कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

पलेँटीमा लेकाली

काठमाडौँ — कुनै बेला गायक/संगीतकार गणेश रसिक र हिरण्य भोजपुरेको नाम लेकाली समूहसित जोडिएको थियो । पञ्चायतकालमा क्रियाशील यो समूह पछिल्लो समय शिथिल बन्यो । शुक्रबारदेखि यो समूहका गीतहरू नेपालयले सांगीतिक कार्यक्रम ‘पलेँटी शृंखला’ मा प्रस्तुत भइरहेका छन् । यस पटक नेपालयले तीनदिने पलेँटीमा लेकाली समूहलाई प्रस्तुत गरेको हो । 

पलेँटीमा लेकाली

बीसको मध्य दशकमा स्थापना भएको थियो सांगीतिक समूह लेकाली । उतिबेलाको सामयिक प्रचलन र लोक धुनमा आधारित रहेर यो समूहले थुप्रै सांगीतिक सिर्जना गर्‍यो । शुक्रबार साँझ तिनै पुराना र चर्चित १४ वटा गीत कालिकास्थानस्थित नेपालयको ‘आर’ शालामा गुन्जिए ।


लेकालीमा गणेश रसिक, हिरण्य भोजपुरे, उर्मिला श्रेष्ठ, निर्मला श्रेष्ठ, शशी भण्डारी, इन्द्रनारायण मानन्धर, कमला श्रेष्ठ, नवीनकिशोर राई, नीरा श्रेष्ठ, न्हुच्छेबहादुर लगायतको संलग्नता थियो । यीमध्ये ‘आर’ शालामा उपस्थित नीरा श्रेष्ठ भने स्वास्थ्यका कारण मञ्चमा उपस्थित भइनन् । शशी भण्डारी र कमला श्रेष्ठ दिवंगत भइसके ।


कुनै समय रेडियो नेपालबाट घन्किने लोकप्रिय गीत ‘लहरा पहरा छहराको देश...’ बाट प्रस्तुति थालिएको थियो । गायक रसिकले भोजपुरबाट काठमाडौं आउँदाको विगत सम्झँदै त्यति बेला चर्चित सांगीतिक समूह ‘राल्फा’ को पनि सन्दर्भ निकाले । खासमा रसिकले राल्फाबाटै आफ्नो यात्रा थालेका थिए । पारिजात, रायन, रामेश, मञ्जुल, अरिमलगायतका व्यक्तिहरू सम्मिलित ‘राल्फा’ बाट पृथक् भएपछि नै हिरण्य भोजपुरेसँग मिलेर रसिकले लेकाली समूह सुरु गरेका थिए । यो प्रसंग जोड्दै उनले ‘हुस्सुले छोपेको सहर...’ गीत सुनाए । यसपछि अतिथि गायिकाको रूपमा मीना निरौलाले भोजपुरेको गीत ‘म सानो मेरो मन सानो...’ सुनाइन् । रसिकले सृजना गरेका दुईवटा युगल गीतमा पनि मीनाले साथ दिइन् ।


उर्मिला श्रेष्ठ र मीनाको स्वरमा सजिएको ‘खोलाको तीरमा...’ र ‘काफल पाक्यो...’ पछि लोकशैलीका गीत प्रस्तुत गरिए । ‘ए है, है आज भेडाबाख्रा कता लाने...? ’, ‘त्यो माथिबाट को मान्छे झर्‍यो, ए मीतज्यू...’, ‘बस बस रे...’, ‘हर हर महादेव पानी देऊ...’ र ‘झाँक्री गीत...’ उत्तिकै रोचक थिए । प्रस्तुतिका लागि वाद्यवादनतर्फ किबोर्डमा दिनेश रेग्मी, बाँसुरीमा बलराम समाल, तबलामा सन्देश महर्जन, गिटारमा सुरज प्रधान र प्रकसनमा सुन्दर महर्जनले साथ दिएका थिए । प्रस्तुति आइतबार सकिने नेपालयले जनाएको छ ।



प्रकाशित : भाद्र १५, २०७६ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?