१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

‘अन्धाधुन’ लाई नेसनल फिल्म अवार्ड

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतको प्रतिष्ठित नेसनल फिल्म अवार्डमा ‘अन्धाधुन’ लाई हिन्दी भाषाको उत्कृष्ट फिल्म घोषणा गरिएको छ । अवार्डको ६६ औं संस्करणमा विजेताको सूची दिल्लीको शास्त्री भवनमा आयोजित एक कार्यक्रममा घोषणा गरिएको हो ।

‘अन्धाधुन’ लाई नेसनल फिल्म अवार्ड

गत वर्ष प्रदर्शनमा आएका भारतीय फिल्महरूमा गुजराती फिल्म ‘हेल्लारो’ उत्कृष्ट फिचर फिल्म बनेको छ ।


श्रीराम राघवन निर्देशित ‘अन्धाधुन’ बाट आयुष्मान खुरानाले सर्वश्रेष्ठ अभिनेताको अवार्ड जिते । खुरानाले उक्त उपाधि फिल्म ‘उरी ः द सर्जिकल स्ट्राइक’ का अभिनेता विक्की कौशलसँगै साझेदारी गरेका छन् । उत्कृष्ट अभिनेत्रीतर्फको अवार्ड तेलुगू फिल्म ‘महानटी’ बाट कीर्ति सुरेशले जितिन् । कीर्तिले बलिउड अभिनेत्रीहरूलाई समेत उक्त विधामा उछिनेकी हुन् । ‘महानटी’ ले तेलुगू भाषामा बनेका फिल्ममध्ये सर्वोत्कृष्टको अवार्ड पनि जितेको हो ।


दृष्टिविहीन पियानोवादकको भूमिकामा देखिएका आयुष्मानका लागि यो पहिलो नेसनल अवार्ड हो । त्यसो त उनले अभिनेताको छोटो करिअरमै चार फिल्मफेयर अवार्ड जितिसकेका छन् । थ्रिलर फिल्म ‘अन्धाधुन’ मा आयुष्मानसँगै राधिका आप्टे र तब्बूको मुख्य भूमिका रहेको छ । यसै वर्ष आयुष्मान अभिनीत फिल्म ‘बधाई हो’ ले पनि नेसनल अवार्डमा लोकप्रिय फिल्मका रूपमा घोषणा गरियो भने, यसै फिल्मबाट सहअभिनेत्रीको अवार्ड पनि सुरेखा सिकरीको नाममा रह्यो ।


अवार्ड जितेपछि आफ्नो मिहिनेतको कदर भएकोमा खुसी व्यक्त गर्दै आयुष्मानले भनेका छन्, ‘मेरा जुन दुई फिल्म (बधाई हो र अन्धाधुन) ले अवार्ड जितेका छन्, यी दुवै फिल्म लिकबाट हटेर बनाइएका थिए । म सधैं यस्तै फिल्म गर्न चाहन्छु ।’ पछिल्लो पटक उनी ‘आर्टिकल १५’ मा देखिएका थिए ।


उत्कृष्ट निर्देशकको अवार्ड पनि ‘उरी’ बाटै आदित्य धरले जिते । आदित्यले झन्डै १५ वर्ष लगातार असफलता बेहोर्दै आएका थिए । उक्त अवार्डलाई उनले भारतीय सैनिकप्रति समर्पित गर्न चाहेको बताए । त्यसैगरी, सहायक अभिनेतातर्फको नेसनल अवार्ड फिल्म ‘चुम्बक’ बाट स्वानन्द किरकिरेले पाएका छन् ।


फिल्म ‘पद्मावत’ बाट सञ्जयलीला भन्सालीले संगीत निर्देशन र अरजित सिंहले गायकका लागि विधागत नेसनल अवार्ड जिते । एक्सनतर्फ ‘केजीएफ’ ले अवार्ड जित्दा साउन्ड डिजाइनको विधामा ‘उरी’ नै उत्कृष्ट ठहरियो । उत्कृष्ट पटकथातर्फ ‘ची अर्जुन ला सो’ र अधिग्रहण गरिएको पटकथामा ‘अन्धाधुन’ नै अवार्डको हकदार बनयो । संवादतर्फ ‘तारिख’ ले नेसनल अवार्डमा कब्जा जमायो ।


गत वर्ष क्षेत्रीय भाषाका फिल्ममा लगानी गरेर निर्मात्री बनेकी प्रियंका चोपडाले नेपाली भाषामा ‘पाहुना’ बनाएकी थिइन् भने मराठीमा ‘पानी’ । ‘पानी’ ले वातावरणीय संरक्षणमा योगदान पुर्‍याएबापत नेसनल अवार्डले पुरस्कृत गरिएको छ । अक्षयकुमार अभिनीत ‘प्याडम्यान’ लाई भने सामाजिक मुद्दामा निर्मित उत्कृष्ट फिल्मको अवार्ड दिइएको छ ।


– एजेन्सी

प्रकाशित : श्रावण २६, २०७६ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?