‘लाखे’ ले तान्यो दर्शक 

कान्तिपुर संवाददाता

दोलखा — काल्पनिक राक्षसको रूपलाई चित्रण गर्दै नचाउने लाखे नाच यस वर्ष दोलखामा सर्वाधिक रुचिको जात्रा बन्यो । घण्टाकर्णदेखि सुरु भएर कृष्णअष्टमी भोलिपल्टको मध्यरातबाट सम्पन्न गरिने यो जात्रा यस वर्षदेखि दोलखाको जिरी बजारमा पनि सुरु भयो । 

दोलखाको चरिकोटस्थित सातादोबाटोमा प्रदर्शन गरिएको लाखे नाच । तस्बिरः राजेन्द्र मानन्धर/कान्तिपुर

शैलुङको बागखोर बजारमा पहिलोपटक हिलेजात्रा मनाइयो, त्यसमा पनि यो नाच देखाइयो । जहाँ यो नाच निस्कन्छ, त्यहाँ साना उमेरका देखि वयस्कसम्मको भीड बाक्लो हुन्छ । चरिकोटका निजी विद्यालयले विद्यार्थीको आग्रहमा स्कुलस्कुलमै पनि लाखे नचाए ।

स्थानीय भाषामा यो नाचलाई ‘लाखे निकाल्ने’ भनिन्छ । लाखेले जिब्रो निकालेको डरलाग्दो अनुहार आकृतिको पुरुष मखुन्डो लगाएको हुन्छ । चौंरीको पुच्छरको चम्मर गुजुल्टो पारेर फेटाले बाँधेको टाउको पछाडि लामालामा कपालजस्तै झुन्डिएको हुन्छ । जामा लगाएको र पाखुरामा लामा कपडा बाँधिएको हुन्छ । साथमा केही व्यक्ति विभिन्न रमाइला आकारका मखुन्डो लगाएको झुत्रेझाम्रे भेषमा हुन्छन्, त्यसलाई चाहिँ दाउरे भनिन्छ ।

लाखे निकाल्ने व्यवस्था गर्दै आएको चरिकोटस्थित लालीगुँरास युवा क्लबका अध्यक्ष प्रवीण श्रेष्ठका अनुसार चरिकोटको पशुपति डाँडामा जब लाखे नाच्ने बाजा बज्छ, स्कुलबाट केटाकेटी भागेर आइपुग्छन् । त्यसैले स्कुलले पनि बालबच्चालाई रमाइलो गराइदिन यसपटक लाखे निकालेका हुन् । चरिकोट बजारमा लाखे घुम्दा पछिपछि मान्छेको भीडले पछ्याउँछ । लाखे जात्राको अवधिभर करिब महिना दिन घरघरमा बच्चा लाखेजस्तै बनेर नाच्छन् । बच्चाबीच ‘यसरी नाच्यो, उसरी नाच्यो वा दाइ लाखे बन्यो, त्यो दाइ दाउरे बन्यो’ चर्चा नै लाखेकै हुन्छ ।

श्रेष्ठले यस वर्ष निकालिएका विभिन्न जात्रामध्ये लाखे सर्वाधिक रुचाइएको बताए । क्लबले एक महिनासम्म हिलेजात्रा देखाउन युवा परिचालन गर्छ । धर्म, संस्कृति, परम्परा र जात्रा निकाल्न चरिकोट बजारमा उक्त क्लब सक्रिय छ । यस वर्ष पनि उक्त क्लबले लाखे निकाल्यो र विधिपूर्वक कृष्णअष्टमीको भोलिपल्ट थन्क्यायो । समापन गरिने बेलाको नाचलाई लाखे मार्ने भनिन्छ । यो हेर्न हजारौं मानिस मध्यरातसम्म कुर्छन् । श्रीकृष्ण र लाखेको घमसान युद्ध भनिने लाखे मार्ने जात्रा रातको १२ बजेसम्म चल्छ ।

जिरीमा पनि स्थानीय नेवारले आफ्नै तरिकाले लाखे निकाले । जिरी नेवाःदेयः दबुले जात्राको व्यवस्थापन गरेको बाबुराजा श्रेष्ठले बताए । लाखेका साथै ‘घिन्ताङघिसी’ जात्रा पनि पहिलोपटक देखाइएको उनले जानकारी दिए । पहिलोपटक जिरीमा विभिन्न नेवारी मौलिक जात्रालेगुल्जार बन्यो ।

