तीज गीतमा मौलिकताको खोजी

पहिलेका गीतमा मौलिकता थियो । अहिलेका गीत नाच्ने खालका मात्रै छन् । यस्ता गीत एक महिना चले पनि त्यसपछि दर्शक/श्रोताको मनबाट मेटिएर जान्छन्
सुशीला तामा‌ङ

काठमाडौँ — अघिल्लो वर्ष ‘आऊ दिदी बहिनी हो...’ भन्दै तीजको महिमा गाएकी कोमल वलीले यसपटक नयाँ गीत ‘छड्के तिलहरी...’ ल्याएकी छन् । अघिल्लोमा जस्तै नयाँ गीतको म्युजिक भिडियोमा उनले हिन्दु नारीको मौलिक पहिरन र गरगहनालाई प्राथमिकतामा राखेको पाइयो । तीज सांस्कृतिक पर्व भएको हुनाले जस्तोसुकै लय र शैलीमा गीत गाएपनि मौलिकता भने छोड्न नहुने उनको तर्क छ ।

‘अभिव्यक्तिको शैली र शब्द आआफ्नै हुन सक्छन्’, उनी भन्छिन्, ‘तीज भनेर जोडिएपछि गीतमा सांस्कृतिक पक्ष चाहिँ आउनैपर्छ ।’
लामो समयपछि तीज गीतमा झुल्किएकी सिन्धु मल्लले पनि ‘चिटिक्कै भा छु रे...’ गीत ल्याएकी छन् । उनले पनि भिडियोमा मौलिकता र सांस्कृतिक पक्षलाई बढी महत्त्व दिएकी छन् ।

गत वर्ष ‘तीज भनेकै नाच्न गाउन हो...’ भन्दै हरितालिकाको बयान गरेकी गायिका सुनिता दुलालले यसपटक ‘चुरा, टीका र लाली...’लाई यो पर्वसित जोडेर गीत गाएकी छन् । उनले पनि प्रायः तीजका गीतमा संस्कृति र मौलिकतालाई नै जोड दिँदै आएकी छन् । पछिल्लो समय भने तीज गीत ‘गाईजात्रे झटारो’ जस्तो बन्दै गएको प्रति उनले चिन्ता जनाइन् । ‘व्यावसायिकताको नाममा तडकभडक बढी नै हुँदै गएको देखिन्छ,’ उनी भन्छिन्, ‘यसले हाम्रो पर्वको मौलिकता जोगाउने काम गर्दैन ।’

गायिका लक्ष्मी न्यौपानको पनि यस्तै अनुभव छ । ५० को दशकको सुरुवातीतिर उनले गाएको ‘वर्षमा एकदिन...’ गीतमा तीज संस्कृति र मौलिकतासँगै स्वच्छ मनोरञ्जन थियो । यो गीत लोक गायक तथा संगीतकार नारायण रायमाझीको एल्वम ‘तीजको रमझम आयो बरी लै’मा समेटिएको थियो । त्यस यता उनले तीजका अनगिन्ती गीत ल्याइन् ।

लोकसंगीतमै दुई दशकभन्दा बढी समयदेखि लागिपरेका न्यौपानेले प्रायः गीतमा समय र परिस्थितिअनुसार मौलिक धारलाई नै केन्द्रमा राखिन् । यो वर्ष पनि उनले उनकै शब्द, संगीत तथा स्वरमा ‘नाच्दिन्छु भुरुङ झैं...’ तीज गीत बजारमा ल्याइसकेकी छन् । यही पंक्तिमा छिन् गायिका शर्मिला गुरुङ । उनले पनि तीजका मौलिकतालाई नै पछ्याएर गीतहरू पस्कँदै आएकी छन् । उनले आफ्नै शब्द, संगीत तथा स्वरमा उनले तीज कोसेली ‘भाग्य...’ हालै बजारमा ल्याएकी छन् ।

यी गायिकाहरू मात्रै हैनन्, युट्युब सर्च मात्रै गर्ने हो भने दर्जनौं नयाँ गीत भेटिन्छन् । तीज आउन दुई तीन महिना बाँकी हुँदै तिजे गीतको लहर चल्छ । संस्कृतिप्रति नयाँ पुस्ताको यस्तो मोह सकारात्मक भए पनि यसको प्रस्तुति शैलीप्रति भने अग्रज गायक/गायिकाहरूको चिन्ता छ ।

