बर्खा गयो, यार्तुङ आयो

दीपक परियार

मुस्ताङ — गहुँ र उवा थन्क्याएपछि मुस्ताङी यतिबेला फुर्सदिला छन् । गुलियो–तीतेफापर र स्याउ पाक्ने बेला भइसकेको छैन । बर्खालाई बिदाई गर्दा मुस्ताङको वारागुङ मुक्तिक्षेत्रमा पर्व चल्छ । मुस्ताङ यतिखेर ‘यार्तुङ’ मनाइरहेछ । 

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको मुक्तिनाथ रानीपौवा क्षेत्रमा सोमबारदेखि सुरु भएको ऐतिहासिक यार्तुङ महोत्सवमा घोडा दौडाउँदै र दौडिरहेको घोडाबाट खादा टिप्दै स्थानीय युवा । तस्बिर : दीपक/कान्तिपुर

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका स्थानीयले साउनको औंसीदेखि भदौको औंसीसम्म एक महिना यार्तुङ मनाउँछन् ।

गाउँपालिकाभित्रका १९ गाउँले एक महिनाभित्र फरक–फरक दिन यो पर्व मनाउने गर्छन् । साउनको औंसीमा झोङ, पुटाक गाउँमा मनाइन्छ । दसमीमा खिंगा गाउँ, जनैपूर्णिमामा मुक्तिनाथ र झारकोट र भदौको औंसीमा छेंगुरका स्थानीय यार्तुङमा रमाउँछन् ।

खिंगाका स्थानीय नाम्ग्या गुरुङका अनुसार यार्तुङको कहिलेदेखि मनाउन थालिएको भन्ने यकिन इतिहास छैन । थाहा भएसम्म धेरैअघिबाट हो । उनी यार्तुङलाई प्रकृति पुज्ने पर्वका रूपमा मान्छन् । ‘यार्तुङपछि लेकमा घाँस पहेंलो हुँदै जान्छ, दिन छोटिँदै जान्छन्, जाडो बढ्दै जान्छ,’ उनले भने, ‘बर्खा सकिएपछि हर्षोल्लास हुन्छ ।’

तिब्बती भाषामा ‘यार’ को अर्थ ‘बर्खा’ र ‘तुङ’ को अर्थ ‘मेला’ हुन्छ । यतिबेला टाढा भएका आफन्त गाउँ फर्कर्न्छन् । वारागुङका घरघरमा मिठो–मसिनो खान्छन् । आ–आफ्नो गाउँमा भेला भएर नाचगानमा रमाउँछन् । गहुँको रोटी, याकको मासु, फापरको पिठोका परिकार, उवाको जाँड र रक्सीले यार्तुङ मनाउँछन् ।

गाउँमा भेला हुँदा पुर्ख्यौली पहिरन लगाउनुपर्छ । पुस्तौं पुराना घोचेन (बख्खु), ढोचा लगाएर यार्तुङमा सहभागी हुँदा आँटे–ताकेको पुग्ने जनविश्वास छ । ‘अलि अघिका पुस्ताले च्यातिएकै भए पनि सय–डेढ सय वर्ष पुराना पहिरन लगाउँछन्,’ ४९ वर्षीय नाम्ग्या गुरुङले भने, ‘अहिलेको पुस्ताले नयाँ सिलाउने चलन छ ।’ कपडाको गुणस्तर अनुसार घोचेनको मूल्य ३० हजारदेखि ४ लाख रुपैयाँसम्म पर्छ । बनारस र तिब्बतबाट घोचेन आउँछन् । किन्ने क्षमता नहुनेले आफन्तसँग सरसापट गर्छन् । यार्तुङको समयमा स्थानीयले विशेषगरी गरगहना सापटी मागेर लगाउने चलन पनि छ ।

यार्तुङ घोडचढीसँग पनि जोडिन्छ । मेला लाग्ने ठाउँमा हरेक घरले एक–एक घोडा ल्याउँछन् । घोडा नहुने घरले दुईवटा भएकासँग मागेर ल्याउँछन् । घोडाले देखाउने कौशलले समाजमा इज्जत उँचो बनाउने विश्वास गरिन्छ । आजकल घोडाको मूल्य ६० हजारदेखि ५ लाख रुपैयाँसम्म पर्छ । ‘जे–जे बेचेर भए पनि गतिलो घोडा पाल्छु भन्ने भावना यहाँका मानिसमा हुन्छ,’ गुरुङले भने, ‘यार्तुङमा देखाउनै भए पनि वर्षभरि घोडाको रेखदेख गरिन्छ ।’

