कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

‘बाबा मेरो बाबा...’

काठमाडौँ — ‘ह्याप्पी फादर्स डे’ धेरैजसोले शुक्रबार सामाजिक सञ्जालमा यसरी लेख्दै आफ्ना बुवाका तस्बिर पोस्ट गरे । राजधानीको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा भने रंगकर्मी, गायक र कविहरूले बुवाको मुख हेर्ने नेपाली परम्परालाई साहित्य र कलामार्फत उतार्दै सार्थक बनाए ।

‘बाबा मेरो बाबा...’

गीत, कविता, हास्य प्रस्तुतिमार्फत बुवाको महिमा र गाथा गाए । बुवाको जिम्मेवारीलाई चिनाई सम्मान गर्ने परम्परा बसाउने उद्देश्यले कुशेऔंसीको दिन पारेर सिस्नुपानी नेपालले ‘बा १’ शीर्षकको प्रस्तुति दिएको हो ।


दुई घण्टा चलेको कार्यक्रममा स्रष्टाहरूले भावुक हुँदै बुवाको बखान गरे । नगेन्द्र राईको समूहको वाद्यवादन प्रस्तुति, सत्य–स्वरूप आचार्य, शिशिर योगीलगायतको गायन प्रस्तुति मर्मस्पर्शी थियो । कवि विप्लव ढकाल, विप्लव प्रतीक, लक्ष्मण गाम्नागे, रामप्रसाद ज्ञवाली, मित्रलाल पंज्ञानी, बिना थिङ, हेम प्रभासलगायतले बुवाकै संस्मरण र दायित्व समेटदै कविता पस्के ।


शैलेन्द्र खनालको शब्दमा सत्य–स्वरूपले ‘बाबा मेरो बाबा...’ र अर्जुन पराजुलीको शब्दमा शिशिर योगीले ‘आमा, आमा भन्छन् सबै, बा तिमीलाई देख्दैन कोही...’ गाउँदा माहोल नै भावुक बनेको थियो । त्यस्तै बिना थिङले बुवा र छोरीबीच विवाहपछि टाढा भएको सम्बन्ध समेटिएको कविता ‘बा’ र हेम प्रभासको ‘मेरा बा किसान हुन्’ कवितामा पनि दर्शक गम्भीर बने । पंज्ञानी, ज्ञवाली, ढकाल र प्रतीकले पनि बुवासँगको अविस्मरणीय क्षण कवितामा प्रस्तुत गरे । कवि तथा सिस्नुपानीका अध्यक्ष गाम्नागेले एउटा छोराले आफ्ना बुवाका बारे राखेको धारणालाई हास्यव्यंग्य मिसाएर प्रस्तुत गर्दा बुवाकै स्मरणमा डुबेका दर्शकहरू रमाइलोतिर मोडिए । हास्य क्षेत्रकै ‘बुवा’ मदनकृष्ण श्रेष्ठ, हास्य कलाकार मनोज गजुरेलले पनि आ–आफ्ना बुवाका बारे सुनाए । पुरानो समय बुवाहरूले गरेको संघर्ष र अस्तित्वको स्मरण निकै घतलाग्दा थिए । अनुहार नै ठम्याउन नपाउँदै बाल्यकालमै बुवा गुमाएका गजुरेलले आफ्नो कथा आँसु र हाँसो दुवै मिसाएर सुनाए ।


मदनकृष्णले समाजमा रहेका विभिन्न प्रकारका बुवाहरूको प्रवृत्तिमाथि व्यंग्य गरे । जागिरे, गरिब, कुलङ्गार, झुर, पटमूर्ख, अधर्मीलगायतका बुवाहरूको आनीबानीमाथिको व्यंग्य निकै रोचक थियो । सिस्नुपानीका महासचिव टंकराज आचार्यको प्रस्तुति पनि मन छुने थियो । उनले समाज र परिवारमा बुवाको दायित्व र योगदानलाई पनि सम्झिने संस्कृति विकास गर्न कार्यक्रम गरिएको बताए ।


प्रकाशित : भाद्र १५, २०७६ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?