घन्किए नौमती

माधव अर्याल

पाल्पा — टुँडिखेलभरि नौमती बाजा भिरेका व्यक्ति थिए । कोही बाजामा सुर ताल मिलाउँदै थिए भने कतिपयले बाजा मिलाउँदै थिए । केही नरसिंहा जोडन व्यस्त थिए । कतिपय पोसाक मिल्यो कि मिलेन हेर्दै थिए । फरक पोसाकमा सजिएर धेरैले नौमती भिरेका थिए ।

घन्किए नौमती

परम्परागत वाद्यवादकका रूपमा आएका उनीहरू शुक्रबार टुँडिखेलमा दिनभरिजसो रहे । बेलुकी अबेर मात्र पहिलो, दोस्रो हुने समूहबारे नतिजा आएकाले उनीहरूलाई दिनभर टुँडिखेलमा नै टहलिए ।


तयारी मञ्चमा पालैपालो १० समूह प्रवेश गरेर आफ्ना ताल, सुर, गीत र नाच देखाएका थिए । नौमती घन्काएर नाच्दा सबैलाई जुरुकजुरुक बनायो । ‘नौमती घन्किएपछि उठेर ननाची मनले मानेन,’ तानसेन, टक्सारका लीला अर्यालले भने, ‘आफ्नो गाउँकै समूहले बजाएर प्रतिस्पर्धामा भाग लिएका थिए ।’


उनी मात्र होइन, चापपानीका युवराज ढकाल, बौघागुम्हाका वडाध्यक्ष टुकप्रसाद भट्टराई पसिना आउन्जेल नाचे । तानसेन नगरपालिका टुरिज्म एक्सन कमिटीले राखेको नौमती बाजा प्रतियोगितामा धेरैले नौमती बाजा देख्न पाए । फरक डिजाइनका नरसिंहा, ढोलक र थरीथरीका दमाहा पनि देख्न पाए ।


ढोलक पनि अलग्गै थिए । धेरैले नौमती बाजा नदेखेकाले पनि यो देख्ने अवसर भएको कमिटीका संयोजक सागरमान महर्जनले बताए । ‘धेरैले बाजा देख्दा र ताल सुन्दा अचम्म मानेको देखियो,’ उनले भने, ‘पहिलोपटक प्रतिस्पर्धा आयोजना गरेकाले आगामी वर्ष सुधार गरेर लग्नुपर्छ भन्ने केही कुरा मनन भएको छ ।’


पछिल्लो पुस्तामा नौमती बाजाप्रतिको आकर्षण घटदै गएको छ । यही बेला परम्परागत नौमती बाजा संरक्षणका लागि खुला प्रतिस्पर्धा राखिएको हो । नौमती बाजा बजाउने मानिसको समेत अभाव भइरहेको छ । यस्तो प्रतियोगितालाई संस्कृति संरक्षण अभियानका रूपमा लिइएको संस्कृति विज्ञ निर्मल श्रेष्ठले बताए । ‘संस्कृति संरक्षणका लागि राम्रो काम हो,’ उनले भने, ‘बजेटको सही सदुपयोग हुनुपर्छ ।’


उहिले दमाई जातिले मात्र नौमती बाजा बजाउँथे । नौमती बजाउन अहिले अन्य जातिले पनि सिकेका छन् । नौमती नौवटा बाजाको सामूहिक बाजा हो । जतासुकै देख्न पाइने पन्चे बाजाको ठूलो रूप पनि यसलाई भनिन्छ । जसमा चारवटा अरू बाजा थपिएको हुन्छ । यसअन्तर्गत दमाहा, झझ्याली, टयाम्को, ढोलक, सहनाई, कर्नाल, नरसिंहा बाजा हुन्छन् । सहनाई र दमाहाका थप दुई प्रकार थपिएको हुन्छ ।


सहनाई र नरसिंहा फुकेर, ठूलो दमाहा, सानो दमाहा, ढोलक र ट्याम्को ठोकेर तथा झ्याम्टा र मुजुरा एक आपसमा जुधाएर नौमती बाजा बजाइन्छ । नौ जना बाजा बजाउने लोक कलाकारले सुर र ताल मिलाएर एकै पटक बजाउने गरेकाले यो वाद्य समूहलाई नौमती बाजा भनिएको रैनादेवी छहराका केशव दर्नालले बताए । ‘अहिले दमाईबाहेक अन्य जातिले पनि बजाउन सिकेका छन्,’ उनले भने, ‘यसबाट हाम्रो परम्परा पनि जोगिएको छ ।’


तानसेन नगरपालिकाको पहलमा थालिएको यस्तो प्रतियोगिता प्रदेश हुँदै राष्ट्रिय स्तरको गर्ने सोच रहेको तानसेन नगरपालिकाका अधिकृत विष्णु पौडेलले बताए । नौमती बाजाको संरक्षणका लागि उक्त बाजालाई संगीतका रूपमा प्रयोग गरी लोकभाकालाई साथ दिइने गर्छ । नौमती बाजालाई पछिल्लो समय विभिन्न भाकामा बजाउने चलन पनि छ ।


नौमती बाजामध्ये सहनाई बजाउन भने विशेष कला चाहिन्छ । सुरुवात र अन्त्य गर्ने कलाको ज्ञान हुनुपर्छ । प्रतियोगितामा तानसेन नगरपालिका–५, सेतीपोखरीस्थित सेतीपोखरी–धरमपानी नौमती बाजा समूह प्रथम भयो । उसले ५० हजार रुपैयाँ पुरस्कार पाएको छ ।


तानसेन नगरपालिका–७, काजीपौवास्थित लालुपाते नौमती बाजा समूह दोस्रो भयो । उसले २० हजार नगद पायो । तेस्रो हुने तानसेन नगरपालिका–११, बन्दीपोखरास्थित चण्डीका टोल विकास संस्थाले १० हजार रुपैयाँ पुरस्कार पाएको छ । सफल समूहलाई तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।


‘यस्ता प्रतियोगिताले नौमती बाजा र संस्कृति संरक्षणमा सहयोग पुग्ने विश्वास लिएका छौं,’ उनले भने, ‘यसबाट नयाँ पुस्ताले केही सिक्ने अवसर पनि मिलेको छ ।’ संस्कृतिका जानकार मदन देउरालीले स्थानीय लोकबाजा र परम्परागत संस्कृति संरक्षणमा प्रतियोगिताले सहयोग गर्ने बताए । विजयी समूहले भगवती जात्रामा बाजा बजाउनुपर्ने छ ।

प्रकाशित : भाद्र ८, २०७६ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?