गायिका अञ्जु पन्त भन्छिन् - 'मलाई प्रभाव पार्ने पुरुष जन्मिएकै छैन'

रामजी ज्ञवाली

काठमाडौँ — गायिका अञ्जु पन्तले नेपालको संगीतमा दर्जनौं सुमधुर गीत गाएकी छिन् । उनका आवाजमा अहिलेसम्म लगभग ६ हजार बढी गीत रेकर्ड भइसके । गायिका पन्त अहिले पनि चर्चित र व्यस्त गायिकामा गनिन्छिन् । उनको व्यक्तिगत जीवनमा निकै उतारचढाव आयो । तर, सांगीतिक करिअरमा भने कहिल्यै असफलताको स्वाद चाख्नुपरेको छैन । रेकर्डिङमा व्यस्त रहने अन्जुसँग यसपटकको ‘पुरुषवार्ता’ । 

तपाईंको जीवनमा प्रभाव पारेको पुरुष?
मलाई प्रभाव पार्ने पुरुष जन्मिएकै छैन।

अहिलेसम्म भेटिएका पुरुषहरु मध्ये सबैभन्दा सहयोगी पुरुष?
विश्वास गर्न लायक पुरुष त मेरो बुबा नै हो।

सबैभन्दा धेरै माया कुन पुरुषको लाग्छ?
दाई, भाइ र छोराहरुकै लाग्छ।

जहिलेपनि घृणा लाग्ने केटामान्छे को छ?
नाम नभनौं है।

आजभोलीका युवाहरुको विषयमा केहि भन्नुहुन्छ कि?
वास्तवमा मैले दिनहुँजसो दुई जिव्रे पुरुष भेट्छु। एक जिव्रे, जसलाई विश्वास गर्न सकियोस्, त्यस्तो किसिमको पुरुष भेट्न सकेकी छैन। महिलालाई रेस्पेक्ट गर्ने पुरुष भेट्टाउनै मुस्किल छ।

सपनामा आइरहने कोही पुरुष छ?
छैन। बिहे अघि कसैसँग प्रेम भएन। बिहेको एउटा यात्रा रोकिएपछि कोही पुरुष कल्पनामा आएन।

पहिलोपटक डेटकोसँग जानुभयो?
श्रीमानसँग त हो। बिहे हुने बेलासम्म मलाई डेटिङ भन्ने कुरा थाहा थिएन।

तपाईंको सबैभन्दा धेरै पिछा गरेको पुरुष?
टिनएजमा हुँदा एकजना पुरुष एकदमै पछि लागेर हैरान पारेका थिए। मान्छे सानी सानी, केही भन्न नसक्ने स्वभावकी थिएँ। तर, उनी त पछि घरसम्म नै आउन थाले। संगीत सिक्न जाने बेलामा उहीँ जाने, घर आउने बेलामा घरै आउन थालेपछि हैरान भएँ। मैले यो कुरा घरमा समेत भनें। अन्ततः घरपरिवारको सल्लाह अनुसार प्रहरीमा उजुरी गरेर जेलसम्म पुर्‍याउन बाध्य भएँ। पछि सहमतिमा उनी छुटे।

प्रेममा धोका दिएको पहिलो पुरुष?
त्यही मनोज त हो। मलाई दुःख दिने पनि उही, पीडा दिनेपनि उही।

पहिलो पटक लभ लेटर कस्ले लेख्यो?
धेरै बर्षअघिको कुरा हो। प्रेम के हो भन्ने समेत थाहा थिएन। टिनएजमा हुँदाको समय थियो। स्कुल हुँदाको समयमा हो उहाँले लभ लेटर लेखेको। तर, उहाँ केही समयअघि बित्नुभएछ। हालै मात्र थाहा पाएँ। निकै नरमाइलो लागेको छ।

पहिलोपटक बिहेको प्रस्ताव गर्ने पुरुष?
१७ वर्षको हुँदाको समयमा हो। पुरुषको नाम नभनुँ।

बिहे गर्नुपरे कस्तो केटा पाइयोस् भनेर सोच्नुभएको छ?
बिहे नगर्ने। बिहे भएपछि निकै तड्पिएँ। केटा मान्छेले निकै अधिनमा राख्न खोज्छन्। मेरो मन भाँचिएको छ। फेरी बिहे हुन्छ जस्तो लागेकै छैन।

अहिले कोही पछि लागेका छैनन्?
४–५ वर्षदेखि पछि लागेका धेरै छन्। बिहे गरौं भन्नेहरु पनि आउनुभएको छ।

