१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

हास्यव्यंग्यबाटै झटारो

काठमाडौं / मोरङ — ‘देशलाई गर्ने मान्छे छैन,
नागरिकलाई गरिखाने ठाउँ छैन ।
ठेकदारहरू विदेशबाट स्वदेश झिकाइन्छ,
कामदारहरू स्वदेशबाट विदेश पठाइन्छ । 
चानचुन रकम रेमिट्यान्स बनाएर 
स्वदेशी बैंकमा ल्याइन्छ । 
मोटो रकम कमिसन बनाएर 
विदेशी बैंकमा पठाइन्छ ।’ 

हास्यव्यंग्यबाटै झटारो

हास्यकवि शैलेन्द्र सिम्खडाले कवितामार्फत मुलुकमा व्याप्त विकृति र विसंगतिको उठान गरेको कविता हो यो । विराटनगरबाट सुरू ‘सिग्नेचर प्रदेश प्रदेशमा गाईजात्रा’ मा हास्यकलाकार मनोज गजुरेल र सन्ध्या बुढाले डोनाल्ड ट्रम्प र काउली बुढीको भूमिकामा देशमा व्याप्त विकृतिप्रति झटारो प्रहार गरे ।


कलाकार रवि डंगोल र पूर्ण थापाले स्वास्थ्य क्षेत्र र तीन तहका सरकारले लगाएका कर सर्वसाधारणमा परेको पीडा उजागर गरे । काठमाडौं केन्द्रित गाईजात्रा विशेष कार्यक्रम यस वर्ष सात वटै प्रदेशमा आयोजना गरिएको हो । कलाकार गजुरेलले गाईजात्रा सिंगो देशको पर्व भएको बताउँदै ‘विकृति र विसंगति जता हुन्छ, हास्यव्यंग्य त्यतै

जाने’ बताए ।


त्यसैगरी, यस वर्ष मुलुकमा के के काण्ड भए ? सुनकाण्ड, वाइडबडी, बालुवाटार जग्गा प्रकरण, निर्मला पन्तको बलात्कारपछि हत्या आदि । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा जारी गाईजात्रा प्रहसनमा यी घटनाप्रति कलाकारले कटाक्ष गरे ।


साउन ३१ गतेदेखि जारी गाईजात्रा महोत्सवमा करिब डेढ दर्जनभन्दा बढी कलाकारले समाज र राजनीतिमा चलिरहेको बेथितिहरूको विरुद्ध विभिन्न हास्यव्यंग्य प्रहसनसँगै गीत, कविता र नृत्य प्रस्तुति पस्किरहेका छन् । गाईजात्रे प्रहसनमा हास्य कलाकारले राजनीति र समाजमाथि बढी छेडछाड गर्ने प्रवृत्तिलाई यसपटक पनि प्रस्तुत गरिएको हो । ‘समाजमा विकृति र राजनीतिमा विसंगति छ भने हास्यव्यंग्यमा चाहिँ नआउने कुरै भएन,’ नाचघरका निमित्त महाप्रबन्धक तथा कलाकार प्रभावरदेव शर्माले भने, ‘हाम्रो उद्देश्य खासमा मुलुकलाई विकृतिरहित र सफा बनाऔं भन्ने नै हो ।’


काठमाडौंको राष्ट्रिय नाचघरमा हास्यव्यंग्य प्रस्तुत गर्दै कलाकार । तस्बिर : कान्तिपुर


साहित्यकार लक्ष्मण गाम्नागेले बालुवाटारदेखि, न्यायालय, मेलम्चीदेखि दूधचामलमा भइरहेको मिसावटजन्य भ्रष्टाचारसम्मलाई ‘खाऊ साथी हो खाऊ’ र ‘आउनुहोस्, नेपाल सरकारलाई सघाउनुहोस्’ शीर्षकका हास्यव्यंग्य कविताबाट झटाराले हानेका छन् । घनश्याम गौतम (नक्कली प्रचण्ड) र सुरेश तिमिल्सिना (नक्कली केपी शर्मा वली) को ‘भालेजुधाई’ प्रहसन पनि निकै रमाइलो लाग्छ ।


दुई तिहाई सरकारलाई जनताको दुःख र समस्याभन्दा आफ्नै स्वार्थका लागि कुर्सी र शक्तिकै वरपर घुमिरहेको देखाएको छ यो प्रहसनले । पूर्व प्रधानमन्त्री प्रचण्ड र प्रधानमन्त्री केपी ओलीको दुरुस्तै रूपरंगमा देखिएका दुवै कलाकारले उनीहरूकै हाउभाउ र लवजका साथ प्रस्तुति दिएका छन् ।


प्रधानमन्त्री ओलीको ग्यास पाइपलाइन विस्तार गर्ने आश्वासनदेखि उखानटुक्का सम्म व्यंग्यको विषय बनेका छन् । कमल गाउँलेको ‘नेपालमा रेल आउने’ प्यारोडी गीतले पनि प्रधानमन्त्रीप्रति कटाक्ष गरेको छ । त्यस्तै नेपालमा सबैभन्दा राम्रो व्यापार नै राजनीति रहेको भन्दै उनले गरेको व्यंग्यले समग्र नेता, सांसददेखि सिंगो राजनीतिक संस्कृतिसम्मलाई झटारो हान्छ ।


