कजरी तीज
बाँके — तीजको चहलपहल बढदो छ । यस्तो रमझमका बेला जानकी गाउँपालिका ६ की पल्लु लौनियारलाई बिहेको पहिलो वर्ष याद आइरहेको छ । त्यतिबेला उनले पतिको मुखै देखिनन् । घुम्टो ओढेर बिहे गरिन् । पतिले माइतीमा छोडिदिए ।
‘गौना’ परम्परा पूरा गरेपछि लिन आउने आशमा उनले प्रतीक्षाका धेरै पल बिताइन् । त्यस वर्ष कजरी तीज पर्यो । श्रीमान् आएर माइतीबाट घरमा लैजाने विश्वासमा उनी कजरी तीजमा निर्जल व्रत बसिन् । ‘पतिका रस्ता देखते देखते आँख भर गइथी,’ उनले विगत सम्झिँदै भनिन्, ‘व्रत बेठी पर, दो साल वाद लेने आए ।’
अहिले हिन्दु महिलाले मनाउँदै आएको हरितालिका होस् या कजरी तीज । दुवै पर्वसित नारीका वेदना जोडिन्छ । मनाउने शैली, परम्परा र संस्कृति भने भूगोल र समुदायअनुसार फरक पाइन्छ । पहाडिया समुदायका महिलाले माइत जान रुचि राख्ने पर्वका रूपमा लिइने तीज मधेसमा भने पतिको घर बस्न जाने आशा र विश्वाससहित व्रत बस्ने गरेको लौनियारले सुनाइन् । तीजमा माइत जानुपर्छ भन्ने मान्यता उनीहरू राख्दैनन् । बरू घरमै श्रीमान्का साथमै राखेर पूजा गर्ने चाहना राख्छन् ।
फुलटेक्रा ७ की ६० वर्षीया आरती प्रजापतीले कजरी महिलाले विरह पोख्ने पर्व भएको बताइन् । १३ वर्षको उमेरमा बिहे गरेकी उनलाई माइतमा बस्नुपर्दा गहिरो पीडा थियो । पतिको घरबाट लिन आउँछु भन्दाभन्दै पाँच वर्ष लगाए । घरमा काम गर्न सक्दिन भनेर लिन नआएको उनले बताइन् । उनका अनुसार त्यसबेला आमाले तीजमा भोकै राखेकी थिइन् । बिहेको दिन लुगामा सिन्दुर परेको थियो । त्यही लुगा लगाएर व्रत बस्ने गरेको उनले सुनाइन् । ‘अचेल देखासिकी गर्न थाले,’ उनले भनिन् । उमेरले पाको बनेपछि उनी अब व्रत बस्न नसकेपछि तिनै पुराना साडी हेरेर विगत सम्झिने गरेकी छन् ।
पिप्रहवा ६ की ३० वर्षीया लाजमती लौनियारको तीजमा व्रत बस्ने तरिका बेग्लै छ । दर खाने दिन उनी दही र केरा खान्छिन् । भोलिपल्ट दिनभरि व्रत बस्छिन् । मधेसी समुदायमा तीजका बेला नाचगान गर्न सजिलो छैन । खुला समाज नहुँदा नाच्न नपाइने उनले बताइन् ।
पछिल्लो समय भने पहाडिया दिदीबहिनीले तीज गीतमा सामूहिक नाच्ने संस्कृतिको प्रभाव बढदै गएपछि नाच हेर्न जाने आँट पलाउन थालेको उनले सुनाइन् । ‘नाच्न पाइँदैन, हेर्न भने लुकेर जान्छौं,’ उनी भन्छिन्, ‘व्रत बसेको दिन सुत्नु हुँदैन भन्ने परम्परागत मान्यता छ ।’ उनका अनुसार पनि कजरी तीजमा मधेसका महिला माइत जानैपर्ने ठान्दैनन् ।
