क्यानभासमा वेगवान् घोडा

सुशीला तामा‌ङ

काठमाडौँ — भित्ताभरि दौडिरहेका घोडा छन् । कुनै युद्धमैदानको दृश्यजस्तै । विभिन्न रंगका घोडाहरूको आफ्नै रफ्तार छ । कतै कुरुक्षेत्रको युद्ध, कतै फिल्म बाहुबलीको जस्तै देखिने दृश्य । परीकथामा आउने वायुपंखी घोडाहरू पनि देखिन्छन् । यी हुन् भारतीय कलाकार सारफुदिन अहम्मदले आफ्नो क्यानभासमा सजाएका घोडा आकृति । 

क्यानभासमा वेगवान् घोडा

बबरमलस्थित नेपाल आर्ट काउन्सिलमा सजिएका उनका चित्रहरू हेर्दैगर्दा हाम्रै पाका चित्रकार शशी शाहको याद आउने छ । तर, सारफुदिनले चलाउने रंग, शैली र उद्देश्य भने फरक लाग्ने छ । बीके आर्ट ग्यालरीले आइतबारदेखि सारफुदिनको चित्रलाई ‘उनान्तिस’ शीर्षक दिएर प्रदर्शनीमा ल्याएको हो, जहाँ २९ वटै घोडा सिरिजका चित्रहरूको रसास्वादन गर्न सकिन्छ ।


सारफुदिनले कोरेका घोडाहरू अत्यन्तै तेजवान् र गतिशील देखिन्छन् । चित्र हेर्दै गर्दा नै शरीरमा एक किसिमको ऊर्जा पैदा हुने प्रदर्शनीमा भेटिएका चित्रकार बीके नरबहादुरले बताए । अर्धमूर्त शैलीमा कोरिएका घोडाका आकृतिहरूमा अत्यन्तै तेज गतिदेखि गति सीमित गर्दै गएको चालसमेत प्रस्ट देखिन्छ । मानव शक्तिलाई प्रतीकात्मक रूपमा घोडामा चित्रण गरिएको चित्रकार अहम्मदले भने । झन्डै तीन दशकको उनको कला क्षेत्रको अनुभवमा दुई दशक त उनले घोडा सिरिजकै क्यानभास कोरेर बिताएका छन् ।


सवारीसाधनको विकाससँगै पहिले मानिसको आउजाउदेखि हरेक कामकाजमा प्रयोग हुने घोडाको अस्तित्व घटदै गएकोले उनले घोडाको शक्ति एकपटक फेरि पुष्टि गर्न चाहेको बताए । उनका प्रत्येक चित्रका पृष्ठमूमिमा भने धार्मिक, सामाजिक र प्राकृतिक दृश्यहरू झल्किएका छन् । ‘मानव सभ्यताको प्रत्येक कालखण्डमा घोडामाथि गरिएको प्रयोगलाई देखाउन चाहेको हुँ,’ उनले भने, ‘यो एउटा शक्तिको प्रतीक हो ।’


कुनै समय सवारीसाधनको रूपमा मान्छेले प्रयोगमा ल्याएको घोडा पछि ठुल्ठूला लडाइँ र धार्मिक युद्धसम्म प्रयोगमा आए । घोडाका प्रयोग सँगसँगै मानव सभ्यताले पनि फडको मार्दै आयो । शक्तिको प्रतीक मानिने यही घोडालाई अहिले आधुनिक सवारीसाधनले विस्थापन गरेको छ । घोडाको तीव्र र धीमा चालमार्फत् चित्रकार सारफुदिनले यसलाई प्रकट गर्न खोजेका छन् ।


साथसाथै बाल्यकालमा आफ्नी हजुरआमाले लोक कथाहरू सुनाउँदा घोडाका अद्भुत रहस्यहरू दिमाग नाचेको भन्दै त्यसको समेत प्रभाव आफूमा रहेको उनले बताए । भगवान्का रथहरूदेखि मैदानमा उन्मक्त दौदिरहेका उनका घोडाहरूमा कतै खुसी, कतै आवेग, कतै रोमाञ्चक क्षणले भरिएका भावहरू पाइन्छन् । प्रत्येक क्यानभासहरूमा घोडाहरूको सिंगो रूप देखिँदैन । चलायमान हुँदै जाँदा घोडाका शरीरका अंगहरू हराउँदै गएका छन् । नेपालमा पनि घुम्दै जाँदा थुप्रै ठाउँमा देखिएका घोडाहरूलाई नै स्मरणमा राख्दै कला प्रस्तुत गरेको उनले बताए ।


समाजमा शक्तिका स्वरूपहरू कसरी परिवर्तन हुँदै जान्छन् भन्ने पक्ष पनि उनका चित्रहरूले दर्साउँछ । एक्रेलिक, चारकोल, वाटर कलर, पेन एन्ड इन्कका माध्यमबाट तयार गरिएका चित्रहरूमा कतै रातो, कतै नीलो, कतै सेतो र कतै पहेँलो रंग प्रयोग गरिएको छ । प्रदर्शनी आगामी बुधबारसम्म जारी रहने छ ।

प्रकाशित : भाद्र ३, २०७६ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?