समावेशी रोपाइँ जात्रा

कान्तिपुर संवाददाता

काठमाडौँ — धिमे र भुस्याको ताल पछ्याउँदै रोपारहरू सडकमा निस्के । उनीहरूको हातमा धानको हरियो बीउ लहलह देखिन्छ । अघिअघि बाउसेहरू कोदाली बोकेर आली सम्याएझैं नाटक गर्न थाले । त्यसपछि रोपारहरू सडकमै धान रोप्न थाले ।

राजधानीको बौद्धमा शनिबार रोपाइँ जात्रा मनाउँदै स्थानीय बासिन्दा । हरेक वर्ष हुने जात्रामा नेवार र तामाङ समुदायको उल्लेख्य सहभागिता रहँदै आएको छ ।तस्बिर : अनिश रेग्मी/कान्तिपुर

शनिबार सिमसिम पानी पर्दै गर्दा राजधानीको बौद्ध चैत्य परिसरमा यस्तो रोचक दृश्य देखियो । हरेक वर्ष गाईजात्राको भोलिपल्ट बौद्धबासीले मनाउँदै आएको ‘रोपाइँ’ जात्राको अर्कोरोचक दृश्य त के भने, जात्रामा नेवार र तामाङ समुदायको सरोवरी थिए । नेवार समुदायबाटै सुरु भएको मानिने यो जात्रा बौद्धमा भने तामाङ समुदायले पनि साथ दिँदै आएको छ ।

‘वर्षौंदेखिको परम्परा हो यो,’ बौद्धनाथ क्षेत्र विकास समितिका पूर्वअध्यक्ष सम्पूर्णकुमार लामाले भने, ‘प्रताप मल्लको पालामा सुरु भएको यो जात्रा बौद्धमा सबैजना मिलेर मनाउँछन् । एकअर्काको संस्कृतिको सम्मान गर्ने यो निकै राम्रो समावेशी अभ्यास हो ।’

उनका अनुसार बौद्धमा तामाङ समुदायको पर्वमा पनि नेवार समुदायको साथ सहयोग रहँदै आएको छ । यसपटक भने खास्ती नेवाः पुचःको पहलमा भक्तपुर र कीर्तिपुरबाट लठ्ठी बजाउँदै प्रस्तुत गरिने ‘घिन्ताङघिसी’ नाच टोली पनि निम्त्याइएका थिए ।

उनीहरूले धिमेको तालमा ‘घिन्ताङघिसी’ प्रस्तुत गर्दा चैत्य आसपास र बाहिर सडकमा जात्रालुहरूको भीड बढेर हिँडडुल गर्न मुस्किल परेको थियो । मान्छे नै गोरु बन्दै हलो–जुवा नारेर सडकमा निस्किँदाको दृश्य जति रोचक थियो, ढ्यांग्रो बजाउँदै तामाङ बोन्बो नाच्दा पनि उत्तिकै रौनक थपिएको थियो ।

चैत्य परिसरमा जात्रालु केटा र केटी समूहमा विभाजित भएर तामाङ फाफरे व्हाई (गीत) मार्फत् दोहोरी खेलेका थिए । उनीहरूले गाएको सेलो दोहोरी हेर्न मानिस छाता ओडेरै जम्मा भएका थिए । बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक वसन्त लामाका अनुसार दिवंगत परिवार सदस्यहरूको आत्मशान्तिका लागि सुरु भएको यो जात्रामा हास्य र व्यंग्य रस पनि उत्तिकै मिस्सिएर आउँछ ।

भीडमा अनेक हास्य मुकुण्डोधारी मान्छेहरूले बेलाबेला छक्याउने र तर्साउने जस्ता गतिविधि गरेर पनि जात्रालाई रमाइलो पारेका थिए । हरेक वर्ष समितिले जात्रालाई प्रभावकारी बनाउन व्यवस्थापन समिति नै बनाएर काम गर्दै आएको छ । यसपटक पनि विभिन्न सांस्कृतिक प्रस्तुतिलाई हौस्याउन समितिले चैत्य परिसरभित्रै प्रतिस्पर्धात्मक कार्यक्रम गरियो । विजेता समूहलाई सभासद कृष्ण राईले पुरस्कार हस्तान्तरण गरे ।

बौद्ध क्षेत्र पर्यटकीय र सांस्कृतिक हिसाबले धनी रहेको दाबी गर्दै समितिका अध्यक्ष चन्द्रमान लामाले हरेक पर्वलाई प्रोत्साहन गर्न समितिले काम गर्दै आएको बताए । ‘यसपटक युवाहरूको सहभागिता झन् बढेको देखिन्छ,’ उनले भने, ‘पम्परागत र सांस्कृतिक ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्न यस्ता अवसरले ठूलो भूमिका खेल्छ ।’