संख्यात्मक रूपमा बजारमा धेरै तिजे गीतहरू आए पनि प्रायः सबैले तीजको मौलिक संस्कृतिभन्दा पनि मनोरञ्जन र क्षणिक चर्चालाई आधार बनाउन थालेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीको मत छ । उनका अनुसार कलाले भन्दा रहरले तीज गीत ल्याएका धेरै लोक गायकगायिका छन् । ‘रहरका गायकगायिकाले गर्दा नै अघिल्लो वर्षको तुलनामा यो वर्ष २५ प्रतिशतले तीजका गीत घटेका छन्’, उनले भने, ‘पैसाको भरमा तीजका गीत ल्याएर केही समय अगाडि आए’, उनी भन्छन्, ‘नयाँ कलाकारको पैसा सिद्धिएसँगै कला पनि हरायो ।’ उनका अनुसार अहिले दर्शकको मनमा लामो समय बस्न निकै कठिन छ ।

सामाजिक सञ्जालमा छोटो समयमा चर्चित भएपनि वास्तविक कलाकार को हुन् भन्ने दर्शकले छुट्याउनेबित्तिकै उनीहरूको चर्चा सकिन्छ । अहिले मौलिकताभन्दा बाहिर रहेर व्यापारमुखी हिसाबमा आएका उच्छृङ्खल र विवादास्पद तीजका गीतहरूले एक महिनाको भन्दा बढी चर्चा नकमाउने उनको दाबी छ ।

गायिका न्यौपाने पनि विगत दुई/तीन वर्ष लोकगीतमा धेरै विकृति देखा परे पनि अहिले केही हदसम्म कम हुँदै गएको बताउँछिन् । सुरुमा चर्चा कमाउनकै लागि जे पनि गाउने र पछि दर्शकले रेस्पोन्स नगर्दा लगानी र गाउनेहरूको संख्यामा पनि कमी आउने गरेको उनले बताइन् । मौलिकतामा ध्यान नदिएको कारण यस्तो भएको उनको मत छ ।

‘अहिले गीत बनाउन लगानी धेरै छ’, उनी भन्छिन्, ‘लगानी उठाउँछु भन्ने मात्र उद्देश्यले समय अनुसार परिमार्जन हुँदै गए पनि संस्कृति नै परिर्वतन हुने गरी चाहीँगीतहरू आउनुहुन्न ।’

उनका अनुसार पहिले गीतहरूमा धेरै मौलिकता थियो । वर्ष दिनपछि माइती आएकी चेलीको पीडा, छुटेका संगीहरूसँगको रमाइलोपन, माइतीको माया तीजका गीतका रूपमा हुन्थे । साक्षीका रूपमा लोकगायिका सीता थापा भन्छिन्, ‘अहिलेका गीतमा तीजका मौलिक कुराभन्दा पनि नाच्ने खालका छन् ।’

तीजका गीतलाई रमाइलो गर्ने माध्यमका रूपमा लिँइदा नयाँ कलाकारलाई छोटो समयमा चर्चा बटुल्ने माध्यम भएको उनले बताइन् । उनको कुरामा सहमत हुँदै गायिका गुरुङले तीजका नाममा युट्युबमा ट्रेन्डिङ र भ्युज संस्कृतिलाई आधार बनाएर आएका गीतहरू एक महिना चल्ने तीजको उत्सवसँगै दर्शक/श्रोताको मनबाट पनि हटेर जानेदाबी गरिन् ।

पंगेनीका अनुसार अहिलेको बजारमा मौलिक धारमा बनेका गीतभन्दा तडकभडक शब्द र शीर्षकका आधारमा चलेका गीत नै अगाडि छन् । जसले मौलिकता जोड दिने कलाकारलाई तीज गीत बनाउन नै हतोत्साहित बनाइरहेको छ । अर्कोतिर पहिले महिलाले मात्र गाउने तीज गीत पुरुषले पनि गाउन थालेका छन् । तीजभन्दा पनि अहिलेका गीत रत्यौली गीत जस्तै लाग्ने अग्रजहरू बताउँछन् । न्यौपाने भन्छिन्, ‘तीज भनेको संस्कृति हो । रत्यौली हैन ।’ चर्चा कमाउनभन्दा पनि संस्कृतिलाई जोगाउन तीजका गीतहरू निर्माण हुनुपर्ने गुरुङ र न्यौपानेको तर्क छ । ‘अहिले त संस्कृतिभन्दा चर्चाका लागि गीत आउन थाले’, उनी भन्छिन् ।