प्रभाकरदेव शर्मा, मञ्जु श्रेष्ठ (बिजुली) र पुष्प अवस्थीको संयुक्त प्रस्तुति रहेको ‘चोरैचोर’ प्रहसनले सोझा जनताले तिरेको करबाटै पेट भरिरहेका निजामती, नेता, कार्यकर्तादेखि, अनैतिक ढंगबाट कमाइरहेका डाक्टर, शिक्षक र धार्मिक गुरुसम्मका चरित्रलाई प्रस्तुति गरेको छ । ‘अहिले चोरीजस्ता आपराधिक क्रियाकलापमा लागेका मानिसले दैनिकी टार्न बाध्य भएर कुकार्यबाट अकुत सम्पत्ति आर्जन गरेको धनाढ्यको घरमा चोरी गरेका छन् । के अपराध हो ?’ भन्ने प्रश्नमा दर्शकले जोडदार ताली बजाउँछन् । ‘देश रहे न हामी रहन्छौं, देश नै नरहे हामी नेपाली कहाँ रहन्छौं’ भन्ने प्रहसनको संवादले पनि दर्शकलाई भावुक बनाउँछ ।


हर्के हवलदार (विष्णु सापकोटा)र देउकी (सरु दाहाल) को ‘प्रहरी मेरो साथी’ प्रहसनले सडकमा चिटका नाममा सवारी चालकहरूबाट पैसा असुल्ने ट्राफिक प्रहरीमाथि नै व्यंग्य कस्छ । त्यस्तै दमन रुपाखेती र दिलिप तामाङले गरेको ‘कट्टु व्यापार’ प्रहसनले शेरबहादुर देउवादेखि पत्रकार ऋषि धमला, इटहरीका मेयर द्वारिकालाल चौधरीसम्मकालाई तिखो व्यंग्य गरेको छ । पल्पसा डंगोल ‘चम्सुरी’ र शशी थापाको प्यारोडी गीत, सुवी शाही, रेशम फिरिरी, सरु शाहीको ‘टिकटक’ व्यंग्य नृत्यले दर्शकलाई थप मनोरञ्जन दिन्छ ।


खुम्चिँदै प्रहसन

वर्षैपिच्छे हुने गाईजात्रा पर्व हास्य कलाकारका लागि दसैंजस्तै गरी आउने भए पनि प्रत्येक वर्ष प्रहसन घटदै गइरहेको हास्य कलाकारहरूले अनुभव गर्दै आएका छन् । यो वर्ष राजधानीमा सांस्कृतिक संस्थानमा मात्र भएको गाईजात्रे प्रहसन परम्परा धान्न जसोतसो गरिएको जस्तो मात्रै देखिन्छ ।


कलाकारहरूको स्तरोन्नतिले हास्य क्षेत्रमा सीमित नभई अन्य क्षेत्रमा पनि बाँडिँदै गएकाले यो स्थिति सिर्जना भइरहेको प्रभाकरको मत छ । ‘केन्द्रबाट प्रदेशतिर शक्तिको बाँडफाँट र स्थानीय सरकार बनेसँगै कलाकारहरू पनि प्रदेशीय विकृति झल्काउन हास्यव्यंग्य प्रस्तुतिका लागि उतातिर पनि हुनुहुन्छ,’ उनले भने, ‘यसले गर्दा केन्द्रमा यो वर्ष हास्यव्यंग्य प्रहसन अन्य ठाउँमा हुन सकेन ।’


हास्य कलाकारलाई अहिले जोकरका रूपमा हेरिएमा उनले चिन्ता व्यक्त गरे । नेताहरूकै चरित्र धारण गर्दै अरूलाई हँसाउँदै गर्दा आफूलाई भित्रभित्रै लज्जाबोध हुनुपर्ने कलाकारहरू गौतम र तिमिल्सिनाले बताए । हास्य टेलिफिल्म ‘तीतो सत्य’ मा बिजुलीको भूमिकाबाट चिनिने मञ्जु श्रेष्ठले अहिले नेताकार्यकर्ताले जनता हँसाउन थालेकाले हास्य कलाका नै नचाहिने भन्दै व्यंग्य गरिन् ।


अहिले सामाजिक सञ्जाल युट्युबबाटै विभिन्न हास्यव्यंग्य प्रस्तुति दर्शकले घरमै बसेर हेर्ने भएकाले गाईजात्रा प्रहसनमै आएर हेर्न कष्ट नगरेको उनीहरूको मत छ ।


कोलाहल र व्यस्त बन्दै गइरहेको मानिसका जीवनमा पीडा र थकान दुवै बढिरहेको छ । यस्तो अवस्थामा मानसिक पीडा कम गर्न पनि हाँस्न जरुरी रहेको बताउँदै प्रभाकरले हास्यव्यंग्य क्षेत्रको भविष्य उज्ज्वल रहेको दाबी गरे । अभिनेता पुष्प अवस्थीले पनि प्रभाकरलाई सही थपे ।

प्रकाशित : भाद्र २, २०७६ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?