अक्षरले जोडेको साइनो

कान्तिपुर संवाददाता

काठमाडौँ — बार्‍ह वर्ष अघि कोरियाली कवि किम ह्योङह्यो अन्नपूर्ण ट्रेकिङका लागि नेपाल आइपुगेका थिए । हिमाली कन्दरा, समाज र संस्कृतिको प्रत्यक्ष अनभूति बटुलेपछि उनले कोरियाली भाषामै निबन्धकृति ‘अन्नपूर्ण यात्रा’ निकाले । यही कृतिबाट आएको रोयल्टीबाट किमले तीन नेपाली लेखकलाई कोरिया बोलाए । 

टोलीमा थिए कवि मञ्जुल, दिनेश अधिकारी र प्राध्यापक पद्म देवकोटा । अधिकारी र देवकोटा छिट्टै फर्के, मञ्जुल केही समय बसे । कोरियाली साहित्यकार र चित्रकारहरूको घरघर डुले, अनुभव आदानप्रदान गरे । त्यही बेला दर्जनौं कविता पनि लेख्न भ्याए । दशकअघि लेखेका तिनै कविताको नेपाली र कोरियाली भाषामा सार्वजनिक हुँदै गर्दा बुधबार कवि मञ्जुलभावुक बने ।

‘कवि लि दे उइलाई कस्तो छ ?’ उनले किमलाई सोधे, ‘उहाँको घरमा पुगेको क्षण अहिले याद आयो ।’ कवि मञ्जुल कोरियास्थित कवि उइको घरमा २००७ को अगस्ट २८ तारिख बिहान ७ बजे पुगेका थिए । उइसँग कुराकानी गर्दै उनले ८ बजेर २० मिनेट जाँदा ‘मेरो भाइ’ शीर्षकको कविता लेखेर समर्पण गरेका थिए–
मेरो भाइ, तिमीलाई तनाव भयो भने
दाइलाई सम्झिनु,
उसको अँगालोलाई सम्झनु
बुद्धको महान्को मायालाई सम्झनु, ध्यान गर्नु

यी र यस्तै कविता समेट्दै ‘ब्रहृमाण्ड कविको घर’ दुई भाषामा कृति निकाल्न सघाएका किमले बुधबार बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा मञ्जुललाई ती पुराना दिन मात्रै सम्झाएनन् । उनले गोजीबाट हतार हतार कागजको टुक्रा निकाले र कविता पढ्न थाले, जुन मञ्जुललाई सम्बोधन गरेर कवि उइले लेखिपठाएका थिए ।

वरिष्ठ कवि एवं संस्कृतिविद् तुलसी दिवस, कवि मोमिला जोशी, गीतकार दिनेश अधिकारी र किम स्वयंले ‘ब्रहृमाण्ड कविको घर’ लोकार्पण गर्दै गर्दा अक्षरहरूमार्फत् बनेको दुई देशको लेखकीय सम्बन्धको यसरी भिन्नचर्चा भयो ।
कृतिमा कवि मञ्जुलले उतिबेलै डायरी शैलीमा कोरेका पाँच दर्जन कविता छन् ।

उनका नेपाली कवितालाई कवि किमसँगै मोहन कार्कीले अनुवाद गरेका हुन् । ‘१२ वर्षअघिको योजना बल्ल पूरा भयो,’ किमले भने, ‘म यति खुसी छु कि फेरि अन्नपूर्ण हिमालमा गएर दुई हात उठाउँदै जिन्दावाद भन्न मन लागिरहेको छ । यदि मैले यो काम नगरेको भए, म आफूलाई अत्यन्तै तुच्छ ठानिरहेको हुन्थें ।’ उनकै पहलमा पुस्तक नेपाल कोरिया कल्चर सेन्टरले छापेको हो ।

साहित्यकार दिवसले मञ्जुलले कविता सुन्दर यात्रा वृत्तान्तजस्तै लागेको बताए । प्रकृतिका रूप, पहाड, जंगल, मानवीय सूक्ष्म संवेदना र अनुभूतिलाई अत्यन्तै संवेदनशील कवितात्मक भावमा उतारेको उनले दाबी गरे । ‘कवितामा मानवीय विचार र चिन्तनलाई ठाडो रूपमा नभई स्वाभाविक रूपमा प्रस्तुत गरिएका छन्,’ उनले भने ।

प्रकाशित : भाद्र ६, २०७६ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्

मोफसलबाटै भिडियो र फिल्म

अमृता अनमोल

बुटवल — कलाकारहरू प्रायः काठमाडौंमै बस्न रुचाउँछन् । चलचित्र र म्युजिक भिडियो निर्देशक त राजधानीबाहिर विरलै छन् । मनीष पन्थ भने बुटवलमै बसेर राम्रा चलचित्र र म्युजिक भिडियो बनाइरहेका छन् ।

उनी चलचित्र निर्देशन, लेखन, छायांकन र सम्पादन आफैं गर्छन् । काठमाडौंसँग प्रतिस्पर्धा गर्ने म्युजिक भिडियो बनाइरहेको उनको दाबी छ । वृत्तचित्रमा पनि उनी खारिएका छन् । राजतन्त्रको समाप्तिसँगै नारायणहिटी दरबार संग्रहालयमा परिणत भयो ।

