उबेलाको तीज

पोखरा — कृष्णअष्टमीदेखि चेलीबेटी माइती आउनजान सुरु हुन्थ्यो । छिमेकीले बाटाघाटामा भेटे कहिले लिन आउँछन् माइती भनेर सोध्थे । चितवनदेखि पोखराको आलुमाइला चोक आइपुगेकी माया कुँवर विगत सम्झिन्छिन् । माइती आउने दिन गनिरहनुपर्थ्यो । 

उबेलाको तीज

१२ वर्षको उमेरमा विवाह भएर आएकी उनी अहिले ७८ वर्ष पुगेकी छन् । दाजुभाइ लिन आउँदा खुसीले अघिअघि लागेर गइन्थ्यो । माइत पुगेपछि भोलि तीज, आजजस्तो सबै दिदीबहिनी बसेर दर खाइन्थ्यो, तीजको दिन व्रत बस्दा भोक लाग्छ भनेर रातको १२ बजे खिर खाने उनले सुनाइन् । ‘गाउँका सबै दिदीबहिनी गाउँको बीच भएको चउरमा भेला भएर वेदनाका गीत गाएर नाच्ने गरिन्थ्यो’, उनले भनिन्, ‘यसरी नाच्दा दुःखपीडा हटेर जान्थ्यो ।’


तीज आउन ५/६ दिन हुँदा माइती लिन आउँथे अनि खुसीले अघि लागेर गइन्थ्यो । तीज आउन एक दिन बाँकी हुँदा मासु खान नहुने भन्ने भनाइ थियो । ‘त्यही भएर शाकाहारी तरकारी चुलामा पाक्थ्यो र खिर बनाएर आमाले खान दिनुहुन्थ्यो,’ पोखरा न्युरोडकी आइतलक्ष्मी गुरुङले भनिन् ।


स्याङजा फेदीखोला घर भएकी उनी न्युरोडमा बस्दै आएकी हुन् । उनका अनुसार दर भनेको जहिले पायो त्यही बेला खाने चिज हैन तर अहिले त्यसमा विकृति आएको छ । उबेला व्रत बस्ने दिनको अघिल्लो राती सबै दिदीबहिनी भएर दर खाने चलन थियो ।


माछामासु खाए पाप लाग्छ भनेर दर खाने बेला माछामासु खाइँदैनथ्यो । ‘अहिले मौलिक पर्व जोगाउनभन्दा पनि ब्युटीपार्लर जाने, ऋणधन गरेर भए पनि महँगा कपडा किन्ने, जुन बेला पायो, त्यहीबेला दर खाने र माछामासु केही नबार्ने गर्छन्,’ गुरुङ भन्छिन्, उबेला मोबाइल थिएन । कतिबेला माइती लिन आउँछन् भनेर हेरिरहन पर्थ्यो, तीजको रौनकै फरक थियो ।’ कृष्णजन्माष्टमी आएपछि चेली लिन जाने चलन रहेको आर्बाविजया घर भई न्युरोड बस्दै आएका रामबहादुर बराल सुनाउँछन् ।

प्रकाशित : भाद्र १६, २०७६ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?