जीवनमा सबैभन्दा धेरै मन दुःखाएको पुरुष?
त्यही मनोज हो।

सबैभन्दा मनपर्ने चलचित्रको हिरो?
अमिताभ बच्चन। अमिताभ मेरो आफ्नो बा जस्तै हुनुहुन्छ।

सबैभन्दा मन परेको पुरुष निर्देशक?
संजय लिला भन्साली। स्क्रिप्ट देखि निर्देशन देखि सबै कुरामामा उहाँले गर्ने मिहेनतको म फ्यान हो।

सबैभन्दा धेरै फोनमा कुन पुरुषसँग कुरा हुन्छ?
ठ्याक्कै यहि भन्ने छैन। म बिरामी हुने बेलामा राजकुमार घिमिरे २४ सै घण्टा गफ गर्नुहुन्थ्यो। अहिले निको भएँ, ठिक छु। अहिले धेरैसँग कुरा भैरहेको हुन्छ।

सबैभन्दा मन पर्ने पुरुष नेता?
मदन भण्डारी। तर, अहिले उहाँ हुनुहुन्न। उहाँ भएको भए नेपाल यत्तिको भद्रगोल हुँदैन थियो कि।

ड्रेस सेन्स भएको हृयाण्डसम पुरुष?
भुवन दाइ।

कोही पुरुषले तपाईंको हातको झापड खाएका छन्?
हान्या छु। राम्रैसँग कुट्या छु। यसरी मेरो हातबाट कुटाइ खाने पुरुष धेरै छन्।

प्रकाशित : श्रावण २८, २०७६ १५:२४
प्रतिक्रिया
पठाउनुहोस्

सपनामा आइरहने युवती एन्जेलिना जोली हुन् - नायक आर्यन सिग्देल

रामजी ज्ञवाली

काठमाडौँ — जब आर्यन सिग्देलको चलचित्र उद्योगमा प्रवेश भयो, त्यही बेलादेखि उनी माथि २ वटा ट्याग लाग्यो-ड्रंकर र लेडी किलर । लभ स्टोरी विधाका चलचित्रमा धेरै पारिश्रमिक लिने महँगा नायकको रुपमा समेत चिनिए आर्यन ।

उनलाई चुजी र घमण्डी हिरोको समेत संज्ञा दिइयो। यद्यपी, आर्यनले आफूमाथि लागेका ट्यागहरुलाई विस्तारै गलत साबित गर्दै गए। लभ स्टोरी विधाका चलचित्रबाट धेरै युवतीको 'दिवाना' बनेका आर्यनको फ्यान फलोइङ अहिले पनि उत्तिकै राम्रो छ। निर्माता तथा निर्देशकको नजरमा उनले गहिरो छाप छोडेका छन्। उनी धेरै चुजी थिए, अहिले सकेसम्म राम्रा चलचित्र नछोड्ने मुडमा छन्। उनै आर्यनसँग यसपटक भिन्न विषयवस्तुमा रहेर रामजी ज्ञवालीले गफ गरे- महिला वार्ता।

तपाईंको जीवनमा महिलाले कत्ति प्रभाव पारेका छन्?
अहिलेसम्म धेरै महिलाको संगत गरियो। सानो छँदा दिदीबहिनी, स्कुल जान थालेपछि केटी साथीहरु, क्याम्पस पढ्न थालेपछि पनि धेरै युवतीसँग हिँड्डुल भयो। कुराकानी भयो। म सानैदेखि टेलिभिजन हेर्ने भएकाले स्क्रिनमा देखिने महिला क्यारेक्टरहरुप्रति पनि ध्यान जान्थ्यो। यहाँसम्म आइपुग्दा अनेकखाले महिलाले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रभाव पारेका छन्। तर, यस्तो युवतीको कारण जीवननै फेरियो भन्ने भएन।

जीवनमा पहिलोपटक भेटेको महिला चिन्नुहुन्छ?
मलाई लाग्छ, मम्मी (शारदा) सिग्देल नै हुनुन्छ।

स्कुल पढ्ने बेलामा एकदमै मिल्ने महिला साथीलाई याद गर्नुभएको छ?
कक्षा ८ मा पढ्ने बेलामा यमुना तामाङ भन्ने एकजना हुनुहुन्थ्यो। उहाँसँग अलिकति नजिक थिएा। अरुलाई चिनेपनि खासै नजिक हुन सकिएन।

