उजाड रुख, दमित महिला

सुशीला तामा‌ङ

काठमाडौँ — कलाका अनेक फर्ममा यतिबेला लैंगिक विभेदले प्रवेश पाएको छ । नाटक, साहित्य, फिल्मदेखि चित्रकलासम्म । सदियौंदेखि पितृसत्ता र परम्पराको चेपुवामा परेका छन् महिला । तिनै महिलाको मनोदशा यतिबेला कालिकास्थानस्थित सर्वनाम थिएटरमा प्रस्तुत भइरहेको छ ।

उजाड रुख, दमित महिला

नाटक घरभित्र महिला पात्र, विषय र मनोविज्ञान बोकेको नाटक ‘अर्को कुरुक्षेत्र’ मञ्चन भइरहेको बेला ठिक तल्लो तलाको ग्यालरीमा उस्तै विषवस्तु चित्रकलामा अनुभूति गर्न सकिन्छ ।


सर्वनामकै ग्यालरीमा सम्झना राजभण्डारीको ‘फ्रिडम’ शीर्षकको कला प्रदर्शनी गरेकी हुन् । उजाड जंगलका रुखहरू होऊन् या आफ्नो मुखाकृति लुकाइरहेकी महिला, क्यानभासमा रंगमार्फत सम्झनाले अभिव्यक्त गरेको भावले मन छुन्छ । जंगलका रुखहरूबीचमा हराइरहेका नारी आकृतिले नेपाली समाजमा त्यत्तिकै बिलाइरहेका नारीहरूको अनुहारको याद दिलाउँछ ।


पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीद्वारा उद्घाटित प्रदर्शनीमा महिला थिचोमिचोका घटनाबाट उत्पन्न भएका भावलाई ‘विद्रोही रूपमा देखाउन’ चित्रकलाको सहायता लिएको राजभण्डारीले बताइन् । बाघसँग लड्न खोजिरहेको चराको आकृतिमार्फत् विद्रोहमा उत्रिएकी महिलाको मनोभाव समेत चित्रण गरेकी छन् उनले । उनका अनुसार समाजमा विभिन्न चरित्रका मानिस छन् । कुदृष्टि भएका मानिसहरूसँग आफ्नो अस्तित्व रक्षाको लागि लड्नुपर्ने भाव उक्त चित्रले दिन्छ ।


‘विवाहअघि होस् या पछि, नेपाली समाजमा महिलालाई टिक्न एकदम गाह्रो छ,’ मुखाकृति छोपिरहेकी महिलाको चित्रलाई देखाउँदै उनले भनिन्, ‘विवाह गरेपछि कतिपय महिलाले

आफ्नो भित्री क्षमता र चाहनाबमोजिम काम गर्न पाउँदैनन् । पहिचान र प्रतिभा लुकाएरै बस्न बाध्य हुनुपर्छ ।’ महिला, प्रकृति, मानवीय संवेदनालाई प्राय: कलामा चित्रण गर्ने राजभण्डारीको यो आठौं एकल प्रदर्शनी हो ।

प्रदर्शनीमा रहेका ११ वटा एक्रेलिक माध्यम र चारवटा प्रिन्ट मेकिङमा रहेका सबै कलाकृतिले कहीँ न कतै नारी जीवनको अस्तित्व खोजिरहेको झैं भान हुन्छ ।

रुख सिरिजमा बनाइएका उनका चित्रहरूमा फरक रंग र प्रकृति भेटिन्छन् । कुतै हावाहुरीले उजाड बनाइएका रुखमा पात छैन, कतै भएका पातहरू पनि उराठलाग्दो देखिन्छ । अमूर्त शैलीमा रहेको एउटा चित्रमा रुखसँगै महिलाजस्तो पात्र धमिलो रूपमा देखाइएको छ । यस्ता काव्यिक विम्बलाई उनले रंगहरूमार्फत प्रस्तुत गरेकी छन् ।


विम्ब र प्रतीकको यही पक्षकै कारण सम्झनाका चित्र अरूका सिर्जनाभन्दा भिन्न महसुस हुन्छ । रंगमञ्च र ग्यालरीलाई एकै साथ लैजाने उद्देश्यले फरक कलाको माध्यमबाट उही प्रसंग जोडेर प्रदर्शनी दिन पनि एकै साथ जुराएको सर्वनामका संस्थापक अशेष मल्लले बताए । भने, ‘युगौंदेखि दबिएर बसेको नारी आवाजलाई रंगमञ्चमा देखाउन खोजेका छौं । त्यस्तै अस्तित्व खोजिरहेको प्रसंग ग्यालरीमा पनि देखाउन खोजिएको हो ।’


उनका अनुसार थिएटर, साहित्य, चित्रकला जुनसुकै विधा भए पनि सबै कलाकै माध्यम हुन् । सबैले आफ्नै शैलीमा विषयवस्तुहरू व्यक्त गर्छन् । प्रदर्शनी बुधबार सकिने बताइएको छ ।


प्रकाशित : भाद्र ४, २०७६ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?