मुस्ताङका युवाले घोडचढी कौशल देखाउने अवसरका रूपमा यार्तुङलाई लिन्छन् । घोडा बजोडले कुद्छ । घोडा कुँदाउनेले भुइँमा भएको खादा र पैसा टिप्ने चलन छ । धेरै खादा, पैसा टिप्न सक्ने घोडाचढी विजेता ठहरिन्छन् । मेलामा स्थानीय स्याब्रो नाच्छन् । एकातर्फ पुरुष र अर्कोतर्फ महिलाले हात गाँसेर गीत गाउँदै नाचिन्छ । सबैको भलो होस् भनेर गीतमार्फत् आशीर्वाद दिइन्छ । कागबेनीकी लक्ष्मी गुरुङले साथीभाइ, नाता, कुटुम्ब मिलेर दिल खोलेर यार्तुङमा स्याब्रो नाच्ने बताइन् ।

उनका अनुसार हिमाली भेग, लेकमा फुल्ने फूलको बयान स्याब्रोमा हुन्छ । स्थानीय भाषामा वारागुङको अर्थ ‘मध्यम अर्थात् बीचको ठाउँ’ हो । उत्तरपट्टि अग्लो तिब्बत र दक्षिणपट्टिको समथर भूभाग बीच भएकाले यसलाई वारागुङ भनिएको हो । हिमाली भेगहरू मनाङ, गोरखाको चुम–नुब्री, डोल्पामा समेत यार्तुङ मनाइन्छ । मुक्तिनाथ रानीपौवाका व्यवसायी सुरज गुरुङका अनुसार पहिला तिब्बती क्यालेन्डरअनुसार यार्तुङ मनाइन्थ्यो । अहिले भने नेपाली पात्रोअनुसार नै मनाइन्छ ।

साउन औंसी, दशमी, पूर्णिमा र भदौको औंसीमा आआफ्नो गाउँमा मनाइने यार्तुङ हाल १९ गाउँले सामूहिक रूपमा मनाउँछन् । मुक्तिनाथ रानीपौवाको जनप्रिय युवा क्लबले ८ वर्षअघि यार्तुङलाई महोत्सवको रूपमा मनाउन सुरु गरेको थियो । भदौ पूर्णिमाको अवसरमा यो वर्षदेखि भने गाउँपालिकाले सहकार्य गरेको छ । ‘१९ वटै गाउँमा आआफ्नै तरिकाले मनाउनुहुन्छ,’ जनप्रिय युवा क्लबका सल्लाहकार नाम्ग्या वाडीले भने, ‘नयाँ पुस्ताले छोड्दै गएपछि यसलाई बचाउनुपर्छ भनेर महोत्सवकै रूप दिएका हौं ।’

गाउँपालिका अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङका अनुसार मुक्तिनाथ क्षेत्रमा यार्तुङ मनाउने दिन स्थानीय आआफ्नो घोडा सजाएर गुम्बामा भेला हुन्छन् । मुक्तिनाथ मन्दिर पुग्छन् । त्यहाँ रहेको नरसिंह गुम्बामा पूजाआजा गरी साँझतिर आफ्नो टोलमा फर्कन्छन् । घोडचढीका लागि तयार गरिएको स्थानमा स्थानीय युवाले घोडा दौडाउने कौशल प्रदर्शन गर्छन् । सोमबार महोत्सव उद्घाटनमा गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ मुक्तिनाथ पुगे । ‘यहाँको विकट भूगोल, लुकेका ठाउँ, शिक्षा, स्वास्थ्यको अभावले बढी गरिबी थियो,’ उनले भने, ‘पहिला अभिशाप भएका चिज अहिले वरदान हुँदै गएका छन् ।’

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक रेग्मीका अनुसार महोत्सव सुरु हन थालेदेखि घोडचढीलाई प्रतियोगिताको रूपमा मनाउन थालिएको छ । ३.५ किलोमिटर र १.५ किलोमिटर गरी दुई फरक दुरीको घोडा दौड प्रतियोगिता महोत्सवमा हुने छन् । घोडा दौड झारकोटदेखि रानीपौवासम्म तय गरिएको छ । विजेताले ५० हजार, दोस्रोले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । तारा खेल (आर्चरी), सेभेन–ए–साइड फुटबल प्रतियोगिता, विविध सांस्कृतिक कार्यक्रम महोत्सव अवधिभर हुन्छन् ।