तपाईंको जीवनमा सबैभन्दा धेरै सहयोगी महिला को हुनुन्छ?
मेरी श्रीमती (सपना) हो। उनको सहयोग कसरी बयान गर्न सक्छु र? जब उनी मेरो जीवनको म्यानेजर बनेर आइन्, असम्भव धेरै कुरा सम्भव भए। जीवनले नयाँ मोड लियो। त्यो भन्दा धेरै ठूलो कुरा मलाई सधैं खुसी बनाएर राख्न सकेकी छिन्।

सबैभन्दा धेरै माया लाग्ने युवती को होला?
माया त मम्मी, श्रीमतीको पनि नलाग्ने होइन। तर, मलाई मेरो बहिनी यशोदा सिग्देलको असाध्यै धेरै माया लाग्छ।

कस्ता युवती देख्दा झर्को लाग्छ?
पतर-पतर बोलेको बोलै गर्ने युवती देख्न पनि रुचाउन्न। कोही भेटियो भने ज्वरो आउँछ। धेरै पटक त म बिचमै आफ्नो बाटो लागेको पनि छु।

सबैभन्दा धेरै सपनामा आउने युवती को होला?
एन्जेलिना जोली हुन्। म अहिले विवाहित हो। तर, अविवाहित हुने बेलामा समेत एन्जेलिनाले सपनामा आएर तनावै पारिन्। खै, किन सपनामा आइरहनुपरेको, भेट भयो भने पक्कै सोध्नेछु (हाहाहा...)

कल्पनामा आइरहने महिला चाहिँ?
म विवाहित भएकाले कोही युवतीबारेमा कल्पना नै गर्दिनँ।

पहिलोपटक डेट गएको युवतीको सम्झना छ?
नाम त भन्न मिल्दैन। तर, कक्षा ११ मा पढ्ने बेलामा एकजना युवती हुनुहुन्थ्यो।

यो प्रेम किन सफल हुन सकेन?
होइन, त्यो बेलाको खासै धेरै कुरा नगरौं। तर, हामी समझदारीमै छुटेका हौं।

अहिलेसम्म कति युवतीलाई लभ लेटर लेख्नुभयो याद छ?
नढाटेरै भन्ने हो भने आजका मितिसम्म कुनै युवतीलाई लभ लेटर लेखेको छैन। अहिले मेरो श्रीमती सपनासँग पनि लभ म्यारिज हो, तर उनीसँग पनि लभ लेटर नलेखेरै बिहे भयो।

पहिलोपटक लभ लेटर कसले लेख्यो?
मैले पाएको छु, तर मैले त्यो बेलामा पनि भेटेरै जवाफ दिन्थेँ।

विवाहित भएपनि निकै हृयाण्डसम हुनुहुन्छ, कोही युवतीले अहिले पनि बिहेको प्रस्ताव राखेका छन्?
गरेका छन्। सामान्य प्रस्ताव गर्नेहरुलाई खासै रेस्पोन्स गरेको छैन, अति गर्नेलाई राम्रैसँग सम्झाएको छु।

बिहे भएपछि यस्तो युवती पाएँ भने दोस्रो बिहे गर्थे भन्ने कोही छ?
छैन। अर्को कुरा त्यस्तो नकारात्मक कुरा मैले सोचेको पनि छैन।

डेटमा जान मन लागेको युवती?
छैन।

संसारकी सबैभन्दा सुन्दर महिला को लाग्छ?
मेनालिसा।

जतिबेला कुरा भइरहने महिला?
मेरो बहिनी र श्रीमती।

ड्रेस सेन्स भएकी युवती?
आजभोलिका युवतीहरु सबै चिटिक्क परेर हिँड्छन्। सबै सुन्दर लाग्छन्।

अहिलेसम्म धेरै महिला क्यारेक्टरसँग एक्टिङ गर्नुभयो, सबैभन्दा मन पर्ने महिला क्यारेक्टर?
अभिनयका हिसावले र दर्शकले मन पराएको जोडिको हिसावले नम्रता श्रेष्ठ नै होला।

कुनै महिलाले दिएको जिन्दगीभरी बिर्सन नसकिने गिफ्ट?
मेरो श्रीमतीले वैशाख ६ गते जिन्दगीभरी नबिर्सने गिफ्ट (सन्तान) दिएकी छिन्। सायद यो भन्दा धेरै महत्वपूर्ण गिफ्ट के होला र?

प्रकाशित : श्रावण २१, २०७६ १४:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्