कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मष्टामाण्डौंमा डेउडा

मेनुका ढुंगाना

विनायक, अछाम — नाकमा फुली, टाउकोमा सेतो कपडा बाँधेकी ७० वर्षीया उज्जवलीदेवी शाही लाठीको सहारामा मेला हेर्न विनायकको उकालो लागिन् । लयाँटी निवासी यिनी पूर्वी अछामको विनायकमा हरेक वर्ष आइपुग्छिन् । मालिका चतुर्दशीको अघिल्लो दिनदेखि ३ दिनसम्म यहाँ यो क्षेत्रकै ठूलो मानिने ‘मष्टामाण्डौं’ मेला लाग्ने गर्छ । 

मष्टामाण्डौंमा डेउडा

मनमा उत्साह बोकेर उज्जवलीदेवीजस्ता मानिस मेलामा किन आउँछन् भने टाढाका आफन्त र आफ्नै उमेरका साथीसँगीसँग यहीँ भेट हुन्छ । यसबाहेक मेलामा धामी नाच्ने, कुल देउता पुज्ने र देउडा खेल्ने कार्य पनि हुन्छ । यो सबै उनलाई रमाइलो लाग्छ । ३ दिन चल्ने मेलामा वरिपरिका श्रद्धालुहरूको भीड लाग्छ । ‘पहिले मेला हेर्न हिँडेरै आउँथे । यसपटक त मोटरसाइकल चढेर आएँ,’ उनले सुनाइन्, ‘छोराले विनायकसम्म पुर्‍याएपछि मलाई सजिलो भयो । सुख, दुःख साटासाट गर्ने, लामो समयसम्म नभेटिएका नातागोतासँग भेट हुने बेला पनि यही हो ।’


प्रायःजसो मेलापात र चुलोचौकोमा व्यस्त रहने महिला गाउँघरमै हुने यस्ता मेला जात्रा हेर्ने अवसर सकभर छुटाउँदैनन् । ‘पहिले त घरबाट निस्कनै पाइँदैन थियो,’ मेलामा भेटिएकी विनायक ५ कि ७५ वर्षीया खन्टी रावलले भनिन्, ‘कतै कसैको विवाहको रत्यौलीसम्म जान पाइन्थ्यो । यस्ता मेलामा चिनेजानेकाहरू भेट हुँदा खुसी लाग्छ ।’ मेला हेर्नकै लागि उनी गाउँका थुप्रै वृद्धवृद्धा र युवासहित आएकी थिइन् ।


मेलाकै अवसरमा माइतीघर जाने र बुबाआमा र दाजुभाइ भेट्ने प्रचलन पनि छ । स्थानीयका अनुसार दसैंतिहारभन्दा पनि चेलीका लागि यो मेला ठूलो मानिन्छ । ‘यो बेला माइतीघर आएन भने आमाबुवा र दाजुभाइले दुःख मान्छन्,’ कालीकोटबाट विनायकस्थित माइतीघर आइपुगेकी रमिला रावलले भनिन्, ‘बरु दसैंतिहारमा नआए दुःख मान्दैनन् ।’


स्थानीयका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशको मुख्य पहिचानको रूपमा रहेको देउडा यो मेलाको अर्को आकर्षण हो । तीन दिनसम्म धितमर्ने गरी खेल्ने गरिन्छ । ठाडी भाका, न्याउले, देउडा दोहोरीको माध्यमबाट धेरैजसोले सुखदुःखका भाव अभिव्यक्त गर्दछन् । यीमध्ये केटा र केटी पक्षबीच देउडा दोहोरी चल्छ ।


मेलामा खासगरी मष्टो देउताअन्तर्गत पर्ने कालासिल्ला र बालनसिल्ला देउताको पूजा हुन्छ । मेलाकै लागि काम र अध्ययनका लागि घरबाहिर रहेकाहरू पनि सकभर फर्किने गर्छन् । ‘घर नफर्केको ५ वर्ष भएको थियो । मष्टो देउतालाई भाकेका कारण यो पटक फर्केर आएँ,’ स्थानीय प्रसादे रावलले भने, ‘यो पर्वलाई दसैंतिहारभन्दा ठूलो मान्छौं हामी ।’


अछामको विनायकमा जारी मष्टामाण्डौं मेलामा देउडा नाच्दै महिलाहरू । तस्बिर : मेनुका/कान्तिपुर


मष्टो देउताका धामी स्थानीय रतनबहादुर शाहीका अनुसार यो पर्वमा गाउँभरिका पचासभन्दा बढी धामीसँगै नाच्छन् । देउतालाई भाकल दिए मनोकांक्षा पूरा हुने भन्दै बोकाको बलि पनि चढाइन्छ । ‘यहाँ जेठ पूर्णिमा, साउन पूर्णिमा र पुस पूर्णिमामा बलि दिइन्छ,’ उनले भने, ‘देउडा र देउता नाच भने साउनमा मात्रै देखाइन्छ ।’ उनका अनुसार यहाँ कालीकोट, सुर्खेत, दैलेख, जुम्ला, मुगु र बाजुराबाट जात्रा हेर्नेहरू आउँछन् ।


स्थानीय भाषामा यसरी आउनेलाई रम्च्यारु भन्ने गरिन्छ । ‘यो क्षेत्रको सबैभन्दा बढी पुज्ने देउता नै यही हो,’ शाहीले भने । मंगलबारबाट सुरु भएको मेला बिहीबार राति सकिने उनले बताए । गाउँगाउँमा सडक सञ्जाल विस्तार भएपछि मेलाको महत्त्व पहिलेभन्दा बढेको उनको बुझाइ छ ।


‘पहिले त मेलामा आउनका लागि २/३ दिन अगाडि नै घरको चाँजोपाँजो मिलाउनुपर्थ्यो । अहिले गाडी आउँछन् । टाढाटाढाबाट पनि एकै छिनमा आइपुग्छन् । यसले मेलाको प्रचारप्रसार र महत्त्व बढाएको छ,’ उनले भने ।

प्रकाशित : श्रावण ३१, २०७६ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?