कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

पानी रंगमा चार देश

सुशीला तामा‌ङ

काठमाडौँ — गाउँको घर, काठबाट बनेको चिटिक्कको आँखीझ्याल । कलात्मक रूपमा झुन्ड्याइएका मकैका घोगा उत्तिकै लोभलाग्दा । माटो बग्दै गरेको पहाड, पहेँलो र बैजनी रंगमा फुलेका फूल ।

पानी रंगमा चार देश

यस्ता लोभलाग्दो दृश्य नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा हेर्न सकिन्छ । ‘अमिटी’ शीर्षकमा चार देशका कलाकारको सिर्जना प्रदर्शनीमा राखिएका छन् ।


नेपाल, चीन, भारत र बंगलादेश गरी चार देशका ८० चित्रकारका सिर्जना प्रदर्शनीमा हेर्न सकिन्छ । कलात्मक र प्रभावका दृष्टिकोणबाट चिनियाँ कलाकृति निकै सुन्दर छन् । चियान वाङले बनाएको फूल, छिङ चोउको माछा चित्र, तियाङ लिउको पहाडी दृश्यचित्र, पेङ गोको मनोरम खोलाको दृश्यले मन छुन्छ ।


प्रदर्शनीमै भेटिएका अग्रज कलाकार मुकेश मल्लले चिनियाँ कलाका अगाडि अन्य कलाकृति फिक्का बताए । ‘सधैं देखिरहेको विषय सूक्ष्म विश्लेषण गरेर उनीहरू अगाडि बढेको पाइन्छ,’ उनले भने, ‘ठूलो क्षेत्रभन्दा सानो भागलाई ओगटेर कलामा प्रस्तुत गर्ने शैली उत्कृष्ट लाग्यो ।’ उनका अनुसार रंगको हार्मोनी, विषयवस्तुको छनोट, सिर्जनशील पाटो र मिहिनेतको हिसाबले चिनियाँ कला अब्बल छन् ।


इन्टरनेसनल वाटर कलर सोसाइटी नेपालले हरेक वर्ष गर्दै आएको कला प्रदर्शनीअन्तर्गत यसपटक ८५ कलाकृति छन् । वाटर कलर माध्यममा तयार गरिएका चित्रमा प्रायः प्रकृति, धर्म र मानवको दैनिकी उतारिएको छ ।


नेपालबाट केके कर्माचार्य, डिराम पाल्पाली, लालकाजी लामा, विपिनकुमार घिमिरे, बुद्धि गुरुङ, बाबु साइँला, सुषमा राजभण्डारी, कान्छाकाजी भासिमा, केशवराव खनाल, भीम श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ, विनोद गुप्ता, विक्रम प्रजापती, वासुदेव प्याकुरेल, दीपेन्द्रमान बनेपाली, सुरेश स्याङ्तान, मनोज तामाङलगायतका चित्रकारहरूले वाटरकलरमा विभिन्न धार्मिक स्थलदेखि मुहारचित्र र दृश्यचित्र उतारेका छन् ।


भारतीय चित्रकारको कलाकृतिमा पनि नेपालकै धार्मिक स्थलको चित्रण पाइन्छ । विक्रान्त सितोलले भूकम्पपछि क्षतिग्रस्त काठमाडौं वरिपरिको क्षेत्र कलामा समेटेका छन् भने समीर नाधाफ, सन्दिप यादवले र शैलेश डी मेस्रमले पशुपति क्षेत्रलाई प्रस्तुत गरेका छन् ।


बंगलादेशका कलाकारले प्रकृति र सामाजिक जीवनलाई केन्द्रमा राखेर कलामा देखाएका छन् । कलाकै माध्यमबाट सामाजिक, धार्मिक, प्राकृतिक, सांस्कृतिक पक्षहरूको आदानप्रदान गर्ने उद्देश्यले प्रदर्शनी गरिएको सोसाइटीका नेपाल अध्यक्ष तथा चित्रकार एनबी गुरुङले बताए ।


कलाकारबीच कलाको शैली, स्तर, माध्यमको तुलना गर्ने अवसर प्रदर्शनीले जुराइदिएको अर्का चित्रकार डीबी राईले बताए । दीपेन्द्रमान बनेपालीले यस प्रकारको प्रदर्शनीले कुन देशको कलाको स्थान कहाँ छ भन्ने कुरा प्रस्ट हुने बताए । प्रदर्शनी यही भदौ १७ गतेसम्म जारी रहने छ ।

प्रकाशित : भाद्र १२, २०७६ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?