बागखोर बजारमा भने शैलुङ गाउँपालिकाले हिलेजात्रा महोत्सव गर्‍यो । उक्त जात्रामा लालीगुराँस युवा क्लबले लाखे प्रदर्शन गरिदियो । शैलुङ गाउँपालिका अध्यक्ष भरत दुलालका अनुसार दोलखामा हिलेजात्राको परम्परा निकै लामो छ । डेढ शताब्दीअघि फौदसिंह कँडेलले निर्माण गरिदिएको काली भगवती मन्दिर परिसरमा स्थानीयले हिलो खेल्दै जात्रा मनाउने परम्परा बसालेको थियो ।

पछिल्ला वर्षमा हिलो खेल्ने चलन हराउन थालेपछि सांस्कृतिक रंग दिएर जात्रालाई पुनर्जीवित गरिएको हो । ‘नेवार समुदायको लाखे, तामाङ समुदायको सेलोसँगै गुरुङ र मगर समुदायको सांस्कृतिक प्रस्तुतिलाई यसपटकको जात्रामा जोड्यौं,’ दुलालले भने, ‘नयाँ पुस्तामा मौलिक–सांस्कृतिक ज्ञान हस्तान्तरणको उद्देश्यसाथ हामीले महोत्सवलाई सघाएका हौं ।’

प्रकाशित : भाद्र ९, २०७६ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्

तामाङ संस्कृतिबारे ज्ञान महोत्सव

कान्तिपुर संवाददाता

काठमाडौँ — तामाङ संस्कृति, साहित्य, इतिहासदेखि फिल्मसम्मका विषयमा बहस गर्दै चौथो तामाङ ज्ञान महोत्सव सम्पन्न भएको छ । 

राजधानीको भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा सम्पन्न दुईदिने महोत्सवमा सरकारका पूर्वसचिव धनबहादुर तामाङले तामाङ भाषिक कार्यक्रम, समाजशास्त्री लक्ष्मी तामाङले ‘शब्दः एक शक्तिशाली हतियार’, आदिवासी फिल्म निर्देशक संजोग लाफामगरले ‘फिल्ममा तामाङ प्रस्तुति’, काठमाडौं विश्वविद्यालयका प्राविधिक विभाग प्रमुख बालकृष्ण बलले ‘प्रविधिको दृष्टिकोणबाट तामाङ भाषा’ कार्यपत्र प्रस्तुत गरे ।

त्यस्तै निष्णु थिङले ‘सरकारी सेवामा तामाङ जाति’, सोमबहादुर धिमालले ‘तामाङ अमूर्त संस्कृति संरक्षणमा युवाहरूको भूमिका’, कर्म डी लामाले ‘तामाङ सामाजिक आन्दोलन हिजो, आज र भोलि’ र रमेशकुमार तामाङले ‘तामाङ समाजमा पेवा प्रथा’ कार्यपत्र प्रस्तुत गरेका थिए ।

‘तामाङ राजनीतिमा चुनौती’ विषयक छलफलमा मानवशास्त्री मुक्तसिंह तामाङ, संघीय सांसद नवीना लामा, नेपाल तामाङ संघका केन्द्रीय अध्यक्ष केवलबहादुर तामाङ र संघीय समाजवादी पार्टीका नेता रवीन्द्र थिङ सहभागी थिए ।

‘तामाङ साहित्यको चुनौती र संभावनाहरू’ विषयमा चाहिँ साहित्यकारहरू राजु स्याङ्तान, सञ्चु ब्लोन र धनम तामाङले आआफ्नो विचार व्यक्त गरे । महोत्सवमा राणाविरोधी आन्दोलनका पूर्वजनमुक्ति सेना श्यामकुमार तामाङ र लेखिका सुकन्या वाइबाले पुराना पुस्ताका कथा सुनाएका थिए । तामाङ पहिचान दिवसका अवसरमा महोत्सव हुँदै आएको छ ।

प्रकाशित : भाद्र ९, २०७६ ०८:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्