फस्टाउँदै “लाइभ म्युजिक”

दिनभर काम तथा अध्ययनमा व्यस्त हुनेलाई साँझ क्याफेमा हुने लाइभ म्युजिकले मनोरञ्जन प्रदान गर्नुका साथै रिफ्रेस गराउँछ
सन्जु पौडेल

रूपन्देही — योगीकुटीका युवा ईश्वर मल्ल फुर्सद मिल्नासाथ बुटवलस्थित लाइम एन्ड लेमन क्याफेमा पुग्छन् । उनी प्रत्यक्ष सांगीतिक प्रस्तुति 
(लाइभ म्युजिक) हुने दिन छुटाउँदैनन् । क्याफेमा शुक्रबार भेटिएका उनले परिकारको स्वाद र सांगीतिक कार्यक्रमले नियमित ग्राहक बनाएको बताए ।

फस्टाउँदै “लाइभ म्युजिक”

‘साथीभाइसित भेटघाट र रमाइलो गर्न आइन्छ,’ उनले भने, ‘क्याफेको मुख्य आकर्षण लाइभ म्युजिक हो । परिकारले पनि लोभ्याउने गर्छ ।’ पारिवारिक वातावरणमा परिकार चाख्दै गीत सुन्दा आनन्द आउने उनले सुनाए ।


क्याफे कल्चरमा रम्ने उनी एक्ला होइनन्, टिन एजर र युवाको आकर्षण झन्झन् बढदो छ । यहाँ घर बिराएर क्याफे र रेस्टुरेन्ट खुलेका भए पनि भरिभराउ हुन्छन् । युवाको जीवनशैली पनि फेरिएको छ । क्याफेमा गीतसंगीतले फरक माहोल बनाउने भएकाले मजा लिन रुचाउने गरेको मल्लले बताए । सांगीतिक माहोलमा पेय पदार्थसँगै हुक्का युवाको रोजाइमा पर्ने गरेको छ । मणिग्रामका आस्तिक कोइराला साँझमा प्रायः क्याफेमा भेटिन्छन् । उनीसँग साथीहरू आएका हुन्छन् । ‘दिनभरि घरमा बसेर पढिन्छ,’ उनले भने, ‘साँझमा साथी भेट्ने र रमाइलो गर्ने ठाउँ क्याफे हो ।’ रोजाइमा लाइभ म्युजिक भएको क्याफे पर्ने उनले सुनाए ।


क्याफेमा भेटिएका रमेश थापा लाइभ म्युजिकलाई मुड फ्रेसको माध्यम ठान्छन् । ‘काम गर्दागर्दा अलि थकान महसुस हुन्छ । साथीभभाइ जम्मा भइन्छ,’ उनले भने, ‘संगीतमा रमाउँदा थकान पनि मेटिन्छ । यसले रिफ्रेस गर्छ ।’ साताका सबै दिन साँझमा क्याफेमा जमघट हुने गरेको उनले बताए । उनीहरू एउटैमा भन्दा फरक क्याफेमा गएर रमाइलो गर्छन् । ‘ढ्याङढुङ आवाज भएको भन्दा शान्त खालका रोम्यान्टिक गीत बज्दा आनन्द लाग्छ,’ सन्दीपले भने, ‘टिन एजरको भन्दा शान्त गीत मन पर्छ ।’ अहिलेका अधिकांश युवाको भीड लाइभ म्युजिक क्याफेमा देखिन्छ ।


एक करोड रुपैयाँ लगानीमा लाइम एन्ड लेमन क्याफे सञ्चालन गरेका युवा सागर पौडेलले सन् २०१४ देखि लाइभ म्युजिकको सुरुआत गरेका हुन् । सुरुमा रेस्टुरेन्टको संरचना म्युजिकका लागि उपयुक्त नभएपछि केही समय सांगीतिक माहोल रोकियो । खाजाका परिकारका हिसाबले ग्राहक आउने भए पनि संगीतमय वातावरण ग्राहकको रोजाइमा बढी परेको उनले महसुस गरे ।


‘एक दिनमा एक सयभन्दा बढी ग्राहक आउँछन्,’ उनले भने, ‘लाइभ म्युजिक व्यवसायमा प्लस प्वाइन्ट बनेको छ । साथमा सेवा दिने शैलीसमेत ग्राहकले हेर्ने गरेका छन् ।’ टिनएजर भाइबहिनीले रेस्टुरेन्टको फेसबुक पेजमा नै कुन ब्यान्ड आउने भन्ने जानकारी लिएर टेबल बुक गर्ने गरेको उनले सुनाए । क्याफेमा प्रत्येक शुक्रबार ह्यापी विकेन्डका रूपमा लाइभ म्युजिक आयोजना गरिरहेको उनले बताए ।


