सपनामा आइरहने युवती एन्जेलिना जोली हुन् - नायक आर्यन सिग्देल

रामजी ज्ञवाली

काठमाडौँ — जब आर्यन सिग्देलको चलचित्र उद्योगमा प्रवेश भयो, त्यही बेलादेखि उनी माथि २ वटा ट्याग लाग्यो-ड्रंकर र लेडी किलर । लभ स्टोरी विधाका चलचित्रमा धेरै पारिश्रमिक लिने महँगा नायकको रुपमा समेत चिनिए आर्यन ।

उनलाई चुजी र घमण्डी हिरोको समेत संज्ञा दिइयो। यद्यपी, आर्यनले आफूमाथि लागेका ट्यागहरुलाई विस्तारै गलत साबित गर्दै गए। लभ स्टोरी विधाका चलचित्रबाट धेरै युवतीको 'दिवाना' बनेका आर्यनको फ्यान फलोइङ अहिले पनि उत्तिकै राम्रो छ। निर्माता तथा निर्देशकको नजरमा उनले गहिरो छाप छोडेका छन्। उनी धेरै चुजी थिए, अहिले सकेसम्म राम्रा चलचित्र नछोड्ने मुडमा छन्। उनै आर्यनसँग यसपटक भिन्न विषयवस्तुमा रहेर रामजी ज्ञवालीले गफ गरे- महिला वार्ता।

तपाईंको जीवनमा महिलाले कत्ति प्रभाव पारेका छन्?
अहिलेसम्म धेरै महिलाको संगत गरियो। सानो छँदा दिदीबहिनी, स्कुल जान थालेपछि केटी साथीहरु, क्याम्पस पढ्न थालेपछि पनि धेरै युवतीसँग हिँड्डुल भयो। कुराकानी भयो। म सानैदेखि टेलिभिजन हेर्ने भएकाले स्क्रिनमा देखिने महिला क्यारेक्टरहरुप्रति पनि ध्यान जान्थ्यो। यहाँसम्म आइपुग्दा अनेकखाले महिलाले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रभाव पारेका छन्। तर, यस्तो युवतीको कारण जीवननै फेरियो भन्ने भएन।

जीवनमा पहिलोपटक भेटेको महिला चिन्नुहुन्छ?
मलाई लाग्छ, मम्मी (शारदा) सिग्देल नै हुनुन्छ।

स्कुल पढ्ने बेलामा एकदमै मिल्ने महिला साथीलाई याद गर्नुभएको छ?
कक्षा ८ मा पढ्ने बेलामा यमुना तामाङ भन्ने एकजना हुनुहुन्थ्यो। उहाँसँग अलिकति नजिक थिएा। अरुलाई चिनेपनि खासै नजिक हुन सकिएन।

तपाईंको जीवनमा सबैभन्दा धेरै सहयोगी महिला को हुनुन्छ?
मेरी श्रीमती (सपना) हो। उनको सहयोग कसरी बयान गर्न सक्छु र? जब उनी मेरो जीवनको म्यानेजर बनेर आइन्, असम्भव धेरै कुरा सम्भव भए। जीवनले नयाँ मोड लियो। त्यो भन्दा धेरै ठूलो कुरा मलाई सधैं खुसी बनाएर राख्न सकेकी छिन्।

सबैभन्दा धेरै माया लाग्ने युवती को होला?
माया त मम्मी, श्रीमतीको पनि नलाग्ने होइन। तर, मलाई मेरो बहिनी यशोदा सिग्देलको असाध्यै धेरै माया लाग्छ।

कस्ता युवती देख्दा झर्को लाग्छ?
पतर-पतर बोलेको बोलै गर्ने युवती देख्न पनि रुचाउन्न। कोही भेटियो भने ज्वरो आउँछ। धेरै पटक त म बिचमै आफ्नो बाटो लागेको पनि छु।

सबैभन्दा धेरै सपनामा आउने युवती को होला?
एन्जेलिना जोली हुन्। म अहिले विवाहित हो। तर, अविवाहित हुने बेलामा समेत एन्जेलिनाले सपनामा आएर तनावै पारिन्। खै, किन सपनामा आइरहनुपरेको, भेट भयो भने पक्कै सोध्नेछु (हाहाहा...)