प्रकाशित : भाद्र १, २०७६ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्

अस्ताइन् शुभद्रा

कान्तिपुर संवाददाता

काठमाडौँ — रंगमञ्च र फिल्म क्षेत्रमा जीवनभर सक्रिय अभिनेत्री शुभद्रा अधिकारीको ७२ वर्षको उमेरमा शनिबार बिहान राजधानीको डल्लुस्थित निवासमा निधन भएको छ । केही वर्षदेखि श्वासप्रश्वासको समस्याबाट पीडित अधिकारीका एक छोरा र एक छोरी छन् ।

२००४ साल भदौ २० मा बुबा बलराम र आमा नूरादेवी कार्कीको कोखबाट जन्म लिएकी शुभद्राले २२ वर्षको उमेरदेखि फिल्म यात्रा थालेकी थिइन् । ‘मनको बाँध’ खेलेपछि उनले ‘चिनो’, ‘कन्यादान’, ‘भाउजू’, वसन्ती’ लगायत चार दर्जन फिल्ममा अभिनय गरेकी थिइन् ।

सांगीतिक परिवारमा जन्मेकी शुभद्राकी आमा गायिका थिइन् । आमालाई गायन सिकाउन आउने उस्ताद बद्रीले नै शुभद्राको बाल चञ्चलतामा कला क्षमता चिने र उनलाई नृत्य सिक्न प्रेरित गरेका थिए । ४/५ महिनामै शुभद्राले नागिन नृत्य सिकेर सबैलाई चकित पारिदिएकी थिइन् ।

उनी आमाको हार्मोनियमको तालमा नाच्दै हुर्केकी थिइन् । पाँच वर्षकी नहुँदै बुबा गुमाएकी शुभद्रा सात वर्षको उमेरमा आमासँगै तीर्थाटनका लागि भारत पुगिन् र आफ्नो नृत्य–कौशललाई थप चिनाउन पाइन् । भारतको एक स्कुलमा उनले नातिकाजीको गीत ‘पहाडमा...’ र ‘राधा ना बोले...’ मा नाचेरै एक सय ५० भारु सम्मान पाएकी थिइन् ।

शुभद्राको जन्म स्वाभाविक थिएन । झन्डै दस वर्षअघि कान्तिपुरसँगको कुराकानीमा उनले भनेकी थिइन्, ‘यो मरेकै जन्मिछ भनेर कपडाले पोको पारेर फालिएको थियो ।’ भएको के थियो भने, शुभद्रालाई जन्म दिनुअघि नै आमा नूरादेवी बेहोस् भएकी थिइन् । शुभद्रासमेत बेहोसीमै जन्मिएपछि परिवारले ‘मरेकी’ भनेर कुनामा फालेर आमा बचाउन लागेका थिए ।

सानैमा शुभद्राको क्षमता हेरेरै विजय मल्लले नाटक ‘आले आनी’ मा खेलाएका थिए । पछि मल्लले नै अर्को नाटक ‘कोही किन बर्बाद होस्’ मा पनि दोहोर्‍याए । शुभद्राले महाकवि लक्ष्मीप्रसाद देवकोटाको खण्डकाव्य ‘मुनामदन’ लगायत थुप्रै नाटक, टेलिफिल्म पनिखेलेकी छन् ।

तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा केही समय जागिरसमेत खाएकी शुभद्रा २०२८ देखि २५ वर्षसम्म राष्ट्रिय नाचघरमा जागिरे भइन् । पछिल्लो ‘दशगजा’, ‘मसान’, ‘काठमाडौं’ जस्ता फिल्ममा देखिएपछि अभिनय क्षेत्रमा उनको सक्रियता पातलिएको थियो ।

‘चिनो’ फिल्मका लागि २०५५ मा चरित्र अभिनेत्रीका लागि नेपाल मोसन पिक्चर्स अवार्ड जितेकी शुभद्रालाई गत महिना मात्र चलचित्र विकास बोर्डले २०७३ का लागि दीर्घ साधना सम्मान प्रदान गरेको थियो । बोर्ड अध्यक्ष केशव भट्टराईले नेपाली फिल्म क्षेत्रले ठूलो व्यक्तित्व गुमाएको बताए । उनको शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो ।

प्रकाशित : भाद्र १, २०७६ ०८:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्