१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

तीजको रमझममा क्यान्सरपीडित

सुरेशराज न्यौपाने

नयाँदिल्ली — रोहिणी सेक्टर ५, सोमबजार । क्यान्सर उपचारका लागि दिल्ली आउने अधिकांश नेपालीहरूको घर । यहाँका अधिकांश फ्ल्याटहरूमा नेपाली बिरामी र तिनका आफन्त बस्ने गर्छन् । 

तीजको रमझममा क्यान्सरपीडित

यकिन तथ्यांक नभए पनि सोमबजारमा करिब पाँच सय नेपाली बिरामी र तिनका आफन्त कहिल्यै टुट्दैन । दिनभरि केही दूरीमा रहेको राजीव गान्धी क्यान्सर अस्पतालमा औषधिमूलोका लागि दौडधूप गर्ने यी नेपालीहरू साँझपख भने सोमबजारकै एकजना नेपालीको टुर्स एन्ड ट्राभल्समा भेला भई आफ्ना दुःखसुख साट्ने गर्छन् ।


तर आइतबार साझँको दृश्य भने फरक थियो । उनीहरू केही दूरीमा रहेको पार्कमा भेला भए । उनीहरू आफ्ना रोग र त्यसले दिएको पीडा साटिरहेका थिएनन् । उनीहरू त छमछम नाचिरहेका थिए । सन्दर्भ थियो, नेपाली महिलाको चाड हरितालिका तीजको कार्यक्रम ।


दिल्लीका नेपालीहरूले विभिन्न ठाउँमा बर्सेनि तीजको कार्यक्रम गर्ने गरे पनि सोमबजारमा भने यस्तो कार्यक्रम पहिलो पटक आयोजना गरिएको थियो । ‘सबै नेपालीहरू दुःख पीडामा बसिरहेका छन् । तर, त्यसरी सधैं बसेर त भएन त्यही भएर केही घण्टा भए पनि नेपाली दिदीबहिनीको मुहारमा खुसी छाओस् भन्नका लागि यो कार्यक्रम आयोजना गरिएको हो,’ आयोजक विष्णु शाहीले बताए ।


हुन पनि कार्यक्रममा उपस्थित सबैको अनुहारमा बेग्लै खुसी देखिन्थ्यो । र, जब जब तीजको लहर आयो बरि लै... लगायतका गीतहरू बज्नासाथ नेपाली दिदीबहिनीहरू आफूलाई रोक्न सक्दैनथे र नाच्न सुरु गरिहाल्थे । नाँच्न आनाकानी गर्नेलाई पनि जबर्जस्ती नचाउँथे । अरू नाचेको देखेर भर्खर अस्पतालबाट आएका बिरामीहरूसमेत कम्मर हल्लाउन सुरु गर्थे । कतिपय त मुखमा मास्क नै लगाएर नाचे ।


ढाडको क्यान्सरका लागि विगत तीन महिनादेखि सोमबजारमा बस्दै आएकी धनगढीकी विद्या देउवा खडगा दिउँसो मात्र अस्पतालबाट डिस्चार्ज भएर आएकी थिइन् । केमोका लागि उनी दुई दिन अस्पतालमा भर्ना थिइन् । तर, शरीरमा कमजोरी त्यत्तिकै थियो । तर, उनले तीजको धुनमा आफूलाई थाम्न सकिनन् । मुखमा मास्क लगाएरै भए पनि छमी छमी नाचिन् । जब कि उनका श्रीमान् भने छेउमा बसेर चिन्ता व्यक्त गर्दै थिए– आजै केमो दिएको, ननाचे हुन्थ्यो भनेर ।


तर, विद्याको मनले के मान्थ्यो । छिनछिनमा उनी नाच्न तम्सिहाल्थिन् । जब कि उनको स्वास्थ्यलाई लिएर अरू महिलाहरूले पनि चिन्ता व्यक्त गर्दै थिए । तर, उनले कसैको कुरा सुनिनन् । लगातार नाचिरहिन् । आफ्नो र दिदीबहिनीहरूको खुसीका लागि समेत आफूले रोगको पर्वाह नगरी नाचेको उनले बताइन् ।


‘दुःखमा परेर विदेशमा भएका बेलासमेत तीजको बेलामा नेपाली दाजुभाइ, दिदीबहिनी सबै भेला भएका बेला मैले आफूलाई रोक्नै सकिन् । उपचारको क्रममा भएको दुखाइ र पीडा सबै बिर्सिएँ । आफ्नो माइती र घरको याद आयो,’ विद्याले भनिन् । क्यान्सर रोग लागेको अवस्थामा मानिसक र शारीरिक दुवै हिसाबले तनाव हुने भएकाले पनि त्यसबाट मुक्त हुन आफू नाचेको बताइन् ।


आफ्नो श्रीमानको उपचारका लागि विगत तीन वर्षदेखि दिल्ली धाइरहेकी इल्या भट्टराई पनि के कम । त्यसो त उनलाई भित्रैदेखि नाच्ने मन थिएन । किनकि बुबा (मदनमणि दीक्षित) को ११ दिन मात्र भएको थियो । एक त काठमाडौंबाट आएका केही घण्टा मात्र भएको थियो । धेरैका लागि कार्यक्रम परदेशमा चाडपर्वको न्यास्रो मेट्ने माध्यमसमेत बन्यो ।


‘हामी जहाँ भए पनि हाम्रो देशलाई पनि लिएर जाँदा रहेछौं । देशसँगै रीतिरिवाज र चाडपर्व पनि पुग्दो रहेछ । त्यसमाथि यहाँ त हामी सबै दुःखी छौं । यही दुःखका बीच सानो सुख खोज्ने प्रयास हो । त्यस हिसाबले पनि यसको बढी महत्त्व रहृयो,’ उनले भनिन् । फलोअपका लागि आएकी तारादेवी खतिवडा पनि नाच्न पछि हटिनन् । उनलाई साथ दिइन् सँगै आएकी दिदी शोभा चुँडालले ।


पुरुषहरू पनि के कम ? दुर्गेश थापाको हामी पनि नाच्नुपर्छ बीच बीचमा बोलको गीत बज्ना साथ जुरुक्कै उठिहाल्थे । र, सकिनसकी कम्मर हल्लाउँथे । तिनैमध्येका एक थिए– चितवन अरुणकान्त मैनाली । ‘नेपाली दिदीबहिनी, दाजुभाइलाई केही क्षण भए पनि मनोरञ्जन गराउन कार्यक्रम गरिएको हो,’ मैनालीले भने । आफ्नो भनाइ नसक्दै उनी फेरि नाच्न कस्सिए र साथ दिए अरू उपस्थित पुरुषले । र, फेरि बज्न थाल्यो...बीचबीचमा ।

प्रकाशित : भाद्र १०, २०७६ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?