तानसेनमा हराउँदै परम्परा 

माधव अर्याल

पाल्पा — सांस्कृतिक सहर तानसेनमा जनैपूर्णिमादेखि नौ दिनसम्म जात्रा चल्छ । रामपुर, हार्थोक, आर्यभन्ज्याङलगायतका नेवारी बस्तीमा केही दिन जात्राको रौनक रहन्छ । जात्रासँगै रथयात्रा हुन्छन् ।

अहिले तानसेन र ग्रामीण बजारमा काम्ले गाई डुलाउने क्रम कम भइसक्यो । बाघजात्रा वर्षौंदेखि निस्कन छोडेको छ । रथयात्रामा पनि स्थानीयको सहभागिता कम हुँदै गएको छ ।


अधिकांश रथयात्राका लागि घरघरबाट चन्दा संकलन गर्नुपर्छ । रथयात्रासँगै हिंड्ने शास्त्रीय राग तथा तालमा आधारित भजन टोली छैनन् । पाका अग्रजको निधन भइसकेको छ । नयाँ पुस्ता यस्ता पुराना भजनमा रुचि लिँदैन । यो मरि पुन्हीमा योमरि बनाउन छाडिएको छ । होलीमा चीर गाड्न, पिचकारी खेल्न कम भएको छ । लाखे पनि फाट्टफुट्ट मात्रै निकालिन्छ ।


संस्कृति बचाउन छाडेका केही उदाहरण हुन् यी । यी बाहेक अनेकन् चाडपर्व र जात्रा मनाउन छाडिएका छन् । पहिले तानसेन र ग्रामीण बस्तीमा नेवारहरूको बाक्लो बस्ती थियो । समयक्रमसँगै धेरैजसो नेवार आफ्नो व्यापार, व्यवसाय तथा जीविकोपार्जनका लागि थाँतथलो छोडी हिंडे ।


जिल्लाका अधिकांश नेवार भक्तपुरबाट बसाइँ सरी आएका हुन् । काठमाडौं र ललितपुरका नेवार पनि आएका थिए । त्यसैले पनि सांस्कृतिक सहरका रूपमा परिचित छ, तानसेन । तानसेन मात्र होइन, यहाँका ग्रामीण बस्ती भन्ज्याङ, दोबाटामा नेवार थिए । पछिल्लो समय व्यापार अन्य समुदायले पनि गर्न थाले ।


‘थातथलो छोडी नेवारहरू जिल्लाबाहिर जान थालेपछि संस्कृति पनि हराउँदै गयो,’ संस्कृतिका जानकार तथा देउराली अध्ययन प्रतिष्ठानका अध्यक्ष मदन श्रेष्ठले भने, ‘बाँकी रहेका नेवारहरूले संस्कृति बचाउन सकिरहेका छैनन् ।’ स्थानीय तहको उदासीनताले पनि संस्कृति लोप हुनुको प्रमुख कारण रहेको उनको ठम्याइ छ ।


‘जनप्रतिनिधिविहीन अवस्थामा कर्मचारीले संस्कृति तिमीहरूको आफ्नै हो, आफैं जसरी मनाउन सक्छौ मनाऊ, हामी केही गर्न सक्दैनौं भन्ने गरेकाले पनि संस्कृति लोप हुँदै गएको हो,’ स्थानीय जात्रा पर्वको संरक्षणमा स्थानीय सरकारले पनि चासो दिनुपर्ने उनले बताए । स्थानीय सरकारको दायित्व संस्कृति र जात्रापर्वको महत्त्वलाई उजागर गर्दै सभ्यता र पहिचान रक्षा गर्नुपर्ने अध्यक्ष श्रेष्ठले सुनाए ।


संस्कृति जोगाउने चासो

बगनासकाली साहित्य परिषद् पाल्पाले शुक्रबार तानसेनमा ‘पाल्पाका जात्रा, चाडपर्व संरक्षणको चुनौती र समाधानका उपाय’ विषयक अन्तरक्रिया कार्यक्रम गर्‍यो । युवा पुस्तालाई भाषा, कला, संस्कृतिबारे बुझाउन नसकिएकाले पनि संस्कृति लोप हुँदै गएको वक्ताको ठहर थियो ।


संस्कृतिका जानकार निर्मल श्रेष्ठले भाषा, कला, साहित्य र संस्कृतिको विकासबिना सभ्यता र पहिचान हराउने बताए । ‘संस्कृति संरक्षणमा नयाँ पुस्तालाई जागरुक बनाउनुपर्छ,’ उनले भने, ‘आर्थिक अभावका कारण परम्परादेखि चल्दै आएको जात्रा लोप हुँदै गएको छ । सबै स्थानीय तहले स्रोतको व्यवस्था गरी लोप भएका जात्रा, पर्वको संरक्षण गर्नुपर्छ ।’


संस्कृति संरक्षणका लागि सरोकारवाला निकायले वर्षभरि मनाइने जात्रा चाडपर्वको लगत राख्नुपर्नेमा उनले जोड दिए । नयाँ पुस्तालाई संस्कृति संरक्षणमा प्रेरित गर्ने र संस्कृतिसम्बन्धी पुराना, नयाँ विषयवस्तुलाई संग्रहालयमा सुरक्षित गर्नुपर्ने उनको सुझाव छ । स्थानीय तहमा हुने मेला महोत्सवलाई प्रशस्त मात्रामा प्रचार गर्न सकेमा लोपोन्मुख जात्रा पर्वको संरक्षण हुने उनले बताए ।

बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले कला, साहित्य, संस्कृति र जात्रा, पर्वको संरक्षणमा ध्यान दिने बताए । ‘हामीले बजेटलाई बाटो र माटोमा मात्र नसकी आफ्नो पहिचान र सभ्यता झल्किने सम्पदा र संस्कृति रक्षामा समेत खर्चिने गरेका छौं,’ उनले भने, ‘समग्र जात्रा, पर्वहरूको संरक्षण गर्नमा कुनै असहमति हुन्न ।’


पाल्पा साहित्य समाजका पूर्वअध्यक्ष राजेन्द्रगोपाल सिंहले धर्म, संस्कृतिमा धनी यस जिल्लामा धार्मिक सहिष्णुताको विकास गर्नुपर्नेमा जोड दिए । रणउजिरेश्वरी भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर उदयले जात्रा, पर्व सञ्चालनको अवस्थाबारे स्थानीय सरकारले चासो लिनुपर्ने बताए । प्रकाशित : भाद्र २, २०७६ ०८:२१

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

खलंगामा जात्रै जात्रा

एलपी देवकोटा

जुम्ला — जाजरकोट बारेकोटका नारायण उपाध्याय जात्रा हेर्नका लागि तीन दिनअघि नै खलंगा आइपुगे । जुम्लामा कर्णालीकै ठूलो र लामो जात्रा चल्ने गरेको सुने पनि आफूले नदेखेकाले दिदीलाई साथमा लिएर जात्रा हेर्न खलंगा पुगेको उनले बताए ।

उनीजस्तै छिमेकी जिल्लाका अन्य व्यक्ति पनि जात्रा हेर्नका लागि खलंगा आइपुगेका छन् । समयमै नआउँदा होटलमा कोठा नपाइने हुँदा उनीहरू जात्रा सुरु हुनु दुई–तीन दिनअघि नै खलंगा आइपुगेका छन् । ‘समयमै आएन भने होटलमा कोठा पाउनै मुस्किल छ,’ उपाध्यायले भने, ‘त्यही भएर म पनि अस्ति नै आइसकेको थिएँ ।’

गाईजात्राबाट सुरु हुने यो जात्रा ८ दिनसम्म चलेर श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट सकिन्छ । नागपञ्चमीको दिन जुम्ला चन्दननाथ मन्दिरबाट पूजाआजाका सामाग्री बोकेर सरकारी टोलीसहित भक्तजन बाजुराको बडिमालिका मन्दिरमा जाने गर्छन् । त्यही दिनदेखि जात्रा अनौपचारिक रूपमा सुरु हुने गर्छ ।

पहिलो दिन गाईजात्रा, दोस्रो दिन रोपाइँजात्रा, तेस्रो दिन पल्टनजात्रा, चौथो दिन खसजात्रा, पाँचौं दिन बालगोपाल जात्रा र छैटौं दिन बडिमालिकाबाट आएकालाई स्वागत गरी अन्तिममा कृष्णजन्माष्टमीको भोलिपल्ट लाखे काटेर जात्रा सकिन्छ ।

जात्रा हेर्नकै लागि हरेक वर्ष जिल्लाको ग्रामीण क्षेत्र र जिल्ला बाहिरबाट समेत जात्रालु आउने गर्छन् । जात्रा समितिका अध्यक्ष चित्रलाल श्रेष्ठका अनुसार जात्राको ऐतिहासिक महत्त्वको कारण जिल्लाका आन्तरिक तथा बाह्य जात्रालु खलंगा आउने गरेको बताउँछन् । जात्राका कारण खलंगामा मान्छेको घुइँचो बढेको छ । जात्रा अवधिभर स्थानीय विद्यालय १ बजे नै बिदा हुन्छन् ।

सरकारी कार्यालयहरू पनि सेवाग्राही नआउँदा सुनसान हुने गरेका छन् । जात्रामा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न विभिन्न प्रस्तुतिसमेत गरिन्छन् । समाजमा भित्रिएका कुरीतिलाई व्यंग्य गर्ने गरिन्छ ।

जात्रामा खस जातिको संस्कृति झल्काउने गरिन्छ । केही वर्षयता जुम्लाको सिँजामा समेत छट्टै जात्रा निकाल्ने गरिएको छ । रैथाने संस्कृति संकटमा पर्दै गएकोले सिँजामा पनि जात्रा सुरु गरेको स्थानीय दीपेन्द्र उपाध्यायले बताए । कला–संस्कृतिको संरक्षण र स्थानीयबीच एकआपसमा भेटघाटको महत्त्वपूर्ण अवसरका रूपमा मेला, जात्राको सदुपयोग हुने गर्छ ।

यो समयमा मेलापातको काम सकिएकाले महिला पनि फुर्सदमा हुने गर्छन् । ‘वर्षभरिको सुख–दुःख साटासाट गर्ने पनि यही बेला हो,’ जात्रा समितिकी सदस्य शारदा पछाइले भनिन्, ‘यसले महिला मात्र होइन, बालदेखि वृद्धसम्मलाई उमंगित बनाउने गर्छ ।’ जात्रामा करिब १० हजार संख्यामा जात्रालु भेला हुने गरेको उनले बताइन् ।

प्रकाशित : भाद्र २, २०७६ ०८:२०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×