पुरानो प्रविधि, पुरानै समय

सुशीला तामा‌ङ

काठमाडौँ — प्रविधिको विकाससँगै समाजले द्रूत गतिमा कोल्टे फेरिसक्यो । कतिपय हिजो देखिएका कुराहरू आज हराइसके । बिराना भइसके । काठमाडौं उपत्यका नै २००७ सालतिर कस्तो थियो होला ? त्यति धेरै टाढा पनि किन ?

बहुदल आएपछिको राजधानीकै सामाजिक अवस्था के थियो ? अहिलेको पुस्ताका लागि त्यही नै नौलो भइसकेको छ । यदाकदा राजनैतिक परिवर्तनका साक्षी बनेका तस्बिरबाहेक कलासंस्कृति र जनजीवन झल्काउन सक्ने तस्बिर अहिले बिरलै देखिन्छन् ।
यतिबेला बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा विरलै देखिने यस्ता दृश्यहरूसित रमाउन सकिन्छ । ‘लाइफ इन एनालग’ शीर्षकमा जारी तस्बिर प्रदर्शनीमा ४४ जना फोटोग्राफर एवं चित्रकार ९० भन्दा बढी तस्बिर राखिएका छन् । ग्यालरीमा राखिएका उक्त तस्बिरहरूले २००७ सालदेखि अहिलेसम्मको इतिहासलाई चित्रण गरेका छन् । यस अवधिमा नेपालको सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिकलगायत पक्षहरूलाई एनालग प्रविधिबाट खिचिएका तस्बिरहरूमार्फत प्रस्तुत गरिएको छ ।

तिनताक क्यामेरा अहिलेको जस्तो सर्वसुलभ थिएनन् । डिजिटल प्रविधिको विकाससँगै फोटो खिच्ने र भण्डारण गर्ने दुवै काम सहज बने । अहिले हातहातमा रहेका मोबाइल क्यामेरा जडित छन् । मन लागे जति फोटो खिच्न र सुरक्षित राख्नु सर्वसाधारणको बशमा छ । तर एनालगको जमानाको कुरै अर्को थियो । एउटा रिलले मुस्किलले ३५/३६ स्न्याप खिच्थ्यो भने नेगेटिभलाई प्रशोधन गरेर फोटो तयार पार्नु अर्को झन्झट हुन्थ्यो । धुलाइएका फोटाहरू पनि सुरक्षित राख्नु अर्को मुस्किलकै काम हुने गर्थ्यो ।

२० औं शताब्दीको अन्त्यतिर डिजिटल प्रविधि भित्रिएसँगै विकसित क्यामेराहरू बजारमा आए । अझ मोबाइलमै गुणस्तरीय क्यामेरा जडान भई आउन थालेपछि त फोटोग्राफीमा क्रान्ति नै भएको छ । जसले गर्दा एनालग प्रविधि यतिबेला शून्यप्रायः भएको छ । बबरमलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा भने तिनै पुरानो प्रविधि एनालगबाट खिचिएका ऐतिहासिक फोटाहरूलाई प्रदर्शनीमा राखेर जीवन्त बनाइएको छ ।

२००७ सालमा बखतबहादुर चित्रकारले खिचेका बस्ती, मानिस र मोटरगाडी देखिने उपत्यकासँगै त्यसताकको घण्टाघर चिनाउने फोटोसहित २०४१ तिर लिइएको फाँटैफाँटै देखिने बौद्ध स्तूप र २०१९ देखि २०२३ सालभित्र खिचिएको सुन्धाराको फोटोमा त्यसताकको काठमाडौं झल्किएको छ । प्रदर्शनीमा राखिएका फोटोमा देखिने फाँटैफाँटैको बीचमा रहेको उपत्यकाले अहिलेको सहरीकरणसँगै साँघुरिएको काठमाडौंलाई जिस्काइरहेझैं लाग्छ ।

अहिले नाम मात्रको सुन्धारा त्यसताका नुहाउने र कपडा धुनेको पँधेरो थियो भन्ने कुरा प्रदर्शनीमा राखिएका एनालग फोटोले बताइरहँदा दर्शक उदेक मानेर हेरिरहन्छन् । फाट्टफुट्ट गाडीहरू गुड्ने त्यसताकका राजधानीका फराकिलो लाग्ने ती सडक छोटो समयमै कसरी दैनिक ट्राफिक जाम थेग्ने व्यस्त सडक बने भन्ने तुलनात्मक अध्ययन नगरी प्रदर्शनी अवलोकनकर्तालाई धरै छैन ।

त्यस्तैगरी, २०४३ तिर मीन बज्राचार्यले खिचेको फोटोमा सहरको डबलीतिर ग्रामीण भेगका महिलाहरू दाउराको भारी बिसाएर बसिरहेको फोटोले गाउँबाट दाउरा बोकेर ल्याई सहरतिर बेची जीविकोपार्जन गर्ने आम मानिसको दैनिकीलाई उजागर गरिदिएको छ ।

पुरानो प्रविधिको महत्त्व र त्यतिबेला विकास भएका फोटोहरूका माध्यमबाट हाम्रो पुरानो नेपाल देखाउन नै प्रदर्शनी गरिएको फोटोग्राफर अभिषेक शाहले बताए । ‘एनालग प्रविधिमा तयार भएका फोटोहरू यहाँ छन्,’उनले भने, ‘हालसालै बनेको एनालग फोटोबाट यो प्रविधि अझै जीवितै छ भन्ने देखाउनु प्रदर्शनीको अर्को उद्देश्य हो ।’

