लन्डनमा “मिनी नेपाल”

नवीन पोखरेल

लन्डन — लन्डनस्थित केम्पटन पार्क रेसकोर्स मैदान आइतबार ‘मिनी नेपाल’ बन्यो । नेपाल बिर्साउने गरी आयोजित नेपाली मेलामा हजारौं सहभागी भए । भारत, चीन, मरिसस र ईयू गरी १२ जना कूटनीतिज्ञ पनि मेलाको प्रत्यक्ष साक्षी बने ।

लन्डनमा “मिनी नेपाल”

बेलायतस्थित २७ विभिन्न सामाजिक, जातीय तथा धार्मिक संघसंस्थाले उजागर गरेका मौलिक झाँकीले लन्डन मिनी नेपालमा परिणत भएको थियो । नेपालमै दुर्लभ बन्दै गएको सांस्कृतिक झाँकी देखियो लन्डनमा । सोरठी, घाटु, बालन, लाखे, कृष्ण चरित्र नाच, धान नाच, चुडका, कौडा, रत्यौलीदेखि तीज र टहोंटे पर्व झल्काउने मौलिक प्रस्तुतिले रेस कोर्सको रौनक बेग्लै बन्यो ।


तमुधिं यूकेले ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ नाराका साथ लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा ११ औं मेला गरेको हो । ‘लन्डन नेपालमय देख्दा साँच्चिकै खुसी लाग्यो,’ मेलामा आइपुगेकी बेल्जियमस्थित महिला अभियन्ता एवं व्यवसायी अनुजा प्रधानले प्रतिक्रिया दिइन्, ‘विदेशमा नेपाली कला संस्कृति र पहिचान जोगाउने यो कार्य एकदम सराहनीय छ ।’


नेपाली कला संस्कृति, परम्परा र भेषभूषा झल्काउने नेपाली मेलामा नेपाली खाना, हस्तकला र खाद्य सामग्रीका स्टल पनि राखिएका थिए । सो अवसरमा नेपाली मौलिक कला संस्कृति झल्कने नृत्य प्रतिस्पर्धा भयो भने युवाहरूले आफ्नै ढंगले गीत संगीत प्रस्तुत गरे । मेला हेर्न आएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मेला सबै जाति, भाषी, संस्कृति र धर्म मान्ने नेपालीहरूको साझा कार्यक्रम रहेछ भन्दै आयोजकको प्रशंसा गरे । ‘मानिस जहाँ जाओस्, नागरिकता परिवर्तन हुन सक्छ तर उसको संस्कृति, आदिम भेषभूषा र परम्परागत सोच चिन्तन परिवर्तन हुन सक्दैन,’ मुख्यमन्त्रीले भने ।


नेपाल संघीय शासन प्रणालीको पहिलो चरणमा रहेको बताउँदै उनले बहुसांस्कृतिक, बहुधार्मिक, बहुजातीय र बहुलताभित्र कसरी एकता कायम गर्न सकिन्छ भनेर देशमा संघीय शासन प्रणाली अवलम्बन गरिएको जनाए । उनले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र सांस्कृतिक सहअस्तित्व कायम गर्न संघीय शासन प्रणाली अपनाइएकाले विकासको बाधक अब केही नभएको दाबी गरे । नेपालमा समृद्धि र विकासको युग प्रारम्भ भएको बताउँदै उनले अब सबै एकजुट हुन जरुरी रहेकोमा पनि जोड दिए ।


‘अबको २५ वर्षभित्र नेपालमा कोही गरिब हुने छैन,’ उनले भने, ‘सबै साक्षर हुने छन् । उपचारको अभाव हुने छैन । नेपाललाई मध्यम स्तरको विकसित राष्ट्रको दाँजोमा पुर्‍याउने योजनामा हामी छौं ।’ दुई वर्षभित्र गण्डकी प्रदेशका घरघरमा धारा, इलेक्ट्रिक ओभन, गाउँगाउँमा वाइफाइ र डिजिटल एवं पहिलो साक्षर प्रदेशका रूपमा स्थापित गर्ने पञ्चवर्षीय योजना पनि उनले सुनाए ।


कार्यबहाक राजदूत शरदराज आरणले दूतावासको सहकार्यमा हुँदै आएको मेलाले नेपाली कला संस्कृति र परम्परा विदेशमा पनि जीवन्त राख्न सघाएको धारणा राखे ।


तमुधिं यूके अध्यक्ष नन्दजङ गुरुङले नेपाली मेलाले नेपाली कला, संस्कृति, सम्पदा, भेषभूषा संरक्षण र सम्वर्धन गर्दै भावी सन्ततिमा हस्तान्तरण गर्न बल पुग्ने विश्वास व्यक्त गरे । ‘मेलाले सबै नेपालीको पहिचान प्रतिविम्बित गरेको छ,’ उनले भने, ‘भाषा र संस्कृति हाम्रो पहिचान भएकाले यसको संरक्षण गर्नु हाम्रो दायित्व हो ।’


विभिन्न समुदायबीच अन्तरघुलन र विदेशी कूटनीतिज्ञहरूको उपस्थितिले नेपालबारे अन्तर्राट्रिय प्रचारप्रसार एवं पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने विश्वाससमेत उनले व्यक्त गरे ।


मेलामा उत्कृष्ट झाँकी र नृत्य प्रस्तुत गर्ने सिक्लेस पार्चे समाज यूकेलाई ११ सय पाउन्डको एम्बासडर कप, ट्रफी, मेडल र प्रमाणपत्र दिइयो । घान्द्रुक समाज यूके रनरअप भएर ५ सय पाउन्ड जित्यो । त्यसैगरी, नृत्यमा उत्कृष्ट सिक्लेस पार्चे समाज यूकेले ५ सय पाउन्ड प्राप्त गर्‍यो ।

प्रकाशित : भाद्र १०, २०७६ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?