२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

रहेनन् पहिलो सिनेमास्कोप निर्देशक

काठमाडौँ — नेपाली फिल्ममा फरक विषयवस्तु उठान गर्ने सशक्त निर्देशकको छवि बनाएका किशोर रानाको ५४ वर्षको उमेरमा बुधबार निधन भएको छ ।

रहेनन् पहिलो सिनेमास्कोप निर्देशक

डेढ वर्षअघि मात्रै मृगौला फेरिएको उनको निमोनियाका कारण जावलाखेलस्थित निदान अस्पतालमा निधन भएको हो । उनका भाइ तथा चलचित्रकर्मी रञ्जित रानाका अनुसार सोमबार मात्रै उनलाई अस्पताल भर्ना गरिएको थियो ।


नेपाली फिल्म उद्योगमा सार्थक योगदान दिएबापत् उनलाई सरकारले साढे तीन लाख रुपैयाँसहित २०७४ को दीर्घसाधना सम्मान दिएको थियो । केहीअघि मात्रै राष्ट्रपति भवनमा आयोजित सम्मान समारोहमा अस्वस्थताका कारण उनी उपस्थित हुन सकेका थिएनन् । ‘उहाँ आफैं बोर्डमा आउने कुरा थियो,’ चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले भने, ‘हामी आफंै उहाँको घर जाने योजना बनाउँदै थियौं, अस्पताल भर्ना हुनुभएको खबर आयो । नेपाली फिल्म उद्योगमा फरक योगदानका लागि उहाँको सम्झना भइरहने छ ।’


‘कर्जा’ बाट नेपाली फिल्म थालेका उनले ‘सीमारेखा’, ‘करोडपति’, ‘राँको’, ‘एक नम्बरको पाखे’, ‘सन्तानको माया’, ‘मिस्टर मंगले’, ‘चक्र’, ‘प्रतिविम्ब’ लगायतका फिल्म निर्देशन गरेका थिए । ‘राँको’ मार्फत् नेपाली फिल्म उद्योगमा सिनेमास्कोप भित्र्याउने जस उनैलाई जान्छ । ‘सीमारेखा’ मा भने उनले लिगलिगकोटको कथामार्फत् नेपाली इतिहासलाई फरक दृष्टिकोणसहित प्रस्तुत गरेका थिए ।


उनले निर्देशन गरेको भोजपुरी फिल्म ‘कब होई मिलनवा हमार’ पनि व्यावसायिक हिसाबबाट चर्चामा आएको थियो । झन्डै डेढ दशक बलिउडमा समेत काम गरेका उनको जन्म सुनसरीमा भएको थियो । पुख्र्याैली भने गुल्मी हो । ‘सामाजिकदेखि व्यावसायिक फिल्मसम्म उहाँ सफल दरिनुभयो,’ बोर्ड अध्यक्ष भट्टराईले भने, ‘उहाँको निधन हाम्रो लागि ठूलो क्षति हो ।’


गायिका संगिता राना प्रधान किशोरकी पत्नी हुन् । उनका एक छोरा छन् । भारत बैंगलोरमा अध्ययनरत छोरा विहीबार काठमाडौं आइपुग्ने र शुक्रबार मात्रै अन्तेष्टी गरिने भाई रन्जितले बताए । उनै रन्जितले डेढ बर्ष अघि उनलाई मृगौला दिएका थिए । ‘पछिल्लो समय उहाँसँग ३ वटा जति भोजपुरी फिल्मको प्रोजेक्ट थियो’, रन्जितले भने, ‘आफ्नै नयाँ प्रोजेक्ट पनि गर्ने योजनामा हुनुहुन्थ्यो ।’

प्रकाशित : भाद्र ५, २०७६ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?