सायरको सहरमा गुमनाम मुशायरा

रूपा गहतराज

नेपालगन्ज — कुनै समय नेपालगन्जमा गजल, सायरी गुनगुनाउने मुशायरा हुन्थ्यो । सायरहरू रातभर बसेर उर्दु गजल सुनाउँथे । सुन्नेहरू वा वा गर्दै ताली बजाउँथे । प्रायः रात परेपछि हुने यस्ता कार्यक्रममा शायरहरू जम्मा हुन्थे । सुन्ने र सुनाउने सिलसिला चलिरहन्थ्यो ।

नानपारा, लखनउ, बहराइच, गोरखपुर, भैरहवा, काठमाडौंबाट नेपालगन्जमा जम्मा हुने सायरहरूले जाग्राम बसेर गजल सुनाउँथे । खासगरी उर्दु गजलले महफिल रौनक हुने गर्थ्यो तर अहिले ती सबै कुरा हराउँदै गएका छन् ।


उसो त सानोतिनो बहुभाषिक कविगोष्ठी नभएका होइनन् । हरेक महिनाको अन्तिम शनिबार सबै भाषाका सिर्जना बोकेर एकै थलोमा भेट हुन्छन् । आआफ्ना रचना एकअर्कालाई सुनाउँछन् । ‘हामीले केही भए पनि प्रयास गरेका छौं । अहिले पनि ८/१० जना उर्दु सायर हुनुहुन्छ,’ प्राज्ञ सभा सदस्य हरिप्रसाद तिमिल्सिनाले भने, ‘जसरी तीजमा दिदीबहिनी आफ्नो परम्परा जोगाउन नाच्नेगाउने गर्नुहुन्छ । उर्दु सायरको मुशायरा पनि त्यसैको रूप हो तर पहिलाजस्तो यसको रौनक अहिले हराएको छ ।’


८० वर्षीय अब्दुल लतिफ शौक गजल, सायरी गुनगुनाउने मुशायरा कार्यक्रम सुन्नेबित्तिकै कुदिहाल्छन् । अहिले पनि उनी निरन्तर साहित्य सिर्जनामा क्रियाशील छन् । नेपालगन्जको सुन कालिगढको परिवारमा १९९५ सालमा जन्मिएका उनले ००९ सालदेखि गजल लेख्न थालेका हुन् । यस बीचमा शौकको जीवनमा निकै आरोहअवरोह आए तर उनको गजल लेख्ने सोखमा भने अझै कुनै कमी आएको छैन । उनको कलम बगिरहेको छ, निरन्तर ।


शौकले कति गजल लेखे, मन नपरेर च्याते, फाले । त्यसको गन्ती नै छैन तर चुनिन्दा करिब तीन सयभन्दा बढी गजल समेटिएका दुई वटा डायरी हराए । ‘ती गजल हराउँदा छोराछोरी हराएझैं लाग्यो,’ उनले भने । उनी आफू मात्रै लेख्दैनन्, अरूलाई लेख्न पनि प्रेरणा दिन्छन् । उनले ०३३ सालदेखि हालसम्म अनवरत रूपमा गुल्जार ए अदबको अध्यक्षका रूपमा नेतृत्व प्रदान गर्दै आएका छन् । चार दशकदेखि गुल्जार ए अदबमार्फत नियमित मासिक गजल गोष्ठी गर्दै आएका छन् ।


बहुभाषिक कवि गोष्ठीदेखि बेलाबेलामा मुशायरासमेत आफैं सञ्चालन गर्दै आएका छन् । शौक नेपालमा मात्र नभएर भारतको बहराइच, कानपुरदेखि लखनउसम्म चर्चित छन् । मुशायरामा उनलाई अत्यन्त सम्मानका साथ हेर्ने गरिन्छ । उनी उर्दु साहित्यका नायक नै हुन् ।


उनीजस्तै नेपालगन्ज–८ का ५९ वर्षीय सायर मुस्तफा अहसन कुरैसी आफ्नो त्रिभुवन चोकमा रहेको टेलरमा बसेर एक्लै भए पनि गुनगुनाउँछन् । कामले फुर्सद हुनासाथ कलम र कपी लिएर रचना कोर्छन् । उनले उर्दु गजलको एउटा पुस्तक पनि प्रकाशित गरेका छन् । ‘एउटा किताब निकाल्दा हजार सकियो । रहरलाई पेसा बनाउन बढो मुस्किल छ,’ उनले भने, ‘सायरी एउटा शोक, बाँच्नलाई त काम गर्नैपर्‍यो ।’ अहिलेको समय सायरी सुनाउन पनि श्रोता खोज्नुपर्ने भएको उनले बताए ।


केही पुराना सायरले उर्दु सायरीलाई जीवन्त राखेको उनको भनाइ छ । नेपालगन्जमा मोहम्मद अमिन खयाली चर्चित सायर थिए, जो अब रहेनन् । मुशायराका ती नायक नभएपछि उर्दु सायरहरू खल्लो महसुस गर्छन् । उर्दु साहित्यमा त्यस्ता सायर धेरै छन् ।


‘खयाली साहेब नेपालकै प्रसिद्ध उर्दु सायर हुनुहुन्थ्यो,’ साहित्यकार सनत रेग्मीले भने, ‘उहाँले आफ्नो कृतिसमेत छाप्न पाउनुभएन । उहाँको महत्त्वलाई राष्ट्रले पनि चिन्न सकेन ।’ पहिलो पुस्ताका लोकप्रिय सायरले नेपालगन्जलाई ‘सायरको सहर’ बनाए । नयाँ पुस्तामा त्यो उत्साह छैन तर सायरप्रतिको सम्मानमा भने कुनै कमी आएको छैन ।

प्रकाशित : भाद्र १६, २०७६ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?