दरबारलाई जनमानसमा देखाउने साहस कसैले गरेन । पहिलोपटक मनीषले कैद गरे र चलचित्र ‘जिन्दगानी दर्पणछाया’ बनाए । यसमा लेखन, निर्देशन र छायांकनको सबै काम मनीषले गरेका हुन् । चलचित्र हिट भयो । ‘त्यसपछि चलचित्रका लाइन लागे,’ मनीषले भने, ‘काम र दाम दुवै राम्रो भयो । यसले करिअर बनाउन पनि सहयोग गर्‍यो ।’ यही सेरोफेरोमा मनीषको निर्देशन र छायांकनमा ‘डिभोर्स’ र ‘ऊर्वशी’ बने । ‘डिभोर्स’ लाई युवा पुस्ताले निकै रुचाए भने ऊर्वशीले पनि राम्रै बजार पायो ।

मनीष १८ वर्षको उमेरदेखि नै कलामा लागेका हुन् । उनले ०५३ सालमा एसएलसी दिए । लगत्तै बुटवलमा श्रीनगर फोटो स्टुडियो खोले । बुटवल आसपासमा चलचित्र छायांकन हुन्थे । उनले तिनैलाई पछ्याउन थाले । पहिलो पटक ०५४ सालमा ‘वास्तविकता’ चलचित्रको छायांकन गरे ।

यसलगत्तै गोपाल सुवेदी, दिनेश शर्मालगायतको काठमाडौंको टोली ‘औंठाछाप’ छायांकन गर्न आयो । उनले यसमा स्टिल छायांकन गरे । फुच्चे केटाले गरेको कामबाट उनीहरू फुर्किए । त्यसपछि भटाभट चलचित्र छायांकनको काम पाउन थाले । ‘बालअधिकार’, ‘पराइकी चेली’, ‘मेरो साथी’, ‘आफन्तको माया’, ‘रिक्सावाला’, ‘न्यायदाता’, ‘वर्ल्ड कप इन नेपाल’ लगायत २५ वटा चलचित्र छायांकन गरेका छन् ।

उनी यत्तिमै सीमित रहेनन् । महत्त्वाकांक्षा बढ्यो । त्यसपछि निर्देशन, लेखन र सम्पादनमा हात हाले । ०६० सालमा चेलीबेटी बेचबिखनविरुद्ध बनेको ‘हाम्री चेली’ चलचित्रको निर्देशन र छायांकन गरे । त्यसपछि ‘कस्तो समर्पण !’ हुँदै लेखनमा हात हाले ।

०७२ सालको भूकम्प आउनु अघिल्लो साता उनी गोरखाको बारपाकमा थिए । लगत्तै भूकम्प गयो । गाउँ गाउँ रहेन । त्यसपछि त्यहाँका दृश्यमै खेलेर ‘वर्ल्ड कप इन नेपाल’ चलचित्र बनाए, जुन १६ वर्षमुनिका खेलाडीलाई लक्षित गरेर बनाइएको थियो । यसबीचमा भ्युजिक भिडियो र वृत्तचित्र बनाउनतिर लागे । एक खुट्टाले हिँडेर आफ्नो सारा दैनिकी चलाउने ‘नरसिंह’ को जीवनी उतारेर वृत्तचित्र बनाए ।

अन्टार्टिका पुग्ने पहिलो नेपाली भुवन सिंहको जीवनी ‘अन्टार्टिकाको माटो’, ‘तिनाउ नदीको तीर’, ‘लुकेको स्वर्ग गुल्मी’ लगायत उनका वृत्तचित्र निकै लोकप्रिय छन् । उनले टेलिचलचित्रमा पनि हात हालेका छन् । उनको निर्देशन र छायांकनमा बनेको ‘क्रिस कान्छा’ धेरैले मन पराए ।

म्युजिक भिडियो बनाउन अहिले उनीकहाँ ताँती लाग्छ । ‘यो सिजनमा मात्रै ५५ वटा म्युजिक भिडियो बनाएँ,’ मनीषले भने, ‘प्रदेश ५ का जिल्ला मात्रै होइन, बुटवल पश्चिमका जिल्लाका धेरै यहीं आउँछन् ।’ नयाँ विषय र फरकपनको विशेषताकै कारण काममा पछाडि फर्कनु नपरेको उनले सुनाए ।

पछिल्लो समय मनीष पुनः चलचित्र छायांकन र निर्देशनमा फर्केका छन् । गत साल निर्माण गरेको भोजपुरी चलचित्र ‘दहेज चाहीं दहेज’ नेपालका तराईका जिल्लादेखि र भारतको उत्तर प्रदेशका हलहरूमा लागेको छ । ‘गुल्मेली दाइ’ को अहिले डबिङ कार्य चलिरहेको छ ।

यसपछि लगातार ३ वटा चलचित्र निर्देशन र छायांकन गर्दै छन् । स्टुडियोसँगै श्रीनगर फिल्म प्रोडक्सनमा सक्रिय मनीषलाई पत्नी कमला तिवारीले सघाएकी छन् ।

प्रकाशित : भाद्र ६, २०७६ ०८:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्