शाहले एनालग प्रविधिले फोटोग्राफरलाई कामप्रति एकदमै सचेत र सजक बनाउने भएकोले फोटोहरू पनि सृजनशील हुने गरेको बताउँछन् । ‘एनालग पनि फोटोग्राफीको एउटा आर्ट फर्म हो । यसलाई हराउन दिनुहुन्न’ उनले भने ।

प्रदर्शनीमा कुनै मिति उल्लेख नभएका ‘चित्रकार फ्यामिली अर्काइभ’ अन्तर्गत रहेका महिला तथा पुरुषहरूको श्यामश्वेत फोटाहरूले निकै पुरानो समयको चित्रण गर्छ । त्यस्तै २०२७ मा तीर्थराज राईले खिचेको कुनै पारिवारिक उत्सव र घोडा चढ्न लागेको फोटोहरूले पनि पुरानो जीवन पद्धति र संस्कारलाई झल्काउँछ । प्रदर्शनी अवलोकन गर्दै सोलुखुम्बुका चक्र कार्कीले यी फोटाहरूले वास्तविक नेपालको चित्र दिइरहेको बताए । उनले भने, ‘यसबाट नेपाल कस्तो थियो र अहिले कस्तो छ भनेर तुलानात्मक रूपमा बुझ्न सकिन्छ ।’

नेवारी संस्कृतिमा रहेको खर्पन संस्कृति, विभिन्न पर्वहरूमा नाचिने लाखे नाच, काठमाडौंउपत्यकाको पुरानो घरहरूका तस्बिरहरू पनि प्रदर्शनीमा राखिएका छन् ।

प्रकाशित : श्रावण २८, २०७६ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्

कलामा अनुभूति

रूपा गहतराज

नेपालगन्ज — रंगले जीवनमा के महत्त्व राख्छ ? रंगबिना जीवनको के अर्थ होला ? यस्तै प्रश्नको जवाफ खोजिरहेका थिए, खजुरमा जम्मा भएका बालिका र किशोरीले ।


कोहीले चित्रमार्फत्, कसैले गीत र कतिले शब्दमार्फत् आफ्ना अनुभूति छताछुल्ल पारिरहेका थिए । बाँकेको खजुरास्थित ज्ञानोदय माविमा जम्मा भएका उनीहरू निर्धक्क खुसी अनि कुण्ठालाई आफ्नै पारमा पोखिरहेका थिए । खजुराकी रमा पासी (नाम परिवर्तन) कक्षा सातसम्म विद्यालय जान पाइन् । १६ वर्षमा उनको बिहे भयो ।

त्यसपछि उनको पढाइ रोकियो । तर किन हो, बिहे गरे पनि उनी पतिको घर भने गएकी छैनन् । माइतीमा पढने वातावरण छैन । ‘सानैमा आमाबाबुले बिहे गरिदिएर पढ्न पाइनँ,’ उनले भनिन्, ‘अब ससुरालमा कसरी बस्ने हो सोचेर पनि डर लाग्छ ।’ उनको २० वर्षपछि बिहे गर्ने योजनाथियो । उनलाई औधि पढन मनलाग्ने बताउँछिन् ।

बालिका किशोरीले तयार पारेको कलाको प्रदर्शनीमा निर्धक्क आफ्ना भावना प्रस्तुत गरे । खजुरा ४ स्वस्तिका बूढा क्षेत्रीले पहिलो पटक रंगको महत्त्व बुझिन् । ‘रंगबिना त हामी अधुरो पो हुँदा रहेछौँ,’ उनले भनिन्, ‘यसअघि रंगसँग खेल्ने इच्छा पनि भएन । समय पनि थिएन ।’ बल्ल उनले रंगको महत्त्व बुझिन् । नीलो रंगले उनलाई खुसी अनि ऊर्जा दिन्छ । कालो रंग उनका लागि घृणाको प्रतीक हो । ‘रंगबाट जीवन महसुस गर्न सक्छौं,’ खजुरा ४ की दीपा सुनारले भनिन्, ‘चित्रमा रंग भर्नुपुरानो सोख हो ।’ उनले चित्रमार्फत् आफ्ना इच्छा अनि आवश्यकता प्रस्तुत गरेको बताइन् ।

कतिपय किशोरी तथा बालिकाले आफूलाई परेको भेदभाव तथा हिंसालाई गीत अनि कवितामार्फत प्रस्तुत गरे । उनीहरूले समाजमा सबै समान भएकाले लिंग, जात, वर्गीय विभेदको अन्त्यको कामना गरे । अपांगलाई समान रूपले हेर्न, नारीलाई सम्मान गर्न अनुरोध गरे ।

उनीहरूले महिलालाई सुरक्षित तथा आत्मसम्मानका साथ बाँच्न दिने वातावरण निर्माण गर्न माग गरे । कलाबारे सिकाउँदै आएकी सुनिता महर्जनले कलाबाट नबोलेर पनि कुरा बताउन सकिने बताइन् । ‘त्यहाँ भाषा होइन । अनुभूति नै सबथोक हुन्छ,’ उनले भनिन्, ‘कलामार्फत् थोरै बोलेर धेरै कुरा बुझाउन सकिन्छ ।’

प्रकाशित : श्रावण २८, २०७६ ०८:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्