अष्टमीको सुम्रौती
बर्दिया — एक पात लर्चा रे
दुई पात लर्चा रे
सखी रे, तीन पात लर्चा
भैनई रे सारा बुंँद
सुम्रौती भाकाको यो गीत पश्चिम तराईका थारू गाउँमा शुक्रबार अपराहृनदेखि गुन्जिरहेको थियो ।
यो क्रम शनिबार बिहान ३/४ बजेसम्म चल्यो । थारू महिलाले विशेष रूपमा मनाउने कृष्णजन्माष्टमी पर्वका दिन यसरी गाइन्छ । सुरुमा कुलदेउता, धर्ती मातालाई गीतमार्फत सम्झिने चलन छ । दोस्रो चरणमा प्रकृतिलाई सम्झिने परम्परा छ । तेस्रो चरणमा भगवान् कृष्णका लीलाका बारेमा परम्परागत गीत गाएर यहाँका बस्तीमा रमाइलो गरिन्छ ।
थारू समुदायलाई प्रकृतिको पुजारी मानिन्छ । उनीहरू लर्चा भनिने एक प्रकारको सागसमेतलाई गीत (सुम्रौती)मार्फत् सम्झिन्छन् । बढैयाताल गाउँपालिका–६ की सुमतरानी चौधरीले लर्चाको साग सम्झिँदै अष्टामीको गीत सुरु गरिन् । ‘अष्टमीको पूजा गरेपछि रातभरि गीत गाएर रमाइलो गर्ने चलन छ । सागपात, कुलदेउता र कृष्ण भगवान्को जीवनमा आधारित गीत गाउँछौँ,’ उनले
अष्टमी मनाउने विधिबारे सुनाइन्, ‘गीत निकै लामो हुन्छ । रात कटेको पत्तै हुँदैन ।’
थारू समुदायले आफ्ना परम्परागत पर्व फरक र खास तरिकाले मनाउँछन् । उक्त समुदाय संस्कृतिको खानी पनि मानिन्छ । अष्टमीको अघिल्लो दिनदेखि तयारी सुरु हुन्छ । बिहानैदेखि गाउँको बडघरको घर, मन्दिर र सबैलाई पूजाका लागि पायक पर्ने व्यक्तिको घरको भित्तामा अष्टिमकी लेखिन्छ ।
बिहानैदेखि ब्रत बसेका युवायुवतीले कृष्ण, रावण, डोली बोकेका डोले, घरको चित्र कोरेर अष्टिमकी बनाउँछन् । सर्प, बिच्छी, घोडा, गाईगोरु, मयूरलगायतका पशुपन्छीको चित्र पनि त्यसमा समावेश गरिएका हुन्छन् ।
त्यससँगै सूर्य, चन्द्रामा, कमलको फूल लगायतका चित्र अटाइएका हुन्छन् । यसरी दिनभरि लगाएर बनाइएको अष्टिमकीमा अपराहृन चार/पाँच बजेबाट पूजाआजा सुरु हुन्छ । पूजा सामूहिक रूपमा गर्ने परम्परा छ । पूजा पनि विशेष तरिकाले गरिन्छ ।
प्रकाशित : भाद्र ८, २०७६ ०८:१३