केही अघि तीजकै अवसरमा दिग्गज धौरालीको शब्द र अर्जुन पोखरेलको संगीतमा ‘नाच्छु घुमेर...’ बोलको गीत बजारमा ल्याएकी गायिका मञ्जु पौडेलले विकृति कम देखिए पनि बजारमा आएका नयाँ तीजका गीतहरूले तीजको झल्को नदिने बताइन् । ‘भ्युज बढाउन जे पायो त्यही विषयवस्तु र बिकाउ शब्दचयन छन्’, उनको पनि मत छ, ‘यहाँ पूर्ण व्यासायिकताको प्रभाव छ ।’ अर्कोतिर तीज गीतलाई संस्कृतिभन्दा बजार केन्द्रित बनाएरै मौलिकता हराउँदै गएको गीतकार दिग्गज धौराली बताउँछन् ।

पछिल्लो समय फिल्मी गीतहरू रचनामा व्यस्त देखिएका धौराली तीजका गीत पनि रचना गर्दै आएका छन् । प्रत्येक वर्ष एक/दुईवटा गीत बनाउने धौरालीले यो वर्ष ‘यसैपालि नाच्ने हो...’, ‘बोल्नुपर्छ ओई...’ लगायतका चार वटा गीत रचना गरेका छन् तर मौलिक तीज संस्कारलाई ध्यानमा राखेर गीत बने पनि सामाजिक सञ्जालमा भ्युज कम हुनेबित्तिकै गीतहरू त्यतिकै पछाडि पर्ने दुःख उनी व्यक्त गर्छन् । ‘जसले सामाजिक सञ्जालकै लागि खर्च गर्न सक्छन्, तिनीहरू नै अघि हुन्छन्’, उनी भन्छन् ।

दर्शकको रोजाइ पनि एकदमै परिवर्तनशील र चुजी बन्दै गएकाले यस्तो अवस्थामा गीतका सर्जक मात्र नभएर दर्शक तथा श्रोतासमेत सचेत बन्नुपर्ने सुझाव अध्यक्ष पंगेनी दिन्छन् । हालै मात्र बजारमा आएको उच्छृङ्खल शब्द भएकै कारण एउटा तीज गीतलाई शब्द चयनमा सजक बनाएको स्मरण गर्दै पंगेनी यसलाई नियन्त्रण र नियमन गर्न सबैजना लाग्नुपर्ने धारणा राख्छन् ।

प्रकाशित : श्रावण २०, २०७६ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्

किन टुक्रियो बिटल्स ?

कान्तिपुर संवाददाता

काठमाडौँ — सर्वकालीन सर्वाधिक प्रभावशाली रक ब्यान्डका रूपमा चिनिने द बिटल्सले एक दशक सांगीतिक माध्यमबाट विश्वमै हलचल मच्चाएर एकाएक विलय भयो । ख्यातिको चुचुरामै छँदा ब्यान्डका सदस्यले ब्यान्डलाई बन्द गरिदिए र एक्लाएक्लै सांगीतिक कर्ममा लागे ।

ब्यान्ड बन्द भएको झन्डै ५० वर्षपछि पनि एउटा प्रश्नले अझै चित्तबुझ्दो उत्तर पाउन सकेको छैन, ‘आखिर बिटल्स किन टुक्रियो ?’ यसको खास कारण सर्वाधिक चासोको विषय हो । बिटल्सका गीत आजको पुस्तामाझ पनि उत्तिकै प्रिय छन् ।

आखिर के कारणले बिटल्स ब्यान्ड छिन्नभिन्न भयो त ? यसमा धेरै कारणको अनुमान गरिएको छ । सन् १९६० मा चार सदस्य जोन लेनन, पल म्याककार्टनी, जर्जह्यारिसन र रिङ्गो स्टार मिलेर लिभरपुलमा रक ब्यान्डका रुपमा द बिटल्स स्थापना गरेका थिए । पछि बिटल्सका गीत, एल्बमले अमेरिकामा समेत सर्वाधिक बिक्री हुने रेकर्ड राख्यो ।

