कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कलामा अनुभूति

रूपा गहतराज

नेपालगन्ज — रंगले जीवनमा के महत्त्व राख्छ ? रंगबिना जीवनको के अर्थ होला ? यस्तै प्रश्नको जवाफ खोजिरहेका थिए, खजुरमा जम्मा भएका बालिका र किशोरीले ।

कोहीले चित्रमार्फत्, कसैले गीत र कतिले शब्दमार्फत् आफ्ना अनुभूति छताछुल्ल पारिरहेका थिए । बाँकेको खजुरास्थित ज्ञानोदय माविमा जम्मा भएका उनीहरू निर्धक्क खुसी अनि कुण्ठालाई आफ्नै पारमा पोखिरहेका थिए । खजुराकी रमा पासी (नाम परिवर्तन) कक्षा सातसम्म विद्यालय जान पाइन् । १६ वर्षमा उनको बिहे भयो ।

त्यसपछि उनको पढाइ रोकियो । तर किन हो, बिहे गरे पनि उनी पतिको घर भने गएकी छैनन् । माइतीमा पढने वातावरण छैन । ‘सानैमा आमाबाबुले बिहे गरिदिएर पढ्न पाइनँ,’ उनले भनिन्, ‘अब ससुरालमा कसरी बस्ने हो सोचेर पनि डर लाग्छ ।’ उनको २० वर्षपछि बिहे गर्ने योजना थियो । उनलाई औधि पढन मन लाग्ने बताउँछिन् ।

बालिका किशोरीले तयार पारेको कलाको प्रदर्शनीमा निर्धक्क आफ्ना भावना प्रस्तुत गरे । खजुरा ४ स्वस्तिका बूढा क्षेत्रीले पहिलो पटक रंगको महत्त्व बुझिन् । ‘रंगबिना त हामी अधुरो पो हुँदा रहेछौँ,’ उनले भनिन्, ‘यसअघि रंगसँग खेल्ने इच्छा पनि भएन । समय पनि थिएन ।’ बल्ल उनले रंगको महत्त्व बुझिन् । नीलो रंगले उनलाई खुसी अनि ऊर्जा दिन्छ । कालो रंग उनका लागि घृणाको प्रतीक हो । ‘रंगबाट जीवन महसुस गर्न सक्छौं,’ खजुरा ४ की दीपा सुनारले भनिन्, ‘चित्रमा रंग भर्नु पुरानो सोख हो ।’ उनले चित्रमार्फत् आफ्ना इच्छा अनि आवश्यकता प्रस्तुत गरेको बताइन् ।

कतिपय किशोरी तथा बालिकाले आफूलाई परेको भेदभाव तथा हिंसालाई गीत अनि कवितामार्फत प्रस्तुत गरे । उनीहरूले समाजमा सबै समान भएकाले लिंग, जात, वर्गीय विभेदको अन्त्यको कामना गरे । अपांगलाई समान रूपले हेर्न, नारीलाई सम्मान गर्न अनुरोध गरे ।

उनीहरूले महिलालाई सुरक्षित तथा आत्मसम्मानका साथ बाँच्न दिने वातावरण निर्माण गर्न माग गरे । कलाबारे सिकाउँदै आएकी सुनिता महर्जनले कलाबाट नबोलेर पनि कुरा बताउन सकिने बताइन् । ‘त्यहाँ भाषा होइन । अनुभूति नै सबथोक हुन्छ,’ उनले भनिन्, ‘कलामार्फत् थोरै बोलेर धेरै कुरा बुझाउन सकिन्छ ।’

प्रकाशित : श्रावण २८, २०७६ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?