कल्पनामा आइरहने महिला चाहिँ?
म विवाहित भएकाले कोही युवतीबारेमा कल्पना नै गर्दिनँ।

पहिलोपटक डेट गएको युवतीको सम्झना छ?
नाम त भन्न मिल्दैन। तर, कक्षा ११ मा पढ्ने बेलामा एकजना युवती हुनुहुन्थ्यो।

यो प्रेम किन सफल हुन सकेन?
होइन, त्यो बेलाको खासै धेरै कुरा नगरौं। तर, हामी समझदारीमै छुटेका हौं।

अहिलेसम्म कति युवतीलाई लभ लेटर लेख्नुभयो याद छ?
नढाटेरै भन्ने हो भने आजका मितिसम्म कुनै युवतीलाई लभ लेटर लेखेको छैन। अहिले मेरो श्रीमती सपनासँग पनि लभ म्यारिज हो, तर उनीसँग पनि लभ लेटर नलेखेरै बिहे भयो।

पहिलोपटक लभ लेटर कसले लेख्यो?
मैले पाएको छु, तर मैले त्यो बेलामा पनि भेटेरै जवाफ दिन्थेँ।

विवाहित भएपनि निकै हृयाण्डसम हुनुहुन्छ, कोही युवतीले अहिले पनि बिहेको प्रस्ताव राखेका छन्?
गरेका छन्। सामान्य प्रस्ताव गर्नेहरुलाई खासै रेस्पोन्स गरेको छैन, अति गर्नेलाई राम्रैसँग सम्झाएको छु।

बिहे भएपछि यस्तो युवती पाएँ भने दोस्रो बिहे गर्थे भन्ने कोही छ?
छैन। अर्को कुरा त्यस्तो नकारात्मक कुरा मैले सोचेको पनि छैन।

डेटमा जान मन लागेको युवती?
छैन।

संसारकी सबैभन्दा सुन्दर महिला को लाग्छ?
मेनालिसा।

जतिबेला कुरा भइरहने महिला?
मेरो बहिनी र श्रीमती।

ड्रेस सेन्स भएकी युवती?
आजभोलिका युवतीहरु सबै चिटिक्क परेर हिँड्छन्। सबै सुन्दर लाग्छन्।

अहिलेसम्म धेरै महिला क्यारेक्टरसँग एक्टिङ गर्नुभयो, सबैभन्दा मन पर्ने महिला क्यारेक्टर?
अभिनयका हिसावले र दर्शकले मन पराएको जोडिको हिसावले नम्रता श्रेष्ठ नै होला।

कुनै महिलाले दिएको जिन्दगीभरी बिर्सन नसकिने गिफ्ट?
मेरो श्रीमतीले वैशाख ६ गते जिन्दगीभरी नबिर्सने गिफ्ट (सन्तान) दिएकी छिन्। सायद यो भन्दा धेरै महत्वपूर्ण गिफ्ट के होला र?

प्रकाशित : श्रावण २१, २०७६ १४:०७
प्रतिक्रिया
पठाउनुहोस्

अन्जु पन्त भन्छिन्, ‘बोनस जीवन खुसीले बाँच्छु’

डिप्रेसनबाट हारेपछि आत्महत्या प्रयास
रामजी ज्ञवाली

काठमाडौँ — उनी फेरिएकी छन् । जीवनप्रति असाध्यै माया गर्छिन् । फुर्सदमा छोरीसहित परिवारका अन्य सदस्यलाई लिएर घुम्न निस्कन जान थालेकी छन् । उनी खुसी भए पनि यादहरु भने पखाल्न सकेकी छैनन् । घाउ त निको भयो तर खोटहरु अझै बाँकी छन् । कहिलेकाहीं तिनै घाउका खोटहरु भेट्छिन् र नरमाइलो लाग्छ, उनलाई ।

उज्यालो अनुहारमा एकाएक बादल लाग्यो। एकछिन मौन रहिन्। रुन्चे अनुहारबाट आउने आवाजहरु निकै कारुणीक छन्। सुन्दा पनि पत्याउनै नसकिने। मौन अन्जु एकछिनपछि बोलिन्, ‘हो, जीवनमा एकपटक आत्महत्या प्रयास गरेकै हो, तर असफल भएँ।’

नाम–दामको कुनै कमी थिएन। सडकमा हिड्यो भने फ्यानहरुले घेरा हाल्छन्। स्टेजमा चढ्यो कि सयौं दर्शक आइपुग्छन्। सवारीसाधनमा उनकै गीत घन्किन्छन्।सयौँ गीत मार्फत् श्रोताको मन जितेकी अन्जु पन्त नेपाली संगित उद्योगकी चर्चित गायिक हुन्। अपुग केहि थिएन। हरेक कुरा हुँदा हुँदै पनि केहि नभएजस्तो गरी किन आत्महत्याको बाटो रोजिन् उनले?

