२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

गरिबको लासमाथि महाभोज

सुशील पौडेल

काठमाडौँ — मञ्चको अगाडि टेबलमाथि गरिब किसानको लास लमतन्न छ । लासमाथि मुख्यमन्त्रीको भोज चलिरहेको छ । लासको दायाँ दर्शकको सामुन्ने भर्खरै डीआईजीबाट पदोन्नति भएको प्रहरीको भोज चलिरहेको छ भने बायाँतर्फ विधानसभाको चुनावमा माहोल आफ्नो पक्षमा उर्लने निश्चितप्रायः भएपछिको उल्लासमा अर्को भोज चलिरहेको छ ।

गरिबको लासमाथि महाभोज

मञ्चको कुनामा लासको मृत्युमा उसैको साथी जिम्मेवार रहेको फर्जी बयान बनाउन प्रहरीले पसिना चुहाइरहेको छ । र, नाटक ‘महाभोज’ ले दुई घण्टा लामो यात्राबाट विश्राम लिन्छ ।


भारतीय लेखिका मन्नु भण्डारीले ७० को दशकमा तत्कालीन भारतीय समाजमा देखिएको प्रेस, पोलिटिक्स र प्रहरीको पावरमा कसरी समाज र दीनहीनलाई आफ्नो मुठ्ठीमा कसेर महाभोज चलाइरहेका छन् भनी उपन्यास लेखेकी थिइन् । रंगकर्मी अनुप बरालले सोही उपन्यासमा यति बेलाको नेपाली समाजलाई देखे । कवि विप्लव प्रतीकको भावानुवादमा बरालले निर्देशन गरेको नाटक ‘महाभोज’ को बिहीबार अनामनगरस्थित मण्डला थिएटरमा विशेष मञ्चन गरिएको छ । शनिबारदेखि नाटक एक महिनासम्म नियमित मञ्चन हुने छ ।


दलित, किसानहरूको बाहुल्य रहेको तराई क्षेत्रको एक सीतापुर गाउँमा केहीअघि आगजनी भएको थियो । तर उद्धारका लागि न स्थानीय प्रहरी परिचालन भए, न त आगो निभाउन दमकल नै आयो । गाउँका झुपडी खरानी भए, केही गाउँले आगोमा परी अँगार बने । तर गाउँकै विशु भनिने विश्वेश्वरलाई भने आगजनी कुनै भवितव्य नभई नियोजित थियो भन्ने थाहा छ । प्रमाण छ । तैपनि यसमा कसैको चासो छैन । गाउँले मर्नु र कुकुर मर्नुमा भेद देख्दैनन्, पत्रकार पनि । तर यसपटक हठात् विशुको लास पुलमुनि भेटियो । चुनावको सम्मुख उक्त घटनाले भने राजनीतिक रंग पाएपछि सनसनी फैलिएको छ ।


चुनावका दुवै पक्षका उम्मेदवारहरू विशुको निधनलाई हत्या वा आत्महत्या बनाउने खेलमा आ–आफ्नै तरिकाले लागेका छन् । एकातिर घटनालाई शक्तिको आडमा दबाउने प्रपञ्च चलिरहँदा अर्कोतर्फ पीडितका परिवारलाई रकम दिएर चूप लगाउन खोजिएको छ । गरिब, निमुखाको लासमाथिको राजनीतिले सफलता पाउने संकेत देखिएपछि महाभोज चल्छ ।


सामान्यतः नाटक दुई घण्टाभन्दा लामो बनाइँदैन । तर ‘महाभोज’ ले दर्शकलाई प्रत्येक मिनेट इंगेज्ड गराइरहन्छ । नाटकलाई एपिक रूप र शैलीमा पस्केका बरालले गीत, संगीतलाई पनि प्राथमिकता दिएका छन् । उत्सव बुढाथोकीको संगीतले नाटकको दृश्यअनुसार दर्शकमा ‘मुड क्रिएट’ गराउँछ । स्टेज भव्य छ ।


विमल सुवेदीले परिकल्पना गरेको मञ्चको पृष्ठभूमिमा भित्तामा सुकाइएका गोबरका थुप्रा र टायलहरूले तराई क्षेत्रको घटना बुझ्न सघाउँछ । भेषभूषाले पनि त्यसलाई सघाउँछ । प्रहरीको पोसाक पुराना ढाँचाको हुनुले कथा र घटना पुराना हुन् भन्ने बुझ्न सकिन्छ । निर्देशक बरालले नाटक ‘महाभोज’ मार्फत् समकालीन घटनाहरूलाई ऐतिहासिक समयमा हेर्ने प्रयत्न गरेका छन् ।


मञ्चमा तीन पुस्ताका कलाकारलाई समेटिएको छ । रमेश बुढाथोकी, विप्लव प्रतीकदेखि राजन खतिवडा, सोमनाथ बराल, विजय बराल, बुद्धि तामाङ, सृजना सुब्बा, शेखर चापागाईं, राज न्यौपाने, विकास जोशी, आर्जेस रेग्मी, सुषमा निरौला, सपना चौधरी, उमेश तामाङ, प्रमिला खनाल, सिके विष्ट, रञ्जना ओली, रिजन परियार, सविन घलान, सागर दाहाल, सन्दिप श्रेष्ठलगायतको अभिनय रहेको छ ।


नाटकले भ्रष्ट नेताका कारण विद्रुप राजनीति र खराब सिस्टमविरुद्ध लड्न हिम्मत भएका निःसहाय र निर्बल आम मान्छेको छटपटी, आक्रोश र निराशाको गम्भीर गाथा पस्कने प्रयास गरेको छ । ‘महाभोज’ उपन्यासलाई दुई घण्टा लामो समयमा बुनेर पनि दर्शकलाई चुस्त प्रस्तुतिमार्फत् नाटकबाट टसमस हुन नदिनु निर्देशक बरालको खुबी मान्न सकिन्छ ।


नाटक शनिबारदेखि नियमित मञ्चन हुँदै छ ।

प्रकाशित : भाद्र १३, २०७६ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?