हिमालको काखमा मुक्तिनाथका साथमा याकमा सवार गर्न सकिन्छ । गाउँपालिका भित्रका १९ गाँउकै परम्परागत भेषभूषा प्रदर्शन महोत्सवमा हुन्छ । ऐतिहासिक मास्क डान्स महोत्सवको आकर्षण हो । महोत्सवमा दुई करोड रुपैयाँ बराबरको कारोबार गर्ने लक्ष्य राखिएको छ । १० हजार दर्शकले महोत्सव अवलोकन गर्ने अनुमान छ ।

फापरको पिठो, खुपार्नी, स्याउ तथा जिम्मु लगायत स्थानीय उत्पादन विक्री वितरणमा राखिएको छ । पर्यटन बोर्डका पोखरा कार्यालय प्रबन्धक सूर्य थपलिया महोत्सवले प्रदेश सरकारको आन्तरिक भ्रमण वर्ष २०१९ र नेपाल सरकारको भ्रमण वर्ष २०२० लाई सहयोग पुग्ने अपेक्षा गर्छन् । ‘मुस्ताङको प्रकृतिको मार्केटिङ अब त्यति धेरै आवश्यकता पर्दैन,’ उनी भन्छन्, ‘यहाँका चाडपर्वलाई ‘ब्रान्डिङ’ गरेर अझैं धेरै पर्यटक भित्र्याउन सकिन्छ ।’

प्रकाशित : श्रावण २८, २०७६ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्

लिटरेचर फेस्टिभल मंसिरमा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल लिटरचेर फेस्टिभलको आठौँ संस्करण आउँदो मंसिर २७ देखि ३० गतेसम्म पोखरामा हुने आइतबार बुकवर्म फाउन्डेसनले बताइएको छ ।

महोत्सवमा भारतीय लोकसभाका सांसद एवं लोकप्रिय साहित्यकार शशी थरुर, गीतकार एवं कवि जाभेद अख्तर, अभिनेत्री शबाना आज्मीलगायतचर्चित अन्तर्राष्ट्रिय हस्तीका साथै देशविदेशका १ सय ५० भन्दा बढी साहित्यकार, कलाकारको उपस्थिति रहने फाउन्डेसनले जनाएको छ ।

हजारौं साहित्यकार साहित्यप्रेमीको जमघट हुने महोत्सव देशकै महत्त्वपूर्ण उत्सवका रूपमा मनाउँदै यसै अवसरमा दक्षिण एसियाली साहित्यकै सर्वोत्कृष्ट तथा गरिमामय डीएससी पुरस्कार प्रदान गर्न लागिएको फाउन्डेसनका निर्देशक अजित बरालले बताए । दक्षिण एसियाली साहित्यिक पुरस्कार गुठीले आठ वर्षदेखि प्रदान गर्दै आएको पुरस्कार २५ हजार अमेरिकी डलर (२७ लाख ५० हजार रुपैयाँ) रहेको छ ।

‘डीएससी पुरस्कारसँगको समन्वय र सहकार्यले अन्तर्राष्ट्रिय लेखक, कलाकार, बुद्धिजीवी र राजनीतिज्ञबीच नेपाल लिटरेचर फेस्टिभललाई नै एक तटस्थ दक्षिण एसियाली मञ्चका रूपमा उभ्याउन मद्दत पुर्‍याउनेछ,’ निर्देशक बरालले भने । पुरस्कारको घोषणा फेस्टिभलको अन्तिम दिन गरिने छ ।

सन् २०१६ को डीएससी पुरस्कार श्रीलंकाको ग्याली लिटरेअरीमा, २०१७ को बंगलादेशस्थित ढाका लिटरेअरीमा र २०१८ को भारतको कोलकत्ता लिटरअरी मिटमा घोषणा गरिएको थियो । २०११ मा झम्सीखेलस्थित ज्ञान मण्डलाको सानो आँगनबाट सुरु भएको लिटरेचर फेस्टिभल चौथो संस्करणसम्म काठमाडौंमा गरिएको थियो ।

प्रकाशित : श्रावण २८, २०७६ ०८:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्