घरमै बसेर व्रत बस्ने गर्छन् । धेरै विवाहित महिला श्रीमान् लिन आउने गौनाको पर्खाइमा हुने गरेको लाजमतीले सुनाइन् । ‘मधेसी समुदायमा गौना नहुँदा विवाहित छोरी माइतीमै बस्नुपर्ने पुर्ख्यौर्ली चलन थियो,’ उनले भनिन्, ‘आमाले त्यसैको वेदना भुलाउन कजरी तीज बसेको भन्नुहुन्थ्यो ।’
संस्कृतिविद् एवं अवधी संस्कृति प्रतिष्ठानका अध्यक्ष विष्णु कुमालका अनुसार तीज पर्व नारी चेतना, संवेदना, संस्कृति र अध्यात्मसँग जोडिएको छ । मधेसी समुदायमा परम्परादेखि कजरी तीज मनाउँदै आए पनि यसको चर्चा धेरै भएको पाइँदैन । उनका अनुसार हल्ला गरेर पर्व मनाउँदैनन् । एकै दिन तीज मनाउँछन् । नजिकैको शिव मन्दिरमा पुग्छन् र पूजाआजा गर्छन् ।
तडकभडकदेखि टाढा हुने भएकाले कजरी तीज ओझेलमा पर्दै गएको उनले सुनाए । ‘व्रतले मान्छेलाई आध्यात्मिक बनाउँछ,’ उनले भने, ‘तर, अहिले तीज पर्व आध्यात्मिकभन्दा फेसनतिर बढी ढल्किँदै गएको छ ।’ भारतको राजस्थान कजरीको उद्गम थलो भएको कुमालले बताए । उनका अनुसार राजस्थानमा यो तीज धुमधामका साथ मनाउने गरिन्छ । त्यहाँबाट महारानी, रानीहरू नेपाल आए । उनीहरूले यहाँ पनि त्यही संस्कृति भित्र्याए । कुमालका अनुसार मधेसी समाजमा भदौ महिनालाई विरहको महिनासमेत भन्ने गरिन्छ । गीत नै गाइन्छ–
‘अरी बेहना अखिया हे प्यारी प्यासी
मन वा मा पुरण मासि
अज हु ना आए
मेरे वालमा...।
वियोगमा परेका महिलाले यस्तै गीत गाएर पीडा पोख्ने परम्परागत पर्व कजरी तीज भएको उनले बताए ।
फेरिँदै शैली
नेपालगन्ज उद्योग वाणिज्य संघकी सदस्य रमा रानी वैश्यले मधेसी समुदायमा तीजको अर्थ कम खर्चमा बढी आध्यात्मिक बन्ने रहेको बताइन् । पछिल्लो समय टिकट काटेर तीज मनाउने प्रवृत्तिप्रति उनी खिन्न छन् । ‘कतिपय तीजे कार्यक्रममा जाँदै जान्नँ,’ उनले भनिन्, ‘भडकलो र खर्चिलो पर्व दीर्घायु हुँदैन ।’
गरहगना र शृंगारका सामानमा मात्रै लगानी गर्ने सोचले महिलाको आर्थिक उन्नति नहुने उनले बताइन् । ‘मेरी आमाले तीज भनेर कहिल्यै साडी किन्नुभएन, न त गहना,’ उनले भनिन्, ‘त्यो संस्कारबाट आएकी मलाई अहिले नयाँ लुगाबिना तीज मनाउन लाज लाग्ने भइसक्यो ।’
त्यस्तै, उद्यमी सरिता गुप्ता पहाडिया मूलकी हुन् । उनले मधेसी समुदायमा बिहे गरेर आएपछि कजरी तीजको अर्थ र मर्म बुझेको बताइन् । ‘मधेसका महिला व्रतमा एकचित्त भएर लाग्छन्,’ उनले भनिन्, ‘महिनौं तीज मनाउने विकृतिबाट उनीहरू टाढै छन् ।’
प्रकाशित : भाद्र १२, २०७६ ०८:२९