सात ग्रामी र ‘लेट इट बी’ फिल्मको शीर्ष गीतबाट ओस्कार अवार्डसमेत जित्यो । टाइम म्यागाजिनले त बीसौं शताब्दीका सर्वाधिक प्रभावशाली सय व्यक्तित्वमा बिटल्सलाई पनि सामेल गर्‍यो । त्यसताका बिटल्सलाई जेससभन्दा पनि लोकप्रिय भनिन्थ्यो तर त्यही ब्यान्डले छ वर्षपछि भने सांगीतिक भ्रमण रोक्यो ।

द बिटल्सको ब्रेकअपको पहिलो संकेत सन् १९६९ मा देखिएको थियो जब ब्यान्डका प्रमुख सदस्य लेननले आफ्ना अन्य सदस्यसँग बिटल्स छोड्न लागिरहेको बताए तर उक्त कुरा भने फ्यानहरूले एक वर्षपछि मात्रै थाहा पाए, जतिबेला ब्यान्डका अर्का सदस्य म्याककार्टनीले पनि ब्यान्ड छोडे । त्यसपछि त ब्यान्डका चारै सदस्यले आआफ्नै तरिकाले गीत निकाल्न थाले । ब्यान्ड टुक्रिनुको कारणबारे म्याककार्टनीले त्यतिबेला भनेका थिए, ‘हामीबीचको व्यक्तिगत भिन्नता, व्यावसायिक भिन्नता, सांगीतिक भिन्नता ।’

बिटल्सलाई चर्चाको शिखरमा पुर्‍याउनुमा ब्यान्ड सदस्यबाहेक अर्को कसैको हात थियो भने, ती ब्यान्ड म्यानेजर ब्रेन इप्सटेन थिए । लागू पदार्थको ओभरडोजका कारण जब ब्रेनको सन् १९६७ मा निधन भयो, त्यसैबेलादेखि बिटल्सको खराब दिनको सुरुवात भएको पनि मानिन्छ । बिटल्स ब्रेनकै व्यवस्थापनमा भर परेको थियो । ब्यान्ड सदस्यबीचका यावत झगडा ब्रेनले भित्रभित्रै सल्टाइदिन्थे ।

उनको निधनपछि झगडा झन् झन् बल्झिँदै गयो र ब्यान्ड फुट्यो पनि भनिन्छ । त्यसपछि नै बिटल्स सदस्यले आफैं मनमौजी रूपमा काम गर्न थाले । पछि एक भएर ब्यान्डलाई पुनर्जीवन दिन पनि खोजेका थिए तर सम्भव भएन । एक अन्तर्वार्तामा म्याककार्टनीले ब्यान्ड फुट्नुको कारणबारे थप प्रस्ट्याउँदै भनेका छन्, ‘मुख्य कुरा, पैसाको कारणले सबैलाई अलग बनायो ।’ नयाँ म्यानेजरसँग गतिलो सम्बन्ध हुन नसक्नु र पछिल्लो एल्बम ‘लेट इट बी’ लाई सही व्यवस्थापन गर्न नसक्नु पनि कारक तत्त्व रहेको उनी जिकिर गर्छन् ।

त्यसो ब्यान्ड फुट्नुको कारक तत्त्वमा एक युवतीलाई पनि मानिन्छ । योको ओनो नाम गरेकी ती युवतीसँग लेननको हिमचिम बढ्दै जानु र ब्यान्डप्रति जिम्मेवारीबोध घट्दै जानु नै बिटल्सका अन्य सदस्यका लागि टाउको दुखाइ बनिरहेको थियो । योको स्टुडियोमा समेत बारम्बार आउन थालेपछि अरू सदस्य दिक्क भएको बताइन्छ । पछि त लेननले ती युवतीलाई लिएरै छुट्टै गीत बनाउन थाले ।

साठीको दशकभर विश्वभर, खासगरी अमेरिकामा आफ्नो साम्राज्य जमाएको बेलायती रक ब्यान्ड हठात् टुक्रिनुलाई कतिपयले बाहिरी तत्त्वको समेत हात रहेको आशंका गर्छन् । यतिबेला ब्यान्डका दुई सदस्य कार्टनी र स्टार मात्रै जीवित छन् । लेननको सन् १९८० मा गोली हानी हत्या गरिएको थियो भने ह्यारिसनको फोक्सोको क्यान्सरका कारण २००१ मा निधन भएको थियो ।

प्रकाशित : श्रावण २०, २०७६ ०८:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्