सबै प्रदेशमा गाईजात्रा

कान्तिपुर संवाददाता

काठमाडौँ — सिंहदरबारको शक्ति विकेन्द्रीकरण भएर प्रदेशहरू बने । झन्डै सात सयको संख्यामा स्थानीय सरकार बने । केन्द्रबाट शक्ति मात्रै हैन, बेथितिको पनि विकेन्द्रीकरण भएर तलतल पुग्यो । टेबुल चढेर सलामी खाएका दृश्यहरू सामाजिक सञ्जालमा भाइरल बन्न थाले ।

सबै प्रदेशमा गाईजात्रा

भ्रष्टाचार, शक्तिको दुरुपयोगका समाचारहरू मिडियामा छाउन थाले । यस्तो अवस्थामा कलाकार मात्रै संघीय राजधानीमा थुप्रिने कुरै भएन । ‘त्यही भएर अब हामी प्रदेश–प्रदेशमा पुग्दै छौं,’ हास्य कलाकार मनोज गजुरेलले सोमबार राजधानीमा भने, ‘गार्ईजात्रे प्रस्तुति लिएर । शक्ति बाँडफाँट सँगै विकृति विसंगतिको फैलावट भएको कारण हामी पनि फैलिन खोजेका हौं ।’


सांस्कृतिक पर्व गाईजात्राको छेक पारी हुँदै आएको हास्यव्यंग्य प्रस्तुति ‘गाईजात्रा’ लाई यसपटक प्रदेशस्तरमा पुर्‍याउन लागिएको हो । नामै दिइएको छ– ‘प्रदेश प्रदेशमा गाईजात्रा’ । कलाकारहरूले प्रदेशहरूमा भइरहेका भद्रगोलपूर्ण बेथितिलाई झँटारो हान्ने तयारी गरिरहेका छन् । मनोज गजुरेलसँगै आयोजक ब्रान्डवर्थ प्रालिका कार्यकारी निर्देशक मोहन गजुरेलको अवधारणामा तयार भएको यो हास्य प्रस्तुति ‘सुशासन र विकास’ का लागि भनिएको छ ।


नियतबस होस् या काम गर्ने ढंग नपुग्दा, नजान्दा र प्रणालीको स्थायीत्वकरणतिर ध्यान नदिँदा, अहिले स्थानीय तहमा फैलिएको विसंगतिविरुद्ध गाईजात्रे प्रस्तुति निकै प्रभावकारी हुने मोहनले बताए । ‘सधैं राजधानी केन्द्रित हुँदै आएको गाईजात्रा पहिलोपटक प्रदेश पुग्दै छ,’ सिग्नेचर हिृवस्कीको प्रमुख सहकार्य रहेको कार्यक्रमबारे मोहनले भने, ‘यसले सकारात्मक सामाजिक जागरण पैदा गर्ने छ भन्ने हाम्रो विश्वास छ ।’


यही साउन ३१ गते विराटनगरबाट सुरु हुने गाईजात्रा यात्रा सिमरा, हेटौंडा, बुटवल, सुर्खेत, धनगढी, पोखरा हुँदै १० दिनपछि काठमाडौं आइपुग्ने उनले बताए । टोलीमा मनोज गजुरेलसँगै शैलेन्द्र सिम्खडा, सुरेन्द्र केसी (मुला साग), रवि डंगोल, यमन श्रेष्ठ, पूर्ण थापा, शिवशंकर रिजाल (जोगिन्दर पानवाला), सुबोध गौतम, सन्ध्या बूढा (काउली बूढी), सुमन कार्की, रुविना अधिकारी लगायत छन् । टोलीले समसामयिक सन्दर्भ, पात्र र प्रवृत्तिहरूमाथि प्रहसन, स्ट्यान्डअप कमेडी, हास्य–व्यंग्य कविता, गीतसँगै नृत्य प्रस्तुतिसमेत पस्किने छ । सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा कलाकारहरूले आआफ्ना प्रस्तुतिको केही झलक प्रस्तुत गरे ।


शिवशंकर रिजाल (जोगिन्दर पानवाला) र सुरेन्द्र केसी (मुला साग) ले झापा र चितवनबाट ल्याइएको साँप भन्दै प्रधानमन्त्री केपी ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालप्रति व्यंग्य गरे । यमन श्रेष्ठले गीतको टुक्रा सुनाए । सन्ध्या बूढा (काउली बूढी) ले देशभर काउली फलाउने भन्दै हँसाइन् ।


कहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको त कहिले प्रचण्डको अवतारमा देखिने मनोज गजुरेलले ट्रम्पकै लवज सापटी लिएर ‘बालुवाटार जग्गा काण्ड’ माथि कटाक्ष गरे । उनी यसपटक कसको चरित्रमा उत्रिँदै छन् त ? पत्रकार सम्मेलनमा प्रश्न सोधिएको थियो ।


जवाफमा गजुरेलले सञ्चारमाध्यममा सधैं देखिने, ठाडो बोल्ने र चस्मा माथिबाट छडे नजरले हेर्ने विशेषता बोकेका सरकारको प्रवक्ता एवं सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको अवतार ग्रहण गर्ने सम्भावित योजना रहेको खुलाए । उनले बाँस्कोटाकै शैलीमा टर्रो आवाज निकालेर छोटो प्रस्तुति पनि देखाए ।


‘गार्ईजात्रा सिंगे देशको पर्व हो त्यसैले यसलाई देशैभरि लैजाने प्रयास गरिएको हो । विकृति र विसंगति जताजता हुन्छ, हास्यव्यंग्य त्यतात्यता जान्छ,’ कार्यक्रमको उद्देश्यसमेत खुलाउँदै उनले व्यंग्य कँसे, ‘हाँस्न पाउनु सबै नेपालीको अधिकार हो । अतः हामी गार्ईजात्रा देशभरि गर्दै छौं ।’

प्रकाशित : श्रावण २१, २०७६ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?