३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सेलो, धिँमे र हाकुपटासी

काठमाडौँ — जहाँ नेपाली, त्यहाँ संस्कृति । २५ औं अन्तर्राष्ट्रिय आदिवासी दिवसका अवसरमा क्यानडाका नेपालीहरूले आफ्नै भेषभूषा, लोकनृत्य र संस्कृति प्रस्तुत गरे ।

सेलो, धिँमे र हाकुपटासी

नेप्लिज जनजाति एसोसिएसन अफ क्यानडाले मिसीसागा सहरको मेडोभेलस्थित कन्जरभेसन पार्कमा नेपाली आदिवासी समुदायको सांस्कृतिक पहिचान प्रस्तुत गरेको हो ।


एसोसिएसनले विज्ञप्तिमा जनाएअनुसार पहिलो पटक गरिएको कार्यक्रममा तामाङ, हृयोल्मो, गुरुङ, मगर, शेर्पा, नेवार, किरातलगायतका नेपाली आदिवासी जनजाति समुदायले परम्परागत गीत, नृत्य र भेषभूषासहित आआफ्ना सांस्कृतिक झाँकी प्रस्तुत गरेका थिए ।


नेवारी धिमे बाजा, हाकुपटासी, तामाङ सेलो, स्याब्रुलगायतको प्रस्तुति लोभलाग्दो थियो । गुरुङ समुदायले राडी पाखीसहित प्रस्तुति दिएको थियो । मुख्य पाहुना थिए, क्यानडाका फस्ट नेसन लिडर केथ म्याकक्रेडी । उनले सांस्कृतिक सहकार्यका लागि आफूहरू सदैव तयार रहेको बताए । एनआएनए क्यानडाका सभापति चिरञ्जीवी घिमिरेले पनि कार्यक्रमको प्रशंसा गरे ।


आदिवासी दिवसका संयोजक रश्मि थापा मगरका अनुसार अमेरिकास्थित मिचिगन युनिभर्सिटी, राजनीतिक विभागका प्राध्यापक डा. महेन्द्र लावतीसँगै जनक चेम्जोङ, सुरेन्द्र लावती, नवराज गुरुङ, चन्द्र राई, डा. हरि गुरुङ, एसोसिएसनका सभापति वीरकाजी गुरुङलगायतले आदिवासी जनजातिको विषयमा प्रकाश पारे । करिब चार सय जनाको उपस्थिति रहेको कार्यक्रममा विभिन्न समुदायले नेपाली खानासमेत पस्केका थिए ।


क्यानडास्थित हृयोल्मो समाज, नेवाः गुठी, मगर संघ, शेर्पा किदुग, तामाङ सोसाइटी, तमु धिँ र किरात कम्युनिटी लगायतका संस्थाहरूले सहकार्य रहेको कार्यक्रमको विभिन्न सेसन गोबा राई, गिरी बुढाथोकी र ऐश्वर्य राईले सञ्चालन गरेको रामकाजी मोक्तानले बताए ।

प्रकाशित : भाद्र १२, २०७६ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?