रंगमञ्चमा नारी विद्रोह

सुशील पौडेल

काठमाडौँ — पितृसत्ताले बनाएको रंगमञ्चमा महिलाहरू सदियौंदेखि हराइएका छन्, दबाइएका छन् र कोरिएका छन् । र, लेखिएका छन् महाभारतहरू जहाँ पाण्डवले जुवा हार्दा चीरहरणको सजाय भोग्न विवश द्रौपदीको चित्कार ।

रंगमञ्चमा नारी विद्रोह

तैपनि मौन भीम र अर्जुनको मौनताको लाचारीमा प्रश्न उठेन इतिहासमा । रावणको हरणबाट फर्केर आएकी सीताको अग्निपरीक्षा लिइरहँदा रामलाई प्रश्न गर्न आवश्यक नै ठानेनन् रामायणका लेखकले ।


तर यतिबेला प्रश्न उठेको छ । प्रश्न तेर्स्याएका छन्, अशेष मल्लले । सम्पदा मल्लको कथामा अशेषले लेखन, निर्देशन गरेको नाटक ‘‘अर्को कुरुक्षेत्र’ ले प्रश्न मात्रै गरेन, वर्तमानकी एक अभिनेत्री जो हजारौं महिलाको साझा चरित्र पनि हुन्’ ले सहअस्तित्वका लागि विद्रोह पनि गरेकी छन् । अभिनेत्रीको मुख्य बागडोर सम्हालेकी छन्, उषा रजकले । सबा एक घण्टा लामो नाटकमा उषाले पौराणिक पात्र द्रौपदीदेखि वर्तमानमा बलात्कारपछि मृत्यु भोग्ने निर्मला वा एसिड आक्रमणमा परेकी युवती, सशस्त्र द्वन्द्वमा पति गुमाएकी विधवाको भिन्नभिन्न चरित्रलाई एउटै आवाज दिएकी छन्, सर्वनामको मञ्चबाट ।


‘म को हुँ ? कसले रच्यो मलाई ? कसले यो बन्द पर्खालभित्र बन्दी बनायो मलाई ? कुन युग, कालखण्डको अस्तित्व हुँ म ?’ नाटकको सुरुवातमै भर्खर मारिएकी महिलाको आत्माले प्रश्न गर्छ दर्शक अघिल्तिर उभिएर । अभिनेत्रीका प्रश्न सकिँदैनन् । ‘कृष्ण आउने प्रतीक्षामा कतिन्जेल चीरहरण सहेर बसिरहनुपर्ने ? अग्निपरीक्षामा सीता मात्रै कतिन्जेल जलिरहनुपर्ने ? कहिलेसम्म निर्मला मृत्यु सहिरहनुपर्ने ?’


आफूले सृजना गरेको रंगमञ्च आफैंले जन्माएकी पात्रले पटकथा भन्दा बाहिर गएर बारम्बार प्रश्न गर्न थालेपछि दस्तावेजको पुरुष लेखक चिच्याउँछ, ‘ए अभिनेत्री, बन्द गर तिम्रो स्वेच्छाचारिता । मैले देखेको सपनालाई ध्वस्त पार्ने अधिकार तिमीलाई कसले दियो ? यो मैले सृजना गरेको रंगमञ्च हो । मैले जे भन्छु, त्योभन्दा अलिकति पनि बाहिर जाने अधिकार तिमीलाई छैन । किनकि म यो नाटकको लेखक हुँ । सूत्राधार पनि हुँ ।’


तर अभिनेत्री प्रतिप्रश्न गर्छे, ‘तिमी को हौ मेरो कथा लेख्ने ? मेरो कथा म आफैं लेख्छु । किन नाचिरहुँ म तिम्रो इच्छामा ?’ अनि सुरु हुन्छ, लेखक र अभिनेत्रीबीचको नयाँ कुरुक्षेत्रको लडाइँ । चार वर्षपछि रंगमञ्चमा फर्किएका छन्, निर्देशक अशेष मल्ल । पछिल्लो पटक ‘शकुनी पासाहरू’ लिएर आएका मल्ल यतिबेला अनेक महिला पात्रहरूको कोलाजमा निर्मित एक अभिनेत्रीसहित देखिएका छन् । प्रभावशाली संवाद, विम्ब र प्रतीकको ओजिलो प्रयोग, माइम फर्मसँगैको शारीरिक कलाको उचित उपयोग गरी नाटकलाई बलियो बनाइएको छ । ‘कथामा परम्परागत सोच र मानवीय अस्तित्वबीचको द्वन्द्व हो ।


द्वन्द्वले स्वाभाविक अवतरण लिऊन् भन्ने मेरो सोच हो,’ निर्देशक मल्लले भनेका छन्, ‘प्रस्तुतिमा विद्रोहको अराजकता होइन, अस्तित्वका लागि गरिएको स्वाभाविक प्रयत्न होस् भन्ने मेरो चिन्तन हो ।’ तर दबिएकी नारीले खुला आकाशमा चराजस्तै उड्न गरेको संघर्ष, पुरुष पात्रले आफूलाई नियन्त्रण गर्न रचेको दस्तावेज च्यात्न प्रयत्नशील अभिनेत्रीको प्रस्तुति त्यति स्वाभाविक भने लाग्दैन । स्वभावतः उनी अस्वाभाविक बनेकी छन्, पूरा नाटकभर विद्रोही आवाजमा कठोर देखिएकी छन् । मञ्चलाई कुरुक्षेत्रको रणभूमिमा परिणत गरेको छ, नाटकले । नाटकको कथा रेखीय ढाँचामा बगाइएको छैन ।


सदियौंदेखि पीडित बनाइएका प्रतिनिधि महिला पात्रहरूका कहानीको कोलाजलाई नाटकले विसंगति प्रस्तुति दिएको छ । मञ्चमा अभिनेत्री लेखकले भनेबमोजिम द्रौपदी बन्न इन्कार गर्छे । लेखक दुसासनलाई चीरहरणका लागि ठाडो निर्देशन दिइरहन्छ निरन्तर । अभिनेत्रीले बारम्बार इन्कार गरिहेपछि लेखक धम्की दिन्छ, ‘मेरो रंगमञ्च, मेरो कथा र मैले रचेको पात्रमा रहेर अभिनय नगर्ने हो भने म चुड्की भरमा तेरो भूमिका हटाइदिन सक्छु । अस्तित्व नामेट पारिदिन सक्छु ।’


तर रंगमञ्चमा त्यस्ता पुरुष पात्र पनि देखिइसकेका छन्, जो कुरुक्षेत्रको लडाइँका लागि अभिनेत्रीलाई भाला समाउन उक्साइरहेका छन् । अभिनेत्रीको रक्षार्थ पुरुषसँगै लड्ने पुरुष पनि देखिन थाल्छन् । तर लेखकको पटकथा सहयोगी पुरुषप्रति समेत क्रूर बन्छ । ती पुरुषलाई आफैं मार्छ र हत्याको अभियोगमा अभिनेत्रीलाई नै जेल चलान गर्न सफल हुन्छ । वर्तमानमा पनि महिलाको लडाइँ जारी छ, त्यत्ति हो कुरुक्षेत्र बदलिएको छ । द्वन्द्व बदलिएको छ ।


नाटकमा उषासहित मनोज महर्जन, मुकेश हमाल, बिन्दु बीएम, रिया भारती, पासलाक्पा शेर्पा, हीरा हमाल, धीरज थापामगर, शोमा कार्की, कसिना बोखिम लिम्बूको अभिनय रहेको छ । लामो समयपछि अभिनयमा फर्किएकी उषाले अभिनेत्रीको भूमिकामा वजनदार अभिनय गरेकी छन् भने सहायक कलाकार पनि चरित्रमा सहज देखिएका छन् ।


राज शाहको प्रकाश परिकल्पना प्रस्तुतिअनुरुप बगेको छ भने प्रकाश परिचालन अझै माझिएको छैन । नाटक चलिरहँदा एक वृद्धा आमा घर जान हतार भयो भन्दै बाहिरिएकी थिइन् भने अर्की अधबैंसे महिलालाई फोन आएपछि नाटक छोड्न आँतुरी परिरहेको थियो । सायद दर्शकका रूपमा आएका ती ‘अभिनेत्रीहरू’ पनि कतै पुरुष लेखककै दस्तावेजले शासित थिए ।

प्रकाशित : श्रावण २४, २०७६ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?