यस्तै बुटवलकै द कन्सेप्ट रेस्टुरेन्ट पनि लाइभ म्युजिक सञ्चालन गर्न मिल्ने गरी स्थापना गरिएको छ । प्रत्येक साँझ सांगीतिक प्रस्तुति गरिन्छ । डिजे प्रस्तुति र डान्स पार्टीसमेत आयोजना हुन्छन् । कन्सेप्ट संरचनाले पनि ग्राहक तान्न सफल देखिन्छ । यो क्लब भएकाले दिनरात युवाको भीड लाग्ने गरेको छ ।


मिलनचोकमा रहेको ग्यालेक्सी क्याफेमा हरेक साँझ सांगीतिक माहोलमा रमाउनेको भीड लाग्छ । क्याफेमा आउने ग्राहकले लाइभ म्युजिक सञ्चालन गर्न सुझाव दिएपछि सुरुआत गरिएको सञ्चालक नीलकण्ठ अधिकारीले बताए । ‘१८ देखि ४० वर्ष उमेर समूहका ग्राहकले सांगीतिक वातावरण खोजेकाले सोहीअनुसार अघि बढ्यौं,’ उनले भने, ‘हरेक साँझ युवाहरू गीतमा रमाउँछन् ।’


राजमार्ग चौराहा नजिकै खुलेको ओजस क्याफेको सजावट आकर्षक छ । ओजसले युवा लक्षित गरेर क्लब संचालन गरेको छ । गीत मात्र सुन्नेका लागि लाइभ म्युजिकको व्यवस्था गरिएको छ । टिनएजरका लागि क्लबमै ब्यान्ड म्युजिक हुने र शान्त खोज्नेका लागि एक्वेस्टिक म्युजिकल वातावरण तयार गरिएको सञ्चालक सुमन खरेलले बताए । छोटो समयमै ग्राहकको मन जित्न सफल भएको भन्दै उनले अहिलेका सानादेखि ठूलो उमेर समूहले म्युजिकल वातावरण चाहने गरेको उनले सुनाए ।


जिल्लाभरि अहिले सञ्चालन भइरहेका क्याफे तथा रेस्टुरेन्टमा लाइभ म्युजिक ट्रेन्ड बनेको छ । व्यवसायीले क्याफे सञ्चालनको सोच बनाउँदा नै प्रत्यक्ष सांगीतिक प्रस्तुतिका लागि हल बनाउने गरेका छन् । खानाको स्वाद, सेवाको पाटो महत्त्वपूर्ण भए पनि म्युजिकल वातावरण महत्त्वपूर्ण बनेको व्यवसायीको भनाइ छ । लाइभ म्युजिकसँगै युवावर्गको मुख्य रोजाइ हुक्का र पेयपदार्थ बनिरहेका छन् ।


ब्यान्डको व्यस्तता

क्याफे कल्चरले स्थानीय सांगीतिक ब्यान्डलाई व्यस्त तुल्याएको छ । क्याफेमा गीत प्रस्तुत गर्ने अवसर मिलेपछि पुराना ब्याण्ड ब्युँतिएका छन् । नयाँ ब्यान्ड स्थापना गर्ने क्रम पनि बढेको छ । कार्यक्रम सञ्चालन गरेपछि पारिश्रमिक मिल्न थालेपछि उनीहरू हौसिएका हुन् ।


बुटवलमा रहेको नाद ब्यान्ड हरेक साँझ प्रस्तुतिका लागि पुग्छ । यसबाटै आफूहरू रोजगारयुक्त भएको र युवा जमातबीच परिचित भएको ब्यान्डका भोकलिस्ट विशाल आत्रेयले बताए । ‘यसले आम्दानीको स्रोत बढै गएको छ,’ उनले भने, ‘यहाँ स्थापना भएका ब्यान्ड पनि अहिले लाइभ म्युजिक सञ्चालन गर्ने क्याफेसरह स्थापना भइरहेकाले प्रतिस्पर्धा बढेको छ ।’


रेस्टुरेन्टमा आउने ग्राहकको मन जित्ने गीतसंगीत गाउन र बजाउन सके व्यावसायिक हिसाबले चल्न सकिने उनले बताए । अंकिता पुन र उनको ब्यान्डका सदस्यको दिनचर्या हरेक साँझ क्याफेमै रमाइलो गरी बित्छ । आफ्नो इच्छालाई पूरा गर्न पनि क्याफे सहयोगी बनेको अंकिताले बताइन् । ‘गाउन र बजाउन खुसी लाग्छ, सन्तुष्टि मिल्छ,’ उनले भनिन् ।

प्रकाशित : भाद्र ११, २०७६ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?