१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

फेरि बिग्रियो सलमान–सञ्जय सम्बन्ध

काठमाडौँ — ठिक पाँच महिनाअघि सलमान खानले ट्वीट गरेका थिए, ‘२० वर्ष भएछ । तर पनि म खुसी छु, सञ्जयलीला (भन्साली) र म अन्ततः नयाँ फिल्मसहित आउँदै छौं, इन्साअल्लाह ।’ 

फेरि बिग्रियो सलमान–सञ्जय सम्बन्ध

सन् १९९९ मा ‘हम दिल दे चुके सनम’ पछि सलमान र सञ्जयको फिल्म ‘इन्साहल्लाह’ मा टिमअप हुँदै थियो । सलमानको अपोजिटमा खेल्ने भनिएकी आलिया भट्टका लागि भने निर्देशक र अभिनेता दुवैसँग पहिलोपटक सहकार्य हुँदै थियो । आलियाले खुसी हुँदै भनेकी थिइन्, ‘म नौ वर्षकी थिएँ, जब पहिलो पटक सञ्जयलीला भन्सालीको अफिस गएकी थिएँ । सपना साकार हुँदै छ ।’


तर यो खुसी पाँच महिना पनि टिकेन । यतिबेला ‘इन्साअल्लाह’ निर्माण स्थगित भएको घोषणा गरिएको छ । सलमान–सञ्जयबीचको उतार–चढावपूर्ण सम्बन्धले दुई दशकपछि पुनः हुन लागेको सहकार्यले मूर्त रूप लिन पाएन । सञ्जयले सलमानलाई फिल्मको पहिलो भाग मात्रै थाहा दिएर क्लाइमेक्स गोप्य राखेकोदेखि २०२० को ईदमा रिलिज गरिने सलमानको घोषणामा आपत्ति जनाउँदै उक्त मितिमा फिल्म ल्याउन नसक्ने बताएको भन्ने अड्कलबाजी गरिएको छ । ‘इन्साअल्लाह’ रोकिएपछि खानले भनेका छन्, ‘मेरो बारेमा यति धेरै नसोच्नुस्, म दिलमा आउँछु र ईदमा पनि ।’


अभिनेता सलमान र निर्देशक सञ्जयबीचको सम्बन्धमा आएको आरोहअवरोह यो पहिलो भने हैन । सञ्जयले सन् १९९६ मा फिल्म ‘खामोसी’ बाट निर्देशनमा डेब्यु गरेका थिए जसमा सलमान र मनीषा कोइरालाले अभिनय गरेका थिए । त्यसपछि सञ्जयले दोस्रो फिल्म ‘हम दिल दे चुके सनम’ मा पनि सलमानलाई दोहोर्‍याए भने यसपटक अभिनेत्रीमा ऐश्वर्या रायलाई लिए ।


फिल्म सफल भयो । छायांकनकै क्रममा सलमानले फिल्मको इन्डिङ ऐशले अर्का अभिनेता अजय देवगणसँग नगई आफूसँग आउनुपर्ने माग गरेपछि सम्बन्ध बिग्रियो । सञ्जयले ‘देवदास’ मा ऐश्वर्यालाई दोहोर्‍याए । पछि फेरि सम्बन्ध सुध्रिँदै गइरहेका बेला सञ्जयले ‘बाजिराव मस्तानी’ प्रोजेक्टका लागि ऐश्वर्या र सलमानलाई लिने मोटामोटी तय भएको थियो ।


तर दुवैको ब्रेकअपपछि सञ्जयले ऐशको रोल करिनालाई अफर गरे । तर जब सलमान र करिनाले ‘क्यूँकी’ साइन गरिदिए, सञ्जयले उक्त प्रोजेक्ट नै रोकिदिए । १२ वर्षपछि पुनः उक्त प्रोजेक्ट ब्युँताएका सञ्जयले यसपटक भने दीपिका पादुकोण र रनवीर सिंहलाई लिइदिए । यसले पनि सलमानलाई क्षुब्ध बनायो । निर्देशनमा सञ्जय चम्कँदै थिए, अभिनेतामा सलमानको जगजगी थियो । यस्तोमा दुईजना दुई ध्रुवमा सधैं बसिरहन सक्ने अवस्था पनि थिएन ।


सम्बन्ध सुधार्न सलमानले फेरि नयाँ उपाय अपनाए । सञ्जयलाई क्रिस्टोफर नोलानको फिल्म ‘द प्रेस्टिज’ को डीभीडी उपहार दिए । सञ्जयले उक्त फिल्मको रिमेक बनाउने भए, ‘गुजारिस’ । सलमानको आशा तब टुट्यो, जब सञ्जयले उक्त फिल्मका लागि हृतिक रोशन र ऐशको जोडी लिए । फिल्म रिलिजपछि सलमानले फेरि कटाक्ष गरे, ‘फिल्म हेर्न एउटा माखो पनि गएन ।’


तैपनि, रिसराग, छेडखानी एकातिर पन्छाएर फेरि एकपटक सहकार्यका लागि दुवैबाट प्रयास भयो । ‘इन्साअल्लाह’ बन्ने घोषणासँगै दुवैका फ््यानहरू उत्साहित भए । तर अवस्था फेरि उही दोहोरियो । यतिबेला पनि सलमान र सञ्जयबीचको जुँगाको लडाइँमा फिल्म पर्‍यो । रचनात्मक विमति देखाउँदै फिल्म निर्माण नै थाँती राखियो ।

प्रकाशित : भाद्र ११, २०७६ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?