमा भने उसको परिचय ठीक विपरीत छ । डार्क फ्लोको आइडीमा भने ऊ युवतीहरूसँग रमाइरहेको हुन्छ ।


तर भर्चुअल वर्ल्ड वास्तविक संसारजस्तो कहाँ छ र ? आत्मीयता र आफ्नोपना कहाँ पाउनु ? नतिजा आयन डिप्रेसनमा जान्छ । ऊ मात्र हैन, एलिनाको अवस्था पनि उस्तै हो । साइबर संसारमा हराएर आफ्नो व्यक्तिगत जीवन, आफन्तसँगको सम्बन्ध तथा मानवीयता नै गुमाइरहेको यो पुस्ताले प्रत्यक्ष जीवनमा आफ्नो समस्यासँग जुध्न सक्ला

त ? नाटकले यसैमा टेकेर चित्रण गर्न खोजेको छ ।


यसअघि ‘सिंहदरबारको टेन्डर’ र ‘झिझिक झिमिक झ्याप्प’ निर्देशन गरिसकेका रानाभाटले यसपटक अनुदित नाटकलाई नेपाली समाजको परिवेशमा ढालेर ‘गुम्फन’ पस्कने जमर्को गरेका छन् । गुमनाम परिचयमा साइबर संसारमा मनोरञ्जन खोज्ने पुस्ताका लागि नाटक रुचिकर हुन सक्छ ।


अद्वेत अकेला, अभिषेक गैरे, इष्टु कार्की, आयुष्ना गिरी, एचके अधिकारी, गुगल लामा, मदन सुवेदी, प्रमोद खड्का, पीबीएस रिदम र संगीता थापाको अभिनय रहेको ‘गुम्फन’ को मञ्च तथा प्रकाश परिकल्पना विमल सुवेदीले गरेका हुन् । लाजिम्पाटस्थित नाट्यगृह भत्किएपछि स्वदेशमा नाटक मञ्चन नगरेको थिएटर भिलेजले रानाभाटको ‘गुम्फन’ बाट उक्त मौनता तोडेको हो । रानाभाटले भने ‘उन्दाउन्दै र बुन्दाबुन्दै ‘गुम्फन’ तयार भएको बताए ।

प्रकाशित : भाद्र १७, २०७६ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?