केहि ढिलाई गरेर जवाफ आयो, ‘सायद यो मेरो लागि त ठुलै पाठ हो, मेरा फ्यानहरुका लागि पनि ठुलो कुरा हुन सक्छ। पारिवारिक रुपमा धेरै दुःखी भएँ, खुसी खोज्न आत्महत्या प्रयास गरेकी हुँ तर भगवानले मर्न दिएनन्।’ घटना ठ्याक्कै यो दिनको हो भन्ने कुरा बिर्सिइन् उनले। तर, पाँच वर्ष भन्दा धेरै पुरानो घटना हो। तर घटना बिर्सिन उनले धेरै मिहेनत गरेकी छिन्। तर, कहिलेकाहिँ सम्झना आइहाल्छ।

त्यसदिन घरमा कोही थिएन। घाम अस्ताइसकेको थियो। च्यातिएको ब्लाउज र साडि लगाएर अन्जु घरबाट निस्किइन्। सरासर पशुपतीतर्फ लागिन्। मन्दिर भन्दा धेरै माथि गएर हाम फालिन्। तर, बजारिइन् माटो मात्रै रहेको भुईंमा। एउटा खुट्टा र नाक भाँचियो। शरिरका अन्य भागहरुमा पनि चोट लाग्यो।

भीडभाड कम हुने क्षेत्रमा भएकाले उनलाई कसैले देखेन। एकछिन छटपटाइरहिन्। तर, सँगै लगेको मोबाइल अलिकति पर थियो, उनले देखिन्। मोबाइल ठिक थियो, घरमा फोन गरिन्। तुरुन्तै परिवारका केहि सदस्य आएर उनलाई अस्पताल लगे।

निको हुन धेरै समय लाग्यो। लामो समयपछि अन्जु घर फर्कदा खुसी थिइन्। उनका घरका सदस्य पनि खुसी थिए। अन्जु थप्छिन्, ‘जब म घर फर्किएँ, आफ्नो शरिरको कुनै काम नलाग्ने अंक फ्याकेर आए जस्तै भयो।’ पारिवारिक लफडाकै कारण अन्जुले आफू डिप्रेशनमा गएको बताउँछिन्। ‘जब मानिसले चोटमाथि चोट पाउँछ त्यसपछि आत्महत्या भन्दा अर्को उत्तम विकल्प नदेख्ने रहेछ’, उनले थपिन्, ‘जब डिप्रेसन जितिन्छ, त्यसपछि जीवनलाई हेर्ने दृष्टिकोण बदलिँदो रहेछ।’ उनलाई के लाग्छ भने खुसी जीवनको कारण आफू नै हो, जीवनलाई सहि तरिकाले अगाडि बढाउन सकिएन भने आइपर्ने क्षति आफैँले भोग्नुपर्छ।

श्रीमान् मनोजराज शिवाकोटीसँगको दाम्पत्य जीवन सफल हुन सकेन। आवाज सुक्दै भएपछि गीत गाउन सकिनन्। माइग्रेन र पिनासले पेल्दै लग्यो। ‘घरमा बस्दा–बस्दै ब्याक पेन हुन थाल्यो। तल्लो पेट दुख्ने अर्को समस्या पनि थपियो। यस्तै–यस्तै तनावको चोट सहन नसकेपछि मैले आत्महत्या गर्छु भन्ने गलत निर्णय लिएँ’, अन्जुले भनिन्, ‘असफल भएँ, जीवनमा आफूले गरेका प्रयासहरु कहिलेकाहि असफल हुँदा पनि फाइदा हुँदोरहेछ, कहिलेकाहि असफलता पनि मिठो हुँदोरहेछ।’

कुनै बेला जिन्दगी केहि होइन भन्ने अन्जुलाई आजभोली हरेक सेकेण्डको महत्व लाग्छ। साथीभाई, आफ्ना आफन्त, यो दुनियाँ, समाज के नै हो ∕ भन्ने अन्जुलाई आजभोली सबथोक हो जस्तो लाग्छ। कुनै बेला रातभर ब्युँझिएर नानाथरी कुरा मनमा खेलाएर बिहान घाम उदाउने बेला सुत्ने अन्जु अहिले समयमै सुत्छिन्, समयमै उठ्छिन्।

‘दिदी, छोरी, आमा, छोरो लगायत हुनुहुन्छ घरमा, उनिहरुसँग समय बिताउँछु’, अन्जुले भनिन्, ‘तर, छोरीसँग धेरै समय खर्चिन्छु।’ घर बाहिर भएका बेलामा समेत छोरीसँग फोनमा कुरा भैरहन्छ उनको। अनुहारमा चमकता थप्दै उनले भनिन्, ‘वास्तवमा छोरीले हरेक कुरा बुझ्छ, छोरीका लागि म खुल्ला किताब हो।’

६ हजार भन्दा धेरै गीतमा स्वर दिइसकेकी अन्जुलाई आजभोली पहिले जे जे कुराको बोझ लाग्थ्यो, तिनै कुराप्रति मोह लाग्छ। ‘जीवन त सुन्दर गिफ्ट हो नि। ’ चम्किलो अनुहारका साथ अन्जु थप्छिन्,‘आजभोलि म निराश छैन, एकपटक पाएको जिवनलाई सुन्दर तरिकाले बिताउनुपर्छ भन्ने सोच आएको छ।’ अझ अन्जु भन्छिन्, ‘बोनस जीवन खुसीले बाँचिरहेकी छु।’

प्रकाशित : श्रावण १८, २०७६ १९:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्