लैचा छाडेर मेहन्दी

प्रशान्त माली

काठमाडौँ — सहरका दरबार स्क्वायरहरू होस् या भित्री नेवारी बस्ती । यतिबेला आधुनिक मेहन्दी लाइरहेका युवायुवती प्रशस्तै भेटिन्छन् । उनीहरूलाई आफ्नै समुदायमा पनि मेहन्दीजस्तै हातमा चित्र कोर्ने परम्परा ‘लैचा’ थियो भन्नेचाहिँ थाहै छैन ।

काठमाडौं यंगालकी ७८ वर्षीया लक्ष्मीदेवी मालाकारका अनुसार नेवार समुदायमा आफ्नै शैलीको मेहन्दी परम्परा थियो । ‘घण्टाकर्ण चतुदर्शीमा अनिवार्य रूपमा लगाउने चलन थियो,’ उनले सम्झिन्, ‘हजुरआमा आफैंले बनाउनुहुन्थ्यो र हामीलाई लगाइदिनुहुन्थ्यो ।’

नेवार भाषामा ‘लैचा’ भनिने एक प्रकारको वनस्पतिबाट मेहन्दीको रंग तयार पारिन्थ्यो । ‘यसलाई सिलौटामा पिसेर मसिनो बनाइन्थ्यो,’ उनले भनिन्, ‘त्यसमा एक प्रकारको अमिलो घाँस मिसाइन्थ्यो । अनि आफूलाई जस्तो चित्र बनाउन आउँछ त्यस्तै कोरिन्थ्यो ।’ उनका अनुसार प्रायःले त्यतिबेला चन्द्र, सूर्य, चराको चित्र बनाउँथे । मेहन्दी सुकिसकेपछि पहेँलो बनाउनचाहिँ तमाखु पानीले पखाल्ने गरिन्थ्यो ।

उनका अनुसार पहिला लैचा करेसाबारीमै हुन्थ्यो । बारीहरूमा बिस्तारै घर बन्न थालेपछि यसलाई गमलामा रोप्ने थालियो । पछि बजारमा छुट्टै प्रकारको रेडिमेड मेहन्दी आएपछि ‘लैचा’ लगाउने चलन विस्थापित बन्यो । ‘अहिले कसैकसैको घरमा रोपेको छ । तर, लैचा बनाउन र लगाउन छाडिसकेको छ,’ उनले भनिन् ।

थापाथलीकी ४६ वर्षीया नन्द महर्जनको अनुभव पनि उस्तै छ । ‘लैचाको पात बूढीऔंलाले टुक्राटुक्रा बनाएपछि रस हातभरि फैलिन्थ्यो,’ उनले सुनाइन्, ‘अनि सुकेपछि रातो पहेँलो देखिन्थ्यो ।’ बजारमा मेहन्दी आएको खासै धेरै नभएको उनले बताइन् । एक दशकयता मात्रै रेडिमेड मेहन्दी लाउने चलन हृवात्तै बढेको हो । महर्जनका अनुसार केही दशकअघिसम्म पनि नेवार समुदायमा घण्टाकर्ण चतुदर्शीको दिन लैचा लाउने चलन थियो । यस्तो चलन जोगाउन केही समूह भने लागिपरेका छन् ।

भोटाहिटीस्थित नेपाल ऊल हाउसले मेहन्दी लगाउने नेवारी परम्परा जोगाउन प्रत्येक वर्ष साउनभरि निःशुल्क लगाउने अभियान नै थालेका छन् । बजारमा भने त्यसरी मेहन्दी लगाएको कम्तीमा २५ रुपैयाँ लिने गरिन्छ । ‘सौभाग्यवान् बन्न यस्तो संस्कृति सुरु भएको हुन सक्छ,’ भोटाहिटीकी हीराकेशरी तुलाधर भन्छिन्, ‘त्यही भएर उत्सवअनुसार फरकफरक किसिमले हातमा लगाउने चलन बस्यो । अहिले नेपालमा मेहन्दीले ठूलो व्यवसाय बनेको भए पनि मौलिकता संरक्षण हुन नसक्दा दुःख लाग्छ ।’

उनले बजारमा पाइने अनेकथरी मेहन्दीमा विभिन्न केमिकल मिसाइने भएकाले त्यस्तो मिसावटरहित अर्ग्यानिक मेहन्दी परम्परा जोगाउन पहल हुनुपर्ने बताइन् ।

उनका अनुसार नेवार समुदायमा साउने संक्रन्तिमा लुतो फालेपछि पनि लैचा लगाउने चलन थियो । त्यसको स्थान अहिले मेहन्दीले लियो । ‘लैचा सजिलै नपाउने भएर पनि यस्तो भएको हुन सक्छ,’ उनले भनिन्, ‘सजिलै आफूले सोचेजस्तो बुट्टा बनाउन सकिने भएकाले बजारको मेहन्दीतिर सबैको ध्यान गयो ।’

प्रकाशित : श्रावण २२, २०७६ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्

यौनहिंसाविरुद्ध एमाको हेल्पलाइन

कान्तिपुर संवाददाता

काठमाडौँ — विश्वभर यतिबेला कार्यक्षेत्रमा हुने गरेका महिला हिंसाविरुद्ध चर्को आवाज उठ्न थालेको छ । यसप्रति पीडित सचेत हुन थालेका छन् भने पीडकले सामाजिक बहिष्कारदेखि कारबाही भोग्न थालेका छन् ।

अझ केही महिलाले हृयासट्याग मीटू अभियान छेडेपछि त यसले संसारभर नै चर्को रूप लियो । मीटूको बाछिटा बलिउडदेखि नेपालसम्मै परिरहेको छ ।

हलिउड अभिनेत्री एमा वाट्सनले महिलामाथि हुने गरेको यौनहिंसा र दुर्व्यवहारविरुद्ध सचेतना फैलाउने उद्देश्यले निःशुल्क कानुनी परामर्श दिने उद्देश्यले हेल्पलाइन खोलेकी छन् । यी अभियन्ताले उक्त हेल्पलाइन इंग्ल्यान्ड र वेल्समा रहेका महिलालाई लक्षित गर्दै खोलेको बताइन् ।

उक्त हेल्पलाइन वाट्सनबाहेक सर्वसाधारणकै दानमा सञ्चालन हुने बताइएको छ । ‘अन्ततः मान्छेहरूले यस्ता हिंसाले उब्जाउने समस्याको बल्ल महसुस गर्ने भएका छन्,’ अभिनेत्रीले बीबीसीसँगको कुराकानीमा भनेकी छन्, ‘यस हेल्पलाइनले कार्य क्षेत्रमा हुने गरेको महिला यौनहिंसा र दुर्व्यवहारप्रति रोकथाम र उत्तरदायित्व बहनको नयाँ वातावरण बन्ने विश्वास लिएकी छु ।’

हेल्पलाइनको अर्को उद्देश्य महिलाहरूले आफ्नो अधिकारबारे जानकारी पाउनुका साथै कसरी तिनले दुर्व्यवहार गर्नेप्रति कदम चाल्ने र हरेकका लागि कार्य क्षेत्र सुरक्षित बनाउने भन्ने नै मुख्य रहेको बताइएको छ ।

वाट्सनले थपिन्, ‘परामर्श दिने यस हेल्पलाइन सबै महिलाप्रति सहयोगी बन्ने छ र उनीहरूप्रति कार्य क्षेत्रमा यौनहिंसा नहुने वातावरण बनाउनेमा विश्वस्त दिलाउन उद्यत रहने छ ।’ यसका लागि हेल्पलाइनले पीडित महिलाका तर्फबाट कानुनी लडाइँ पनि लड्ने र परामर्श दिने पनि वाट्सनले बताइन् ।

प्रकाशित : श्रावण २२, २०७६ ०८:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्