कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

मुस्ताङी घर काठमाडौंमा

काठमाडौँ — आधुनिकताले छपक्कै छोपेको छ ठमेललाई । अग्ला घर, साँघुरा गल्ली अनि पर्यटकको लोभलाग्दो चहलपहल । यही व्यस्त बजारमै छ, दलाइला आर्ट स्पेस, जहाँ शान्त र सन्दुर मुस्ताङ महसुस गर्न सकिन्छ ।

मुस्ताङी घर काठमाडौंमा

भित्ताभरि मुस्ताङको कलात्मक घर, झयाल, काठेछाना र बौद्ध स्तूपहरू देख्न सकिन्छ । तपाईं व्यस्त सहरलाई साक्षी राखेर मुस्ताङको बस्ती र त्यहाँको सांस्कृतिक झलकको आनन्द लिन सक्नुहुने छ ।


चित्रकार विधाता केसीका कलाकृतिले आनन्द मात्रै हैन, मनलाई शान्त पनि पार्ने छ । ‘स्ट्रक्चरल ब्युटी’ सिरिजअन्तर्गत उनले यसपटक मुस्ताङ उतारेकी हुन् । करिब पाँच वर्षअघि मुस्ताङ गएकी थिइन् विधाता । कुनै समय पातको विम्बमा कलाकृति कोर्ने उनी मुस्ताङबाट त्यहाँको सांस्कृतिक प्रभावसहित फर्किइन् ।


ललितपुर सातदोबाटोकी यिनले लामो समय मुस्ताङको पम्परागत घर, त्यहाँ प्रयुक्त काष्ठकला र हिमाली दृश्यलाई भुल्न सकिनन् र क्यानभासमा उतार्न थालिन् । ‘राजधानीबाट मुस्ताङका ती अमूल्य सम्पदा सम्झिँदा मात्रै पनि भिन्नै आनन्द मिल्छ,’ उनले भनिन्, ‘लामो समय मैले मुस्ताङ सम्झिरहेँ ।’ त्यही सम्झनालाई कलाकर्ममा उतार्दै जाँदा उनले मुस्ताङ सिरिजमा थुप्रै काम गरिन् । तिनै काममध्ये आधा दर्जन कलाकृतिले दलाइला आर्ट स्पेसमा सजिने मौका पाएका हुन् ।


आफ्ना कलामार्फत् कहिले महिला, कहिले मलुकका समस्या त कहिले पहिचान र अस्तित्व खोज्ने विधाताले एक वर्षअघि सिद्धार्थ आर्ट ग्यालरीमा सातौं एकल कला प्रदर्शनी गरेकी थिइन् । त्यसमा पनि उनले आधुनिकताको प्रभावमा पर्दै गइरहेको मुस्ताङे रैथाने संस्कृतिलाई नै खोतल्ने प्रयास गरेकी थिइन् ।


दलाइलामा प्रदर्शरत कलाहरूमा भने विशेष गरी घरको बनावट माथि केन्द्रित हुँदै त्यहाँको मौलिक संस्कृतिलाई कलामार्फत् प्रस्तुत गर्न खोजेकी छन् उनले । उनका एक्रेलिक चित्रहरूमा हिमाली क्षेत्रको घरको भिन्नै संरचना देखिन्छ ।


फराकिलो भित्ता, साना तर कलात्मक झयाल ढोका, छानामा महायानी बौद्ध परम्पराको सांस्कृतिक ध्वजा । क्यानभासमा रंग पखालिँदै र भित्ताहरू जीर्ण बन्दै गइरहेको दृश्यहरू छन् । बजार र आधुनिकताको प्रभावले नेपाली मौलिक वास्तुकलामा पारेको असरलाई उनले यसरी प्रतीकात्मक रूपमा देखाएकी हुन् ।


‘हामी जुन युगमा पुगे पनि नयाँपनसँगै परम्परालाई पनि जोगाउनुपर्छ,’ उनको मत छ, ‘किनकि संस्कृति नै हाम्रो चिनारी हो ।’ प्रदर्शनी भदौ १४ गतेसम्म जारी रहने छ ।

प्रकाशित : भाद्र ५, २०७६ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?