बढ्दै सांगीतिक फिल्म- मनोरञ्जन - कान्तिपुर समाचार

बढ्दै सांगीतिक फिल्म

कान्तिपुर संवाददाता

काठमाडौँ — अंग्रेजी क्यालेन्डरमा नयाँ साल फेरिन अझै साढे चार महिना बाँकी नै छ । तर सन् २०१९ हलिउड सांगीतिक फिल्मका कारण विशेष बनिसकेको छ । गायक, संगीतकार वा सांगीतिक समूहमाथि यस वर्ष उल्लेख्य मात्रामा फिल्महरू बने र अझै बनिरहेका छन् ।

सर एल्टन जोन, द बिटल्स, मोट्ली क्र्यू, ब्रुस स्प्रिङस्टिनदेखि लिअम गालाघर, बब डिलर, लियोनार्द कोहेनमाथि यस वर्ष फिल्म बनेर दर्शकसामु आए ।


अझै जुडी गार्ल्यान्ड, माइकल हुचिन्स, सुजी क्वाट्रो र जर्ज माइकलमाथि बनेका केही सांगीतिक फिल्म भने प्रदर्शनको तरखरमा छन् । यस वर्ष मात्रै नभई २०२० पनि फिल्म क्षेत्रको माहोल सांगीतिक विधाले ढाक्ने छनक देखिएको छ । हलिउडको संगीतप्रति यति धेरै झुकाव किन देखिएको छ ? अहिले धेरैका लागि यसको जवाफ प्रतीक्षित बनेको छ । हालै बीबीसी अनलाइन पोर्टलले यसबारेमा फिचर नै गरेको छ ।


पछिल्ला फिल्महरूमा देखिएको नयाँ पक्ष भनेको संगीत पनि चरित्रका रूपमा चित्रण गरिनु हो । गत साता मात्रै थिएटरमा तहल्का मच्चाएको फिल्म ‘ब्लाइन्डेड बाई द लाइट’ ले एक ब्रिटिश–पाकिस्तानी युवा पत्रकार जावेदको कथा भन्छ ।


यात्रामा निस्किएका जावेद पेसामा बाहेक ब्रुस स्प्रिङस्टिनका संगीतका पारखी हुन्छन् र गाडीमा प्रायः सुनिरहन्छन् । ‘यो फिल्ममा कोही पनि स्टार छैनन्,’ आफ्नै कथालाई पटकथामा ढालेका उक्त फिल्मका लेखक सरफराज मन्जुरले भनेका छन्, ‘तर सबैभन्दा ठूलो स्टार भनेको यसमा स्प्रिङस्टिन छन् ।


यही परिचित तत्त्वकै कारण सायद धेरै दर्शक हलसम्म आएको हुनुपर्छ ।’ उनले थपे, ‘फिल्मका लागि संगीत पनि एउटा चरित्र भएकोले नै हामीले यसो गरेका थियौं ताकि यसले कथालाई अघि बढाउन सघाउनुका साथै मुख्य अभिनेताको जीवनमा स्प्रिङस्टिनले किन अर्थ राखेको छ भन्ने देखाउनु पनि थियो ।’


त्यसो त संगीतको लेपन लगाएर फिल्म बेच्ने तरिका नौलो भने हैन । यसअघि पनि कैयौं फिल्मले यसको सफल प्रयोग गरिसकेका छन् । डकुमेन्ट्री मेकरसमेत रहेका मन्जुरले आफ्नै पुस्तकलाई बिग स्क्रिनका लागि एडप्ट गर्ने क्रममा स्प्रिङस्टिनको ट्र्याकलाई मुख्य पात्रको पहिलो दिनदेखि अन्त्यसम्म विभिन्न मुडअनुसार पटकथामा चातुर्यपूर्वक घोलिदिएका छन् । ८० को दशकका उनका हिट नम्बरहरू फिल्ममा राखिएको छ । यस्ता पुराना गीतले फिल्मको थिम बोक्न सघाउनुका साथै दर्शकलाई अतीतमा पुर्‍याउने सामर्थ्य रहने लेखकको भनाइ छ ।


संगीत फिल्मका दर्शकलाई नोस्टाल्जिक बनाउने एउटा गतिलो हतियार बनिरहेको छ । पुराना चल्तीका गीत फिल्ममा राखिँदा त्यसले दर्शकलाई पुराना दिनमा पुर्‍याएर मीठो आभास दिनेमा सहज हुने फिल्मकर्मीहरू बताउँछन् । पछिल्लो पटक ‘रकेटम्यान’, ‘एस्टरडे’, ‘बोहेमन र्‍याप्सोडी’ जस्ता फिल्मले यही प्रयोगलाई सिद्ध गरेरै सफल बने ।


‘संगीतको माध्यमले दर्शक तान्ने फिल्मको ट्रेन्ड अहिले बढेको छ । हाम्रो अनुसन्धानले पनि दर्शकलाई नोस्टाल्जिक बनाउने पहिलो हतियार नै संगीत बनेको छ,’ बेलायत र आयरल्यान्डका लागि संगीत उपलब्ध गराउने स्पोटिफाईका प्रमुख सुलिन्ना ओङले भनेका छन्, ‘यसले गर्दा फिल्मका दर्शक पनि बढेका छन् ।’


जब कि पहिले हलिउडका फिल्ममा पार्श्व संगीतको प्रयोग न्यूनप्रायः हुने गर्थ्यो । ७०, ८० को दशकमा सांगीतिक समूहलाई फलो गर्नेको संख्या निकै हुन्थ्यो । कुनै जमानाको अति लोकप्रिय ब्यान्ड ‘क्विन’ मा आधारित रही बनाइएको ‘बोहेमन र्‍याप्सोडी’ हिट हुनुमा पनि उक्त ब्यान्डका संगीतप्रेमीहरू फिल्म हेर्न आउनु प्रमुख कारण थियो ।


सांगीतिक फिल्मको स्वर्णिम युग अहिले मात्रै आएको भने हैन । यसअघि सन् १९३० को दशक र दोस्रो विश्वयुद्धपछि पनि सांगीतिक फिल्महरू खुबै बनेका थिए र चले पनि । र, तेस्रो युगको सुरुवात ओस्कार अवार्ड विजेता ‘ला ला ल्यान्ड’ र ‘द ग्रेटेस्ट सोम्यान’ पछि सुरु भएको मानिएको छ ।

प्रकाशित : श्रावण ३१, २०७६ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्

नयाँ पुस्ताले सम्झिए योञ्जन

कान्तिपुर संवाददाता

काठमाडौँ — अग्रज संगीतकार एवं गायक गोपाल योञ्जन बाँचेका भए, यतिबेला ७६ वर्षका हुन्थे । उस्तै जोसका साथ गीत गाइरहेका हुन्थे । बिहीबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा भने उनका गीत नयाँ पुस्ताले गाए ।

२२ वर्षअघि दिवंगत उनै ‘संगीत सम्राट’ को सम्झना गरे । नाचघरको मिनी हलमा ‘देशले रगत मागे, मलाई बलि चढाऊ...’, ‘हिमालसरी म अग्लिरहेछु...’, ‘बनेको छ पहराले यो छाती मेरो...’ जस्ता गीत गुन्जिरहेको बेला माहोल भावुक बन्यो ।

नाचघरसँगै मधुरीमा नेपाल कलाकेन्द्रले गरेको कार्यक्रमको सुरुमै गायक विपिन घिमिरे र शिला विष्टले ‘हिमालसरी...’ गाएर योञ्जनप्रति श्रद्धासुमन प्रकट गरे । यसपछि कर्म ग्याल्छेनले ‘यति चोखो यति मीठो...’
गाउँदा दर्शकश्रोता भावुक बने ।

गोपाल योञ्जनका गीत रचनामाथि प्रकाश पार्दै नाचघरकै पूर्व महाप्रबन्धक एवं साहित्यकार भूपाल राईले ‘योञ्जनको व्यक्तित्व गायक, संगीतकार र गीतकार गरी त्रिआयामिक भए पनि गीत रचनाको पाटो सधैं ओझेलमा परेको दाबी गरे । ‘उहाँले यति मीठा गीत रचना गर्नुभएको छ कि ती सदाबहार छन्, अर्थपूर्ण छन् र विचारप्रधान छन्,’ राईले भने, ‘तर, स्वर र संगीतले उहाँको गीतकारिता छायामा पर्‍यो ।’

संसारमा स्रष्टाहरू राज्यले र जनताले गरी दुई प्रकारको बन्ने परम्परा रहेको दाबी गर्दै राईले ‘योञ्जन जनताले बनाएको गायक’ रहेको बताए । ‘पञ्चायतको समय दार्जिलिङबाट आउनुभयो, उताबाट आएकाहरू थुप्रै त्यति बेला राजा महेन्द्रको चाकडीतिर लागे, जागिरे भए । तर, उहाँ कहिल्यै पनि सत्ताको चाकडीमा लाग्नुभएन, देशभक्तिपूर्णरूपमा आफ्नै ढंगले लागिरहनुभयो,’ उनले भने, ‘लोकजीवनबाट पनि संगीत तत्त्वको खोजी गर्नुभयो ।’

राईले तामाङ समुदायको संगीत परम्परा र भाषिक चेतनालाई पनि नेपाली आधुनिक संगीतमा मिसाउने काम उनै योञ्जनले गरेको दाबी गरे । पचासको सुरुवाती दशक आफ्ना केही गीतमा संगीत भर्ने गरी योञ्जनसँग संगत बढेको र केही गीतसंगीत गर्दागर्दै टुहुरो बनेको बताउँदै राईले भने, ‘उहाँको व्यक्तित्व लोभलाग्दो थियो, शालीन र भलादमी । तर, देशबाट जति सम्मान पाउनुपर्ने हो त्यो भएन ।’

यसपछि योञ्जनकै गीत प्रस्तुत गरे विनय लामाले । उनले हार्मोनियम फिटदै ‘ए मलाई माया गर्छु भन्नेहरू...’ सुनाएपछि गायिका लक्ष्मी गुरुङले ‘देशले रगत मागे...’ सुनाइन् । इन्दिरा गोले र प्रेम लोप्चनले गाएको तामाङ सेलोमा दर्शक नाच्न तम्सिए । यी दुईको प्रस्तुति जोसिलो थियो ।

नारायण लामाले ‘बनेको छ पहराले यो छाती मेरो...’ गाउँदै गर्दा भने हल पूरै सुनसान बन्यो । योञ्जनकै व्यक्तित्व र कृतित्वमाथि चर्चा गर्दै गायक छत्र गुरुङले शब्दकै कारण योञ्जनका दुईवटा गीत पञ्चायत कालमा प्रतिबन्ध भएको सुनाए । योञ्जनसँगै आत्मीय पलहरू बिताएका गीतकार, अर्थविद् एवं पूर्वराजदूत विश्वम्बर प्याकुरेलले ‘नेपाली आधुनिक संगीतलाई स्वर्णिम बनाउन योञ्जन र नारायणगोपालको योगदान अमूल्य रहेको’ बताए ।

उनले सँगैका यात्राहरूलाई समेटिएर बायोग्राफी नै तयार पारेको सुनाउँदै राज्यका तर्फबाट कालजयी सिर्जना सुरक्षित गर्नुपर्ने धारणा राखे । जनसांस्कृतिक महासंघका संयोजक खगेन्द्र राई र राष्ट्रियसभा सदस्य एवं साहित्यकार खेम नेपालीले पनि योञ्जनको सम्झना गरे ।

नेकपा सम्बद्ध नेपालीले ‘राष्ट्रवादी सांस्कृतिक चेतनाको हिसाबले राजा महेन्द्रको प्रशंसा गर्नुपर्ने’ बताउँदै पञ्चायतकालमा मुलुकबाहिरबाट थुप्रै प्रतिभा बोलाएर नेपाली संगीतलाई बलियो बनाउन सघाएको तर्क गरे । उनको आशय योञ्जनप्रति लक्षित भए पनि योञ्जन भने राजा महेन्द्रले बोलाएर आएका थिएनन् ।

दार्जिलिङमा हिमालयन कला केन्द्र खोलेर नेपाली आधुनिक संगीतलाई मलजल गरिरहेकै बेला योञ्जन एमए पढ्न काठमाडौं आएका थिए । संगीतज्ञ अम्बर गुरुङले आफू दिवंगत हुनुअघि एक अन्तरवार्तामा भनेका छन्, ‘योञ्जन मभन्दा अघि नै पढ्न काठमाडौं आएका थिए, मचाहिँ राजा महेन्द्रले जन्मोत्सवमा बोलाएर आएँ ।’

मधुरिमाले हरेक वर्ष गोपालको जन्मजयन्ती मनाउँदै आएको छ । भारतको दार्जिलिङमा विसं २००० मा जन्मिएका योञ्जनको २०५४ मा निधन भएको थियो । उनले राष्ट्रिय भाव, माया प्रेम, बालबालिका केन्द्रितदेखि खेलकुद विधाका गीत/संगीत सिर्जनासमेत गरेका थिए ।

कालजयी गीतका स्रष्टा योञ्जनको सांगीतिक ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्न हरेक वर्ष कार्यक्रम गर्दै आएको मधुरिमाका अध्यक्ष एवं गायक/संगीतकार प्रदीप बमजनले बताए ।

प्रकाशित : श्रावण ३१, २०७६ ०८:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×