साँघुरिँदै गुरुङ फिल्म निर्माण

आश गुरुङ

लमजुङ — गुरुङ फिल्म निर्माण सुरु भएको २५ वर्ष बढी भइसक्यो । गुरुङ फिल्मकर्मीको संस्था स्थापना भएको पनि एक दशक नाघिसक्यो ।
लामो यात्रा तय गगुरुङ फिल्मको निर्माण दायरा फराकिलो बन्दै जानुपर्नेमा साँघुरिँदै आएको छ ।

साँघुरिँदै गुरुङ फिल्म निर्माण

पोखरामा २ वर्षअघि आयोजित गुरुङ फिल्म एसोसिएसन नेपाल (जिफान) को पाँचौं राष्ट्रिय महाधिवेशनले गुरुङ फिल्म हुन ७० प्रतिशत गुरुङ भाषा हुनुपर्ने भन्दै विधान संशोधन गरेको थियो ।


शनिबार पोखरामा आयोजित जिफानको छैटौं राष्ट्रिय महाधिवेशनले गुरुङ फिल्मको निर्देशन र फिल्मकै लागि कथा लेखनमा गैरगुरुङलाई बन्देज लगाएको छ । यस्तै, छायांकन, सम्पादनलगायत प्राविधिक क्षेत्रमा काम गर्न ७० प्रतिशत गुरुङ फिल्म एसोसिएसनका सदस्य हुनुपर्ने प्रस्ताव बहुमतबाट पारित गरिएको छ ।


गुरुङ फिल्मको दर्ता शुल्क ५ सय रूपैयाँबाट बढाएर १ हजार तोकिएको छ । गुरुङ संस्कार र संस्कृतिमा आधारित नेपाली भाषाका फिल्मलाई दर्ता शुल्क ५ हजारनै कायम राखिएको छ । गुरुङ फिल्म प्रदर्शन गर्दा पब्लिक शोका लागि १४ दिनको फरक हुनुपर्ने यसअघिको निर्णय कायम छ । भीआइपी शोका लागि निर्माता/निर्देशकले एक आपसमा छलफल गरी समय निर्धारण गर्न सक्ने निर्णय बहुमतले पारित भएको गुरुङ फिल्म एसोसिएसन नेपाल (जिफान) का संस्थापक अध्यक्ष माओत्से गुरुङले बताए ।


‘गुरुङ फिल्म निर्माणको दायरा फराकिलो हुनुपर्नेमा साँघुरिँदै गएको महसुस भएको छ । यसले हाम्रो बजार पनि साँघुरो बन्दै जान्छ । यसतर्फ हामी सचेत हुन जरुरी छ’ माओत्सेले भने, ‘गुरुङ सिनेमालाई विश्वव्यापी बनाउन जरुरी छ ।’


२०५२ सालमा प्रितम गुरुङले पातें (माइली) फिल्म निर्माण गरेपछि गुरुङ फिल्म निर्माणको इतिहास सुरु हुन्छ । उक्त वर्ष नै पोखरामा न्हाम्स्यो न्होंरी (कुहिरो भित्र) फिल्म बनेपछि गुरुङ फिल्म निर्माणले ब्यापकता पाएको हो । जिफानका अनुसार करिब डेढ सय गुरुङ फिल्म निर्माण भइसकेका छन् । यसमा गुरुङ संस्कार संस्कृतिमा आधारित नेपाली भाषाका फिल्म पनि छन् ।


‘गुरुङ फिल्मलाई सबैले हेर्न मिल्ने फिल्म बनाऔं । नेपाली फिल्ममा रहेका गुरुङलाई पनि मातृभाषी फिल्ममा ल्याऔं । संख्यात्मकभन्दा गुणात्मक फिल्म निर्माण गरौं,’ गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शनिबार जिफानको छैटौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै भने । गाउँमा रहेका संस्कार–संस्कृतिलाई खोजीखोजी फिल्ममा उतार्नुपर्ने र यसलाई विश्वव्यापी गर्नुपर्ने उनले बताए ।


मादी गाउँपालिकाका अध्यक्षसमेत रहेका जिफानका पूर्वअध्यक्ष वेदबहादुर गुरुङ (श्याम) ले गुरुङ भाषा र कला–संस्कृति जोगाउन र बचाउन फिल्मकर्मी लागेको बताए । ‘केही फिल्मकर्मीले आफू व्यावसायिक बन्न गैर गुरुङ भाषाका फिल्म पनि निर्माण गरेका छन् ।

नेपाली भाषामै फिल्म निर्माण गर्न ठूला पर्दा नै छ । बरु कसरी बजारीकरण र व्यवसायीकरण गर्ने भन्ने विषयमा छलफल गर्न सकिन्छ । नेपाली भाषाका फिल्मलाई गुरुङ फिल्म भनेर दर्शकमाझ नलैजाऔं ।’


अध्यक्षमा भोजबहादुर

पोखरामा आयोजित गुरुङ फिल्मकर्मीको संस्था गुरुङ फिल्म एसोसिएसन नेपाल (जिफान) को अध्यक्षमा भोजबहादुर गुरुङ निर्वाचित भएका छन । पोखरामा संस्थाको छैटौं महाधिवेशनले अर्का प्रत्यासी राजबहादुर गुरुङ (राजेश) लाई हराउँदै २३ सदस्यीय कार्यसमिती निर्वाचित भएको छ । समितिको प्रथम उपाध्यक्षमा गुञ्जबहादुर गुरुङ, द्वितीय उपाध्यक्षमा रेशम गुरुङ चयन भए । महासचिवमा मनोज गुरुङ निर्वाचित भएका छन भने मनोज महासचिवमा निर्वाचित भए । सचिवमा तोलबहादुर गुरुङ (लवसन) चयन भए ।


महिला विभाग प्रमुखमा ईन्द्रमाया गुरुङ, संघसस्था विभाग प्रमुख गलबहादुर गुरुङ, भाषा संस्कृति विभाग प्रमुख गमबहादुर गुरुङ, प्रचारप्रसार विभाग प्रमुख रमेश गुरुङ, निर्माता निर्देशक विभाग प्रमुख सोम गुरुङ, गीतसंगीत विभाग प्रमुख राजबहादुर गुरुङ, आर्थिक विभाग प्रमुख अर्जुन गुरुङ र प्राविधिक विभाग प्रमुखमा सन्तोष ‘कोन्मे’ गुरुङ चयन भएका छन् ।


सदस्यमा ताराकुमारी गुरुङ, मनमाया गुरुङ, आइतराम गुरुङ र विश्वात्मा गुरुङ चयन भएका छन् । ‘गुरुङ फिल्मलाई व्यावसायीकरण र बजारीकरण गर्ने ठूलो जिम्मेवारी मेरो नेतृत्वको समितिमा अएको छ ।

प्रकाशित : भाद्र १६, २०७६ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?