२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

शोषणविरुद्ध “एक चिहान”

दीपक परियार

(पोखरा) — वृद्ध अष्टनारायणको परिवार खेतीमा निर्भर छ । श्रीमती, दुई छोरा, एक छोरी र एक बुहारी घरको कामसँगै खेतीमा रमाउँछन् । अष्टनारायण रोगले थलिन्छन् । उनको परिवार उनलाई ऋण, धन गरेर भए पनि उपचार गर्ने ध्याउन्नमा छ । उनी भने आफूलाई ‘साक्षात धन्वन्तरी भगवान् नै आए पनि बचाउन नसक्ने’ बताएर परिवारलाई खेतीपातीमा लाग्न भन्छन् । 

शोषणविरुद्ध “एक चिहान”

उनलाई उपचार गर्न खर्चको अभाव हुन्छ । उपचार गर्ने बहानामा डाक्टर गोदत्तप्रसाद अष्टनारायणकी जवान छोरी नानीथंकुसँग नजिकिन्छन् । तीन छोराछोरीका बुबा गोदत्तप्रसाद धनको तुजुकले नानीथंकुलाई आफ्नो बाहुपासमा बेर्न खोज्छन् । अष्टनारायण बितेपछि चाहिने काजकिरिया खर्चसमेत दिएर प्रभावित बनाउँछन् । अष्टनारायणका जेठा छोरा शिवनारायण भने बुबाको भनाइ सम्झेर डाक्टरलाई निको मान्दैनन् ।


नानीथंकुलाई आँखा गाड्नेमा सुरमान सुब्बा पनि हुन्छन् । ५७ वर्षीय उनी आफ्ना कारिन्दा रामबहादुरमार्फत १७ वर्षीय नानीथंकुसँग बिहे गर्ने कुरा चलाउँछन् । ब्याज मिनाहा गर्ने, आधुनिक तान उपहार दिने गरेर उनी नानीथंकुलाई फकाउँछन् । अष्टनारायण प्रगतिशील सोचका हुन्छन् । उनी सकेसम्म आफ्ना छोराछोरीको बिहे फरक भूगोल र समुदायकासँग गराउन चाहन्छन् । त्यही सम्झेर छोरा शिवनारायण गोदत्तप्रसाद र सुरमान साहुलाई दुत्कार्छन् ।

हृदयचन्द्रसिंह प्रधानको उपन्यास ‘एक चिहान’ को नाट्य रूपान्तरणले शोषणको कथा बोलेको छ । पोखरा थिएटरले तयार गरेको नाटक गन्धर्व नाटकघरमा मञ्चन भइरहेको छ । नाट्य रूपान्तरण र निर्देशन परिवर्तनले गरेका हुन् । दस जोड दुईको अनिवार्य नेपालीमा नाटक समावेश भएकोले विद्यार्थीले रुचि देखाएका छन् । २०११ सालतिरको निम्न वर्गीय जीवनको यथार्थलाइ नाटकमा प्रस्तुत गरिएको छ । नेपाली गरिब किसान र मजदुरको जीवनमा आधारित यो नाटक सामाजिक यथार्थवादी नाटक हो ।


काठमाडौं उपत्यकाका नेवारी समाजको यथार्थ प्रतिविम्बन नाटकले गरेको छ । ‘मेचीदेखि महाकालीसम्मका निम्न वर्गीय नेपाली किसान परिवारले भोग्नुपरेका यथार्थलाई प्रतिनिधिमूलक रूपमा देखाइएको छ,’ निर्देशक परिवर्तन भन्छन्, ‘तत्कालीन र समकालीन नेपाली समाजमा श्रमजीवी निम्न वर्ग र उच्च वर्गबीचको द्वन्द्वलाई प्रतिनिधिमूलक तरिकाले नाटकमा प्रस्तुत गरिएको छ ।’


गरिबी, बाध्यता र विवशताको परिवेशमा निम्न वर्गीय जीवनका जटिलता र संघर्ष नाटकमा देखाइएको छ । प्रजातन्त्र प्राप्तिपछि विस्तारै मौलाउँदै गएको प्रगतिशील सोचको परिवेश, सांस्कृतिक सम्मिश्रण, समावेशी र समानताका लागि आवश्यक परेको तथ्य, रुढिवादी र अन्धविश्वासले नेपाली समाजलाई नछाडेको वास्तविकता नाटकभित्र अनुकूल घटनाक्रम र स्वाभाविक पात्रको परिवेशबाट व्यक्त गरिएको छ । नाटकले नेपाली समाजमा जरा गाडेर बसेको अन्धविश्वास, कुसंस्कार र तिनले निम्न वर्गीय समुदायमा पारेको असर उतारेको छ । अनावश्यक तडकभडकलाई अस्वीकार गरी जीवनोपयोगी क्रियाकलाप र विचारलाई आत्मसात गर्नुपर्ने प्रगतिवादी मान्यता नाटकले प्रस्तुत गरेको छ ।


नाटकलाई परिपक्व बनाउन कलाकारले मिहिनेत गरेका छन् । झन्डै डेढ घण्टा लामो नाटकले दर्शकलाई घरी हसाउँछ, घरी रुवाउँछ । कतै कतै गम्भीर बनाउँछ । नाटकमा जनक पराजुली, प्रमिला तुलाचन, नवराज गिरी, सन्तोष पुन, सुविना श्रेष्ठ, सोनिया खत्री, सुदीप बाँस्तोला, अञ्जु दाहाल, सन्दिप ठाकुर, विष्णु तिमिल्सिना, सुमन तिमिल्सिना, ईश्वरी राना, आसिका केसी, नीतिशा बस्ताकोटीको अभिनय छ ।


नाटक भदौ १४ सम्म मञ्चन हुने छ । यसअघि राष्ट्रिय नाचघर र विराटनगरको आरोहण गुरुकुलले समेत ‘एक चिहान’ उपन्यासलाई नाटकमा उतारिसकेका छन् ।


प्रकाशित : भाद्र ४, २०७६ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?