१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

राजनीतिक “महाभोज”

काठमाडौँ — अपराध र राजनीतिको नेक्ससले गाँजेको एउटा विद्रुप र विसंगत समाजका रूपमा तराई क्षेत्रको एउटा सीतापुर गाउँ छ । जहाँ विधानसभाका लागि एउटा सिटको चुनाव हुन लागेको छ । यसै क्रममा सीतापुरको उक्त दलित बस्तीमा आगजनी हुन्छ । दर्जनौं मान्छेको हत्या गरिन्छ ।

राजनीतिक “महाभोज”

जसको साक्षी विश्वेश्वर अर्थात् बिशु हुन्छ । ऊ आफूसँग भएको हत्याकाण्डको प्रमाण राजधानी लगेर पर्दाफास गर्न चाहन्छ । तर त्यसअघि नै उसको मृत्यु हुन्छ । नाटक ‘महाभोज’ को कथा यहाँबाट बल्ल सुरु हुन्छ ।


रंगकर्मी अनुप बराल यतिबेला भारतीय लेखिका मन्नु भण्डारीको उपन्यास ‘महाभोज’ लाई नाट्य रूपान्तरण गरिरहेका छन् । अनामनगरस्थित मण्डला थिएटरमा भदौ १४ देखि नियमित मञ्चनमा जाने गरी निर्देशक बराल यतिबेला कलाकारलाई रिहर्सल गराइरहेका छन् ।


विप्लव प्रतीकले अनुवाद गरेको यस नाटकलाई मण्डला थिएटरले प्रस्तुति गर्न लागेको हो । रोचक के भने कविको अब्बल छवि बनाएका विप्लव यही नाटकमार्फत कलाकारको रुपमा समेत देखिँदैछन् । लेखिका मन्नुले ७० को दशकको भारतीय समाज र राजनीतिक सन्दर्भलाई हेरेर उपन्यास लेखेकी हुन् ।


झन्डै ५० वर्ष पुरानो कथालाई नाटकका लागि छनोट गर्नुको उपदेयताबारे प्रस्ट्याउँदै निर्देशक बरालले भने, ‘भलै ७० को दशकको भारतीय सन्दर्भसंग जोडिएको किन नहोस्, यसको कन्टेन्ट अहिले हाम्रो सन्दर्भमा पनि उत्तिकै सामयिक छ ।’ खासगरी सामाजिक रूपमा सान्दर्भिक नाटकहरू नै पस्कन रुचाउने बरालले थपे, ‘यो उपन्यास पढिरहँदा मलाई ठयाक्कै उसैगरी नभए पनि टीकापुरको घटना, निर्मला हत्याकाण्ड, कर्मचारीतन्त्रमा हुने नेपोटिज्म, राजनीतिक षड्यन्त्र, आपराधिक गतिविधि, सीमान्तकृत वर्गमाथिको भेदभाव आदि कुराको सम्झना गराउँछ ।’


नाटकमा बिशुको हत्या अनुसन्धानका लागि इन्स्पेक्टर रिता चाम्लिङको नेतृत्वमा टोली खटाइएको छ । रिताको भूमिकामा अभिनेत्री सृजना सुब्बाले अभिनय गरेकी छन् । रिहर्सल चलिरहँदा पनि उनी हत्या गरिएका बिशुका साथी विनोदलाई केरकार गरिरहेकी थिइन् ।


अन्तत: विनोदलाई पनि राजनीति र अपराधको कुचक्रमा फसाएर जेल कोचिन्छ । जातिगत समीकरण कसरी नेपालको स्थानीय राजनीतिको अनिवार्य अंग बन्दै आएको छ र पिछडिएका सिमान्तीकृत जातिमाथि हुने अत्याचार र यसले जन्माएको अन्तरविरोध नै नाटकको केन्द्रीय चिन्ता रहेको निर्देशकको दाबी छ ।


उनका अनुसार, नाटकमा नैतिकता, अन्तरद्वन्द्व, अन्तरविरोधसँग जुझिरहेका सत्ताधारी वर्ग, प्रतिपक्ष, मिडिया र कर्मचारीतन्त्रका अवसरवादी चरित्रहरूमाथि व्यंग्यात्मक अभिव्यक्ति रहेको छ । जनतालाई केवल मतदाताका रूपमा मात्रै लिने र आफ्नो स्वार्थका लागि उनीहरूको जीवनलाई नै गोटी बनाउन पछि नपर्ने नेताहरू कसरी निर्दोष, दीनहीन जनताको सपना र सुखलाई खोसेर सत्ताको महाभोजमा सामेल हुन्छन् भन्ने सन्देश नाटकले दिने अपेक्षा बरालको छ ।

निर्देशक बरालले नाटक हेरेपछि दर्शकलाई भावनात्मक बनाउनुभन्दा विचारोत्तजक बनाउनु सफलता हुने जिकिर गरे । भने, ‘नाटकको प्रस्तुतीकरण अहिलेको चल्तीको भन्दा केही भिन्न बनाउन खोजिएको छ । दर्शकलाई दृश्यसँगको भावनात्मक सम्बन्धबाट बाहिर निकाल्न ब्यानर, मल्टिमिडिया प्रोजेक्सन र गीत संगीत आदिको उपयोग गरिएको छ ।


तर यस नाटकको उद्देश्य दर्शकलाई मनोरञ्जन दिनु वा यथार्थ चित्रण गर्नुमा भन्दा घटनाको वैचारिक मन्थन होस् भन्ने चाहन्छ । नाटक हेरेपछि दर्शक भावनाको कैदी नभई मानसिक रूपमा शिक्षित भई फर्किऊन् ।’ बरालले ‘महाभोज’ लाई एपिक थिएटरको शैलीमा प्रस्तुत गर्न लागेका हुन् ।


निर्देशकले मञ्चमा रमेश बुढाथोकी, विप्लव प्रतीक, दयाहाङ राई, राजन खतिवडा, शेखर चापागाईं, सृजना सुब्बा, बुद्धि तामाङ, विकास जोशी, विजय बराल, प्रदीपकुमार चौधरी, सोमनाथ खनाल, घनश्याम जोशी, मिलन कार्की, सागर दाहाल, आरजेश रेग्मी, रिजन परियार, सिके विष्ट, सपना चौधरी, रञ्जना ओली, उमेश तामाङ, राज न्यौपानेलगायत २८ कलाकारको जम्बो टोलीलाई स्टेजमा उतार्न लागेका छन् ।


बरालले ठूलो कास्ट एन्ड क्रु लिएर नाटक गर्नु चुनौतीपूर्णसँगै रोमाञ्चक पनि हुने टिप्पणी गर्दै यस्तोमा ब्लकिङ र कम्पोजिसन गर्न साह्रै मज्जा आउने बताए । भने, ‘यस्तो अवस्थामा म आफूलाई केवल निर्देशकका रूपमा मात्रै नभई पेन्टर, कवि र दर्शकको भूमिकामा समेत राखेर हेर्छु ।’

प्रकाशित : भाद्र ५, २०७६ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?