२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

बालविवाहविरुद्ध सडक नाटक

कालिकोट — सानैमा विवाह भयो । न शिक्षा न रोजगार । बालविवाहले सानैमा गर्भवती भएर बच्चा जन्माउन नसकेर मृत्युको मुखमा पुगेकी किशोरीको कथा समेटेर शनिबार मान्म बजारमा जनजीवन किशोरी समूहका कलाकारले मान्म बजारमा प्रर्दशन गरेको सडक नाटक हेरेका स्थानीयका आँखा रसाए । 

बालविवाहविरुद्ध सडक नाटक

१४ वर्षमा विवाह गरेर १६ वर्षमा बच्चा जन्माएकी खाडाचक्र २ की २७ वर्षीया जयकला विकले आँसु थाम्न सकिनन् । ‘मेरै बारेमा भनेजस्तो लाग्यो,’ उनले भनिन् ‘गाउँका धेरै दिदीबहिनीले भोगिरहेका कुरा नाटकमा देखाउँदा आँसु आइहाले ।’ उनका लगातार ५ छोरी जन्मिएपछि छैटौं सन्तानका रूपमा छोरा जन्मिए । पतिले अर्को छोरा चाहिन्छ भनेर अझै परिवार नियोजन गरेका छैनन् । उनको स्वास्थ्य निकै कमजोर छ ।


खाडाचक्र नगरपालिकाको समन्वयमा स्वास्थ्य रूपान्तरण परियोजनाको सहजीकरणमा गठित किशोरी समूह लामो समयदेखि क्रियाशील छ । १५ वर्षीया साविता पाण्डे र दीपक आचार्य बीचमा भएको बालविवाहले उनको पढाइ छुटेको, घरमा खाना पकाउन नजानेर घरपरिवारले गालीगलौच गर्दै हेला गरेको, सानैमा गर्भवती बनेर बच्चा जन्माउन नसकेर बच्चा खसेकोलगायत समस्या नाटकीय रूपमा देखाइएको थियो । अत्यधिक रक्तश्राव भएर मृत्युको मुखमा पुगेको घटनाले बालविवाह गर्न बाध्य किशोरकिशोरीको चित्र नाटकमा उतार्दा आँसु रोक्न नसकिएको जिल्ला समन्वय समितिका सदस्य ऐना शाहीले सुनाइन् ।


‘सन्देशमूलक नाटकले समाजमा जरा गाडेर बसेको बालविवाहको कुसंस्कार कम गर्न सहयोग पुर्‍याउँछ,’ उनले भनिन् । १८ वर्षमुनिका किशोर किशोरीले अभिनय गरेको सडक नाटकमा सासूको भूमिकामा रहेकी करुणा आचार्यले गाउँमा आमाले गर्ने व्यवहार र छोरी बुहारीले भोग्ने समस्याबारे सचेतनाका लागि अभिनय गरेको सुनाइन् । नाटक हेर्न आएका सहभागी किशोर किशोरीले बालविवाह नगर्ने गराउनेलाई पनि खबरदारी गर्ने सामूहिक प्रतिबद्धता गरेको सहजकर्ता अविसरा देवकोटाले बताइन् ।


सडक नाटकले किशोरकिशारीले भोग्नुपरेको समस्याबारे दुरुस्तै देखाएको नागरिक अगुवा धनबहादुर बटालाले बताए । बालविवाहविरुद्ध समुदायमा कानुनी प्रावधानबारे अभिमुखीकरण गर्नुपर्ने र कारबाही गर्ने प्रहरी प्रशासन पनि निर्मततापूर्वक परिचालन गर्नुपर्ने आवश्यकता देखिएको उनको भनाइ छ । ‘बालविवाहको असर विवाह गर्ने बालबालिकासहित घरपरिवार र समाज सबैमा परिरहेको छ,’ उनले भने, ‘विवाहबारी २० वर्ष पारि कार्यान्वयन गर्न जरुरी छ ।’

प्रकाशित : भाद